बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अन-लकडाउन १.० : जनताको काँधमा थप जिम्मेवारी

भौतिक दूरी र मास्क अनिवार्य गर्ने नीतिमा जनस्वास्थ्यविद्को जोड
शुक्रबार, ३० जेठ २०७७, १० : ०८
शुक्रबार, ३० जेठ २०७७

काठमाडौँ । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनमा केही खुकुलो नीति अख्तियार गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर व्यापार, व्यवसाय सञ्चालन गर्न र जोर–बिजोर प्रणालीअनुसार निजी सवारी साधन सञ्चालन गर्न दिने नीति लिएको छ ।

बिहीबारबाट काठमाडौँ उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोर–बिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । लकडाउनको ८० दिनपछि पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो भएको छ ।

नेपालमा दुई जना कोरोना सङ्क्रमित भएपछि घरभित्र थुनेको सरकारले सङ्क्रमितको सङ्ख्या ४ हजार नाघेपछि खुला गरेको छ । महामारी नियन्त्रण र आर्थिक तथा समाजिक समस्या समाधान गर्न असफल भएपछि सरकारले लकडाउन खुकुलो बनाएकाले अवस्था भयावह हुनसक्ने जनस्वास्थ्यविदमा चिन्ता छ ।

कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको बेला लकडाउन खोल्नुपर्ने अवस्थामा आउनुमा सरकारी अकर्मण्यता प्रमुख कारण भएको विज्ञहरुको तर्क छ । यता अब गृह मन्त्रालयले तयार गरेको सुरक्षा र स्वास्थ्य मन्त्रालयले तयार गरेको स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने छ ।

जनस्वास्थ्यविज्ञ डा. समिरमणि दीक्षितका अनुसार यतिबेला लकडाउन खुकुलो गर्नैपर्ने थियो । लकडाउनका कारण हजारौँ नागरिकको ज्यान अन्य रोग र आर्थिक समस्याको कारण जोखिममा भरहेको उनको भनाइ छ ।

लकडाउन खुकुलो भएपछि डा. दीक्षितले सबैले ५ वटा कुरामा ध्यान दिन सुझाएका छन् । उनले भने, ‘अब सबैले बाहिर जाँदा जहिले पनि मास्क लगाऔँ, एकआपसमा ४ हातको दूरी कायम गरौँ, भीडभाड नगरौँ, जोखिम समूहलाई विशेष ध्यान दिऔँ र हात सफा राखौँ ।’

क्वारेन्टिन व्यवस्थित बनाउन र परीक्षणको दायरा बढाउन उनले सरकारलाई पनि सम्झाए । त्यसका लागि गैरसरकारी निकायसँग सहकार्य गर्न उनको आग्रह छ । समस्याको समाधान सजिलो हुँदाहुँदै सरकार सङ्क्रमण फैलाउने सोचमा देखिएको डा. दीक्षितको आरोप छ ।

यस्तै सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले अब भौतिक दूरी कायममा जोड दिनुपर्ने बताए । ‘जहाँ गए पनि सबैले मास्क लाउने र भौतिक दूरी कायम गर्नुपर्छ । यसका लागि गफ गरेर मात्र हुँदैन, काम पनि गर्नुपर्छ । जस्तै एउटा कोठामा १० जना मान्छे बस्छन्, चार जना मात्र बस्नुपर्ने हुन्छ । कसरी बस्ने र कसरी कुर्सी मिलाउने कुरा भयो । पसलमा भौतिक दूरीका लागि सङ्केत राखिदिने काम गर्नुपर्छ,’ उनले भने, ‘यस्तै मान्छेले काम सकेपछि उनीहरु बसेको ठाउँ, ढोकाको ह्यान्डल, धाराको नभ, भर्याङको रेलिङ र मिटिङपछि टेबुलको सतह दुई–दुई घण्टामा पुछ्नुपर्छ ।’

सङ्क्रमणको भयावह अवस्था रोक्न भीडभाड कम गराउन योजना बनाएर अगाडि बढ्नुपर्ने डा. सुवेदीले बताए ।

उनले भने, ‘भीडभाड हुन नदिने र कुनै कार्यस्थलमा निश्चित कर्मचारीलाई बिहान आठ बजे बोलाउने । अरूलाई दिउँसो १२ बजे बोलाउने गरेर कुनै पनि तरिकाले भीडभाड कम गराउने कुराको योजना बनाउनुपर्ने हुन्छ । होइन भने भयावह स्थिति सिर्जना हुन सक्न्छ ।’

भयावह स्थिति सिर्जना हुन सक्छ भन्ने थाहा हुँदाहुँदै लकडाउन खुकुलो बनाएको उनको बुझाइ छ ।

‘सरकारले नियन्त्रण गर्यौँ, अब बढ्दैन भनेर खोलेको होइन । अधिकांश देशले कोरोना नियन्त्रणपछि मात्र लकडाउन खोलेका छन् । हाम्रो देशको राजनीतिक र आर्थिक बाध्यता वा सरकारको लाचरी र अफलताको कारणले यसरी खोल्नुपरेको हो ।’

यत्रो दिनसम्म लकडाउन गरेर कोरोना नियन्त्रण असफल भएपछि सरकारले हात उठाएको उनको बुझाइ छ । ‘न्यून आय भएका मानिसलाई कुनै राहतको प्याकेज पनि आएन । अरू देशमा सामाजिक सुरक्षाका कार्यक्रम हुुन्छन् । हाम्रोमा त्यो पहिलेदेखि नै थिएन । बजेटमा पनि आएन,’ डा. सुवेदीले भने, ‘मान्छेले विद्रोह गर्ने भए । सरकारले धान्न पनि नसक्ने अवस्था भयो । यत्रो लकडाउनको समयमा सरकारले सङ्क्रमण नियन्त्रण गर्न सकेन । सरकारको अवस्थाले झन झन फैलिँदै गयो । यी कुराले सरकार रक्षात्मक अवस्थामा पुगेपछि लकडाउन नखेलेर धर भएन ।’

उनका अनुसार सरकारको यही तरिकाले लकडाउन खुकुलो नबनाए पनि भयावह अवस्था एक दुई हप्ता ढिलो चाँडो मात्र हो ।

उनले भने, ‘लकडाउन मात्र गर्ने, अरू केही नगर्ने हो भने अहिले हुने भयावह अवस्था दुई हप्तापछि मात्र हुने हो । हामीले प्रभावकारी काम गरेनौँ भने लकडाउन खोल्ने नखोल्ने कुराले खासै फरक पार्ने भएन ।’

ल्याबको क्षमताअनुसार पछिल्ला दिनमा दैनिक दुई तीन सय कोरोना सङ्क्रमित मात्र देखिएको उनले बताए ।

‘हाम्रो ल्याबको क्षमता अनुसार दैनिक दुई तीन सयमा मात्र कोरोना भएको पुष्टि हुन्छ । टेस्ट नगरेर स्याम्पल थुप्रिएको छ । रिपोर्ट आउन १० दिन लाग्छ । यसले सङ्क्रमतिको सङ्ख्या समुदायमा जाने डर छ,’ डा. सुवेदीले भने ।

उनका अनुसार अझै पनि परीक्षणको दायरा बढाएर कन्ट्याक ट्रेसिङमा जोड दियो भने हताहती नहुन सक्छ । डा. सुवेदीले भने, ‘होइन हामी भयावह अवस्थामा पुग्न सक्छौँ ।’

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. सुशील प्याकुरेलले बाध्यात्मक परिस्थिति सिर्जना भएपछि लकडाउन खुकुलो बनाएको भन्दै अब मास्क अनिवार्य नीति लिनुपर्ने बताए ।

‘कोरोनाबाट जोगाउन खोज्दा खोज्दै अरू बिरामीलाई मार्नु भएन । स्वास्थ्य सेवाको पनि व्यवस्था गर्नुपर्यो । लकडाउनमा स्वास्थ्य सेवा नपाए कतिले ज्यान गुमाए । त्यसको आर्थिक र सामाजिक प्रभावले कतिले आत्माहत्या गरे,’ उनले भने, ‘यस्तो अवस्थामा लकडाउन खुकुलो पार्नुको विकल्प थिएन । अब मास्क अनिवार्य गर्नुपर्छ । गरिबसँग किन्न सक्ने अवस्था छैन भने राज्यले किनिदिनुपर्छ ।’

अनिवार्य मास्क नीति बिना खोलिने लकडाउने खतरा अवस्था आउने भन्दै डा. प्याकुरेलले ६५ प्रतिशत ट्रान्सिमिसन मास्क प्रयोग गर्दा रोकिने बताए ।

‘यत्तिकै लकडाउन खोल्दा खतरा छ । मास्क अनिवार्य गर्यो भने केही हदसम्म सङ्क्रमण रोकिन्छ । ६५ प्रतिशत ट्रान्सिमिसन मास्क प्रयोग गर्दा रोकिन्छ । हिजो पीसीआर टेस्ट नगर्दा यो अवस्था आयो । मास्क प्रयोगको अनिवार्य नीति नलिने हो भने झन भयावह स्थिति आउँछ,’ उनले भने ।

भौतिक दूरी कायम हुनेगरी सार्वजनिक यातायता पनि खुलाउनुपर्ने उनको भनाइ छ । ‘सबै नागरिकसँग गाडी हुने कुरा भएन । सबै ट्याक्सीमा आउने सक्ने अवस्था पनि छ्रैन । सार्वजनिक यातायतलाई पनि भौतिक दूरी पालना गरी ४० जना अठाउने गाडीमा २० जना मात्र राख्न भन्ने । बरु भाडा डबल दिँदा पनि जनतालाई सहज हुन्छ । अब जनजीवन सहज बनाउँदै जानुपर्छ ।’

अहिलेसम्म जनताले सरकारलाई भरपुर साथ दिएको डा. प्याकुरेलको दाबी छ । उनले भने, ‘जनताले सामाजिक दूरी कायम गरेकै छन् । बिहेबारीको सिजनमा पनि लकडाउन छ भनेर १० जनाभन्दा बढी जन्ती गएका छैनन् । मान्छेले टीकाटाला गरेका छैनन् । पूजा गरेका छैनन् । जनताले योभन्दा ठूलो साथ के दिओस् ?’

उनका अनुसार नेपालमा कोरोना नियन्त्रणका गतिविधि एक दुई जनाको हल्लाको भरमा भइरहेको छ । डा. प्याकुरेलले भने, ‘अर्काको कुरा सुनेर मात्र पनि काम गर्ने होइन नि ? कागले कान लग्यो भनेर कागको पछि दौडिँदै नीतिहरु ल्याइरहेका छन् । आफ्नो कान छामेर नीति ल्याउनुपर्ने छ । स्वास्थ्य मन्त्रालय र सीसीएमसीले कान छाम्ने प्रयास गरेको छैन ।’

उनका अनुसार लकडाउन खुलेपछिको अवस्थाबारे स्वास्थ्य मन्त्रालय र सीसीएमसीसँग वैज्ञानिक आधार पनि छैन ।

यस्तै उनले नेपालमा फैलिएको कोरोना भाइरसको पावर रिसर्च गर्नुपर्नेमा जोड दिए । ‘नेपालमा फैलिएको कोरोना भाइरसको पावर अमेरिका, युरोप र भारतको भन्दा बलियो छ कि कमजोर छ भनेर कुन चाहिँ रिसर्च भएको छ ? रिसर्च गर्नु पर्दैन ? विश्व स्वास्थ्य सङ्गठनले जे जे भनेको छ त्यही गरेको छ,’ उनले भने ।

सरकारले न्युट्रल विज्ञको राय लिएर अगाडि बढ्नुपर्ने बताए । ‘हाम्रोमा त विज्ञ कुरामा पनि राजनीतिक छ । न्युट्रल विज्ञको राय लिनुपर्यो । ‘मूर्ख साथीभन्दा बुद्धिमान शत्रुको कुरो सुन’ त्यसै भनिएको होइन होला ?,’ डा. प्याकुरेलले भने, ‘वरिपरि बस्ने अफ्नो सिद्धान्त मिल्नेले त नराम्रो गर्दै गर्दैन । यो ठीक छ हजुर भन्ने मात्र हो । सत्य त त्यो होइन ।’

सरकारमा रहेकाहरुमा विज्ञको कुरा सुन्नेभन्दा अङ्हकार बढी देखिएको उनले बताए । ‘डाक्टर समिरमणि दीक्षितभन्दा डा. खेम कार्की (स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार) ठूलो होइन होला ? सबै कुरा आफूले मात्र जानुको छु भन्ने अहङ्कार राज्यमा देखियो । रोगसँग लड्न अहङ्कार होइन बुद्धि र ज्ञान चाहिन्छ,’ डा. प्याकुरेलले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप