सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमा जोखिम मोल्दै आमा र बच्चा

बिहीबार, २९ जेठ २०७७, १६ : ३०
बिहीबार, २९ जेठ २०७७

-गङ्गराज पण्डित
बाजुरा । भारतबाट फर्किएका एक गर्भवती महिला क्वारेन्टिनमा नै सन्तानको जन्म दिइन् । क्वारेन्टिनमा सन्तानको जन्म दिँदा एउटी आमाको मन कस्तो हुन्छ होला ? त्यही अनुभव साटेका छन् एक आमाले ।  जिल्लाको बूढीगङ्गा नगरपालिका–१ कुणीका २२ वर्षीया तुल्छी चदारा धुराल्सैन माविको क्वारेन्टिनमा १४ दिनको सुत्केरी छिन् । चदाराले पहिलो सन्तानका रुपमा छोरीलाई क्वारेन्टिनमै जन्म दिइन् । बिहान बेलुकाको छाक टार्ने नोकरी छुट्नु, चारदिनको भात्रेकभोकै भारतबाट नेपालको यात्रामा हिँड्नु, त्यसपछि घर नजिक पुगिसकेपछि पनि क्वारेन्टिनको बास हुन पुगेको दुई दिनपछि सुत्केरी हुनु उनलाई दुर्भाग्य जस्तै लागेको छ । 

उनलाई सुत्केरीको बेला थप खाना त कहाँ हो कहाँ अरु बेलाजत्तिको खान पाए पनि हुन्थ्यो जस्तो लाग्छ । एक वर्ष अगाडिको नवविवाहित जोडी उनको सपना, भारतकै सुविधा सम्पन्न अस्पतालमा सन्तानको जन्मदिने, दुवैजनाले सकेजति रोजगारी गर्ने योजना थियो तर त्यो भएन, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारतमा लकडाउन भई बेरोजगार हुँदा घर फर्किनुप¥यो । 

एक वर्षमै सपनामा सीमित भएर एउटा विद्यालयको चिसो सिमेन्टमा छोरीको जन्म दिनुप¥यो । उनलाई अहिले सन्तानलाई कसरी बचाउने भन्नेमात्र चिन्ता छैन । आफू र आफ्नो परिवारलाई नै कसरी बचाउने भन्ने पिरलो छ । चदाराको जस्तै पीडा सोही क्वारेन्टिनमा बसिरहेकी अमृत परीको पीडा झन कष्टपूर्ण छ । भारतमै सुत्केरी भइन् । त्यसको १५ दिनमै बसको यात्रा गरेर नेपाल पुगिन् । अस्वस्थ शरीर, लगातार चार दिनसम्म भोकभोकै हिँड्नु, उनका लागि सजिलो थिएन, तैपनि घर पुगिन् ।

उनलाई लागेको थियो आफूजस्ता गर्भवती र सुत्केरीलाई छुट्टै ठाउँमा व्यवस्थापन हुन्छ । तर त्यो अवस्था पनि भएन । उनीजस्तै सातजना गर्भवती र सुत्केरीसँगै ३० जनालाई एउटै कोठामा राख्दा बाटोको यात्रा भुलेर क्वारेन्टिनको बास भएपछि शरीर दुख्ने, ज्वरो आउने र रक्तश्राव पनि शुरु भयो । बाह्र दिनको क्वारेन्टिनको बास हुँदा अहिलेसम्म पनि उनको पेट कहिल्यै भरिएको छैन । 

चदारा र परी परिवारका सपरिवार भारतबाट फर्केर यतिबेला बूढीगङ्गा नगरपालिका–१ को धुरालसैन माविको क्वारेन्टिनमा बसिरहेका छन् । यस्तो अवस्थामा हजारदिने आमा र बच्चालाई हरेक बार खाना र उपचारको आवश्यकता हुन्छ । तर त्यो अवस्था क्वारेन्टिनमा छैन । श्रीमान् पनि क्वारेन्टिनमै भएका कारण बाहिरबाट थप पोषिलो खाना खुवाउने, स्याहारसुसार गर्ने कोही नहुँदा निकै समस्या भएको तुलसी चदाराका श्रीमान् विनोद चदाराको दुखेसो छ । 

सुत्केरी र स्तनपान गराइरहेकी महिलालाई स्थानीयस्तरमा उपलब्ध हुने सात समूहका विभिन्न खाद्यवस्तु (अन्न वा जमिनमुनि फल्ने कन्दमूल, गेडागुडी, तेलहन, बियाँ र दूध तथा दुग्ध पदार्थ, मासु र माछा, अण्डा, भिटामिन ‘ए’ पाइने फलफूल जस्तै पाकेको मेवा, आँप, सुन्तला, गाजर, फर्सी तथा अन्य फलफूल तथा तरकारी) मध्येबाट कम्तीमा चार समूहका खानेकुरा खुवाउनु पर्ने स्वास्थ्यकर्मीको भनाइ छ । तर यी सबै खानेकुराको बन्दोबस्तको कुरा त कहाँ हो कहाँ बिहान बेलुकाको दाल र भात पनि सजिलै पाउन अप्ठेरो भएको विनोद विकको भनाइ छ ।

सुत्केरीका लागि आरामसँग छुट्टै सुत्ने कोठा र बच्चाका लागि न्यानो ओढ्ने ओछ्याउने कपडा छैन । यता जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्त भने बाहिरबाट आएका बाजुरेली नागरिकलाई प्राथमिकताका आधारमा राख्ने निर्णय कार्यान्वयन भइरहेको बताए । बाजुरा जिल्लाभरि २२ जना गर्भवती र सुत्केरी महिलालाई अन्यभन्दा उच्च प्राथमिकता दिनुपर्छ भनेर सबै स्वास्थ्य शाखालाई ध्यान दिन अनुरोध गरिसकेको उनको भनाइ छ । यता नगरप्रमुख दीपकविक्रम शाहले भने एकैपटक धेरै सङ्ख्यामा बाहिरबाट आएका कारण भनेजस्तो व्यवस्थापन नभएको बताए । तर पनि हामीले हामीसँग भएको स्रोतसाधनबाट क्वारेन्टिनलाई व्यवस्थापन गर्न दिनरात खटिरहेको उनको भनाइ छ । 

हुनत् सदरमुकामकै क्वारेन्टिनमा पनि गर्भवती र साना बालबालिकाका लागि छुट्टै कुनै व्यवस्था छैन । मार्तडीमा रहको मालिका माविको क्वारेन्टिनमा पाँच वर्षमुनिका तीन बालक, तीन बालिका गरी ६ जना रहेका छन् । बडिमालिका–५ कै एक महिला २१ दिनदेखि मालिका माविको क्वारेन्टिनमा १४ महिनाको बच्चा लिएर बसेकी छन् । बच्चा भोकले निकै कमजोर भएको ती आमाको भनाइ छ । बिहान बेलुका भात र चनाको दाल दिन्छन् त्यो बच्चा खाँदैन, दिउँसो नास्ता चाउचाउ खानुपर्ने भएका कारण बच्चालाई पोषिलो खानेकुरा नखुवाएको २६ दिनभएको ती महिलाको भनाइ छ । 

बजारबाट पैसा दिएर केही पोषिलो खानेकुरा किनौँ भने पनि हाम्रो हातबाट पैसा नै समात्न मान्दैनन् । क्वारेन्टिनको बसाइ एकदमै असहज भएको उनको भनाइ छ । आफूलाई आरडिटी परीक्षणमा पोजेटिभ देखिएको र बच्चालाई नेगेटिभ देखिएको उनको भनाइ छ । यो अवस्थामा बच्चालाई स्याहार गर्न निकै समस्या भएको छ । यता मालिका माविको क्वारेन्टिनमा भएका व्यक्तिलाई खाना खुवाउने जिम्मा लिएका कर्णबहादुर महतले भने हामीले बिहान बेलुका खाना र दिउँसो उपलब्ध भएको नास्ता कसैलाई पनि नछुटाएर खुवाएको बताए । दैनिकजसो फलफूल उपलब्ध गराउन नसके पनि हप्ताको तीन÷चार दिन फलफूलको पनि व्यवस्था गरेको महतको भनाइ छ ।

अहिले मालिका माविको क्वारेन्टिनमा बडिमालिका नगरपालिकाका २६ जना रहेका छन् । जसमा ६ जना बालबालिका रहेका छन् । त्यसैमा पनि एक बालक र दुईजना आमामा आरडिटी पोजेटिभ देखिएको र पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाइसकेको बडिमालिका स्वास्थ्य शाखाका टेकबहादुर खड्काले बताए ।

अहिले जिल्लाका नौवटै स्थानीय तहका पाँच हजार २२३ जना क्वारेन्टिनमा छन् । तीमध्ये तीन हजार ८९१ पुरुष, एक हजार ३३२ महिला छन् भने यसमा पनि पाँच वर्षमुनिका ४४७ बालबालिका, २१ सुत्केरी तथा गर्भवती, ५६ ज्येष्ठ नागरिक र एकजना अपाङ्ग उच्च जोखिमका नागरिक छन् । सबैलाई एकै ठाउँमा व्यवस्थापन गर्दा जोखिम अवस्थाका नागरिकलाई कोरोनाभन्दा पनि अन्य रोगको जोखिम र कष्टपूर्ण जीवन जिउनुपर्ने वाध्यता रहेको छ । 

बूढीगङ्गा र बडिमालिका नगरपालिकामा मात्र होइन जिल्लाभरिकै क्वारेन्टिनमा बसेका सुत्केरी तथा गर्भावस्थाका महिला र बालबालिकाले क्वारेन्टिनमा कष्टपूर्ण जीवन बिताइराखेका छन् । एक त रोगले सङ्क्रमण गर्ने हो कि रु भन्ने चिन्ता छ, अर्को सुत्केरी हुँदा बच्चा र आमाका लागि पोषिला खानेकुरा, सुरक्षित आवासको व्यवस्थापन नहुँदा जोखिम उच्च दरले बढ्ने देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप