सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आपराधिक घटनामा कमी आयो– प्रहरी

बिहीबार, २९ जेठ २०७७, १७ : ४०
बिहीबार, २९ जेठ २०७७

–नारायण ढुङ्गाना 
काठमाडौँ । मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ ।  नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ । तथ्याङ्कमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको देखिएको छ ।

प्रहरीले केही कर्तव्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने अपराध र जबर्जस्ती करणीका घटना घटेका जनाएको छ । रुकुमको सोती र रुपन्देहीको गाई फार्ममा गम्भीर प्रकृतिको घटना भएका छन् । यी लगायतका घटनाहरुमाथि गम्भीर रुपमा छानविन गरी दोषीलाई कानूनी कारवाही गर्ने सरकारले यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । 

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले तुलनात्मक रुपमा हेर्दा आपराधिक घटनामा विगतको भन्दा निक्कै कम देखिएको र आत्महत्याका घटनामा समेत कमी आएको बताए । उनका अनुसार विवरण विश्लेषण गर्दा करीब १४ प्रतिशतले आत्महत्यामा कमी आएको देखिएको छ ।

गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार चालू आवको पछिल्लो तीन महिना (चैत, वैशाख, जेठ) मा २२१ वटा चोरीका घटना भएका छन् । यो सङ्ख्या गत आवको सोही अवधिमा ७११ थियो ।  सङ्गठित तथा आर्थिक अपराधतर्फ गत आवको पछिल्लो तीन महिनामा एक हजार ३१९ घटना भएका थिए । चालू आवको सोही अवधिमा ५०३ पुग्यो । यस्तै महिला, बालबालिकासम्बन्धीको अपराधमा गत आवको पछिल्लो तीन महिनामा  एक हजार २१८ वटा घटना भएकामा चालू आवको सोही अवधिमा ६०० घटना भए । 

सामाजिक अपराध गत आवको पछिल्लो तीन महनिामा तीन हजार ५३२ वटा भए भने चालु आवमा ९२३ घटना मात्रै भएका छन् । सवारी सम्बन्धीमा अपराध गत आवको पछिल्लो तीन महिनामा ७०५ थियो चालू आवको सोही अवधिमा २०७ वटा मात्रै भए । विवरणमा चालू आवको जेठ १५ सम्मको घटनालाई मात्र समेटिएको छ ।

आत्महत्यामा कमी
आत्महत्या बढ्यो भनेर विवरणहरु बाहिर आएपछि गृह मन्त्रालयका अधिकारी र सुरक्षा अधिकारीबीच बुधबार बैठक समिक्षा गरिएको थियो । उक्त बैठकले केही छिटफुट गम्भीर प्रकृतिका घटना भए पनि समग्रमा आपराधिक घटनामा कमी आएको निष्कर्ष निकालेकोे छ । आत्महत्याका घटना समेत विगतको भन्दा कमी नै रहेको बैठकको निष्कर्ष छ । 

प्राप्त विवरणअनुसार गत आवको चैत, वैशाख र जेठको तुलनामा चालू आवको सोही अवधि ३२८ ले आत्महत्यामा कमी आएको देखिएको छ । यद्यपि, यसमा चालु आवको जेठ १५ सम्मको मात्रै घटना समेटिएको छ । पन्ध्र दिनमा यति धेरै घटना नहुने प्रहरीको भनाइ छ । कतिपय घटनाहरु सामाजिक चेतना र प्रहरीको सक्रियताले पनि बाहिर आउने गरेका छन् ।

चालू आवको चैत, वैशाख र जेठमा कोभिड-१९ का कारण सरकारले लकडाउनको आदेश जारी गरेको थियो । सोही अवधिको अभिलेख विश्लेषण गर्दा बन्दाबन्दी कै कारण आत्महत्या बढेको अभिलेखले नदेखाउने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही बताउँछन् । उनका अनुसार औसत विवरण विगतको भन्दा केही कम देखिन्छ । कतिपय आत्महत्या बन्दाबन्दीसँग जोडिएको हुनसक्ने भए पनि त्यसरी अध्ययन नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तथ्याङ्कमा झुण्डिएर आत्महत्या गरेका घटना भने निक्कै बढी देखिन्छन् । 

आव २०७५/७६ को चैत, वैशाख र जेठमा एक हजार ६६७ आत्महत्याका घटना भएको अभिलेख छ । त्यसमा झुण्डिएर मात्रै एक हजार २०० जनाको मृत्यु भएको थियो । विष खाएर ३५८ जनाको ज्यान गएको छ । चैतमा ४६९, वैशाखमा ५९७ र जेठमा ६०१ जनाले आत्महत्या गरेका थिए । वर्षमा कुल पाँच हजार ७५४ घटना भएकामध्ये झुण्डिएर मात्रै चार हजार ३१२ ले आत्महत्या गरे । 

चालू आवको चैत, वैशाख र जेठ १५ सम्मको अभिलेख अनुसार एक हजार ३३९ जनाले आत्महत्या गरेका छन् । यसमा १५ दिनको घटना आउन बाँकी छ । त्यसमध्ये एक हजार १३० जनाले झुडिएर आत्महत्या गरेका छन् । चालु आवको चैतमा ४८३, वैशाखमा ५७७ र जेठमा २७९ जनाको मृत्यु भएको थियो । चालू आवको जेठ १५ सम्म चार हजार ५८३ वटा आत्महत्याका घटना भएकामा झुण्डिएका मात्रै तीन हजार ६९० रहेको छ । 

आव २०७४/७५ को चैत, वैशाख र जेठमा आत्महत्याका एक हजार ४४७ घटना भएको थियो । यो चालू आवको तीन महिनाको सङ्ख्या भन्दा १०९ ले बढी हो । सबैभन्दा बढी झुण्डिएर एक हजार ७१ जनाले आत्महत्या गरेका छन् । विष खाएर ३५५ जनाको मृत्यु भएको छ । 

सोही आवको चैतमा ४५६, वैशाखमा ५०३ र जेठमा ४८८ आत्महत्याका घटना भएका थिए । सोही आवमा कुल पाँच हजार ३१७ जनाले आत्महत्या गरेकामा झुण्डिएर मात्रै तीन हजार ८६७ जनाले मृत्युवरण गरे । अन्यले आगो लगाएर, करेन्ट लगाएर, पानीमा हाम्फालेर, तथा हातहतियारको प्रयोग गरेर आत्महत्या गरेका थिए ।  

नेपाल प्रहरीका प्रवक्ता शाही विगतको वर्षको तुलनामा यो वर्ष आत्महत्याको दर बढेको भने नदेखिने बताउँछन् । ‘दुई वर्षको तुलना गर्दा लकडाउन कै कारण मात्र आत्महत्या बढेको भन्ने तथ्यले देखाउँदैन, विगतको तुलनामा अझै केही कमी आएको छ, बढेको छैन’ शाहीले भने । 

उनका अनुसार लकडाउनका कारण आपराधिक घटना भने ६० प्रतिशतले कमी आएको छ । जबर्जस्ती करणी तथा घरेलु हिंसाका घटना भने देखिएका छन् । त्यो प्रहरी र समुदायको सक्रियताले बाहिर आएको उनी ठान्छन् । केही कर्तव्य ज्यान तथा भवितव्यका घटना समेत यो अवधिमा घटेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप