केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोरोनाविरुद्ध खोप बनाउने दौड : कहाँ पुग्यो, के हुँदैछ ?

सार्स–कोभ–२ विरुद्ध १३५ भन्दा बढी खोपहरुमाथि परीक्षण भइरहेका छन् !

person explore access_timeजेठ २९, २०७७ chat_bubble_outline0

सार्स–कोभ–२ को महाव्याधिले यतिखेर सारा संसारमा हाहाकार, उथलपुथल मच्चाइरहेको छ । यस महाव्याधिका सामु विश्वका मै हुँ भन्ने देशहरु लाचार भएका छन्, धनीमानी र सर्वशक्तिमान भनिएका देशहरुमै मानिसहरुको ज्यान अकल्पनीय ढंगले गुमिरहेको छ । यसका विरुद्ध अहिलेसम्मको स्वास्थ्य तैयारी र विज्ञान फेल खाएको छ । यस भाइरसका विरुद्ध यतिखेर सारा संसारका वैज्ञानिकहरु खोप बनाउने तयारीमा जुटिरहेका छन् । आजका मितिसम्ममा यसका विरुद्ध १३५ वटाभन्दा बढी खोपहरु बन्ने–बनाउने उपक्रमहरु चलिरहेका छन् । सामान्यतः खोप प्रयोग गर्नका लागि सुरक्षित हुने गरी तयार गर्नका लागि कम्तिमा पनि अनुसन्धान र अन्य विभिन्न प्रयोगहरु हेतु कम्तिमा पनि १ वर्षभन्दा बढी समय लाग्ने गर्छ । तर अहिले कोरोनाको कहरले संसारको अर्थव्यवस्था नै चर्मराउन थालेको र धनजनको अथाहा क्षति हुन थालेको पृष्ठभूमिमा वैज्ञानिकहरु आगामी वर्षसम्ममा जसरी भए पनि सुरक्षित र प्रभावकारी खोप विकासको तैयारीमा कम्मर कसेर जुटेका छन् ।

गत जनवरीमा सार्स–कोभ–२ को जेनोमलाई सरलीकृत रुपमा पहिचान गरिएयता नै खोप बनाउने प्रयत्न शुरु भएको थियो । मानवमाथि खोपका पहिलो सुरक्षा प्रयोग मार्च महिनामा शुरु भएको थियो तर अबको अगाडिको यात्रा कस्तो होला भन्ने अझै सुनिश्चित भइसकेको छैन । खोप बनाउने यो यात्रामा कतिपय असफल हुनेछन्, कतिपय प्रष्ट नतिजा नै नआइकन खत्तम पनि हुन स्क्छ । तर केही खोपहरु यस कोरोनाभाइएरसका विरुद्ध शरीरको प्रतिरक्षा प्रणालीलाई एन्टीबडी (प्रतिजैविक तत्व) बनाउन सफल हुन पनि सक्नेछ । 

कोरोनाको कहरबाट मुक्ति पाउने सबैभन्दा प्रभावकारी उपाय भनेकै खोपको विकास हो । ‘हिमाली हावापानीको गफ हाँकेर हाम्रो इम्युन सिस्टम बलियो रहेको’ कथाहरु जति हाले पनि तीतो यथार्थ चाहिँ के हो भने, यसबाट बच्ने भरपर्दो उपाय भनेकै या त व्यापक मात्रामा समुदाय प्रतिरोधको निर्माण हुनु हो या त यसका विरुद्ध प्रभावकारी खोपको विकास नै हो । त्यसमा पनि हज्जारौं ज्यानलाई दाउपेचमा राखेर निर्माण हुने समुदाय प्रतिरोधभन्दा त सुरक्षित उपाय भनेको फेरि पनि खोपको विकास नै हो ।

यहाँ मानवमा नै परीक्षणको चरणमा पुगेका तथा कोषहरु वा जनावरमा परीक्षण भइरहेका सम्भावनायुक्त केही भ्याक्सिनहरुको परीक्षण चरणसहितको स्थितिबारे न्यूयोर्क टाइम्समा प्रकाशित जानकारीमूलक रिपोर्टको नेपाली अनुवाद प्रस्तुत गरिएको छ ।

भ्याक्सिन परीक्षणको प्रक्रिया

खोपको ल्याबाट क्लिनिकसम्मको विकासक्रमका चरणहरु

प्रिक्लिनिकल टेस्टिङ: यस चरणमा वैज्ञानिकहरुले प्रस्तावित खोपलाई मुसा वा बाँदर जस्ता जनावरहरुमा प्रयोग–परीक्षण गरेर हेर्छन् । त्यसमा त्यो भ्याक्सिनले इम्युन प्रतिरोधको प्रतिक्रिया पैदा हुन्छ कि हुँदैन भनेर हेरिन्छ ।

पहिलो चरणको सुरक्षा प्रयोग परीक्षण  : यस चरणमा वैज्ञानिकहरुले सीमित संख्यामा छानिएका मानिसहरुमाथि खोपको परीक्षण गरिन्छ । उक्त परीक्षणमा खोपको सुरक्षा र त्यसको मात्राको परीक्षण गरिन्छ । त्यसका साथसाथै, त्यसरी दिइएको खोपले मानिसमा इम्युन प्रणालीलाई सक्रिय तुल्याउँछ कि तुल्याउँदैन भन्ने कुरा पनि हेरिन्छ ।

दोस्रो चरणको विस्तृत परीक्षण  : यस चरणमा वैज्ञानिकहरुले सयौं छानिएका मानिसहरुमाथि खोपको परीक्षण गर्छन् । यस दौरानमा ती व्यक्तिहरुलाई बच्चा तथा बृद्ध लगायत विभिन्न समूहमा विभाजित गरिन्छ । उनीहरुमा खोपले कसरी फरक फरक ढंगले काम गर्छ भनेर हेरिन्छ । यो परीक्षणमा उक्त खोप सुरक्षित छ कि छैन तथा त्यसले मानिसको प्रतिरक्षा प्रणालीलाई सक्रिय तुल्याउँछ कि तुल्याउँदैन भनेर थप हेरिन्छ ।

तेस्रो चरणको प्रभावकारिता परीक्षण  : यस चरणमा हज्जारौं मानिसहरुलाई खोप दिइन्छ र तीमध्ये कतिजना संक्रमित हुन्छन् भनेर हेरिन्छ र प्लेसिबो दिइएका स्वयंसेवीहरुबाट प्राप्त नतिजासँग तुलना गरेर हेरिन्छ । यी परीक्षणले कोरोनाभाइरसका विरुद्ध उक्त भ्याक्सिनले रक्षा गर्छ कि गर्दैन भनेर सुनिश्चित गरिदिन्छ ।

स्वीकृति  : प्रत्येक देशका नियामक निकायले ती परीक्षणका नतिजाहरुको समीक्षा गर्छ र त्यसमा आधारमा त्यो भ्याक्सिनलाई स्वीकृति दिने वा नदिने टुंगो लगाउँछ । महामारीको बेला औपचारिक स्वीकृति प्राप्त गर्नुभन्दा पहिला नै आपतकालीन उपायको रुपमा भ्याक्सिनको प्रयोग गर्ने अनुमति पनि पाउन सक्छ ।

यतिखेर अमेरिका सरकारको ‘अपरेसन वार्प स्पिड प्रोग्राम’ले पाँच वटा खोप परियोजनाहरुलाई छनौट गरेको छ । उसले त्यहाँको संघीय कोषबाट ती परियोजनाहरुलाई खोपको थप अनुसन्धान र विकास गर्न उक्त खोपले काम गर्छ भन्ने प्रमाणित हुनुपूर्व नै करोडौं डलर सहयोग उपलब्ध गराएको छ ।

खोपका चरणहरु मिसाइएको  : खोप विकासको चरणलाई तीब्र गति दिनका लागि कहिले काहीँ परीक्षणका चरणहरुलाई क्रमबद्ध रुपमा पर्खेर हैन, तिनलाई एकैचोटी थालेर संयुक्त रुपमा उपयोग गरिन्छ । कोरोनाभाइरसका केही खोपहरु यतिखेर एकैचोटी पहिलो चरण र दोस्रो चरणमा परीक्षण भइरहेका पनि छन् । यसको अर्थ के हो भने उक्त खोप पहिलो पटक नै सयौं मानिसहरुमा परीक्षण भइरहेका छन् ।

हाल तीब्र गतिमा बढी रहेका यस खालका केही खोपहरु र तिनका वर्तमान परीक्षण चरणहरु निम्नानुसार छन्  :

आनुवंशिक(Genetic)  खोपहरु

रोगप्रतिरोधी जवाफ पैदा गर्नका लागि कोरोनाभाइरसका आफ्नै एक वा बढी जीन प्रयोग गरेर तयार गरिने खोपहरु

दोस्रो चरण वार्प स्पीड

मोडेर्नाको एमआरएनए भ्याक्सिनले पहिलो चरणको आठ जना मानिसहरुमाथिको मात्रै डाटा निकालेर स्टक मार्केटलाई आश्चर्यचकित तुल्यायो । त्यसप्रति विज्ञहरुको मनतातो मात्रै प्रतिक्रियाले उसको स्टक मूल्य पनि तर गिर्यो । अमेरिकाको अपरेसन वार्पस्पीडको एउटा हिस्सा रहकेो यो अमेरिकी कम्पनीले जुलाइमा तेस्रो चरणको प्रयोग गर्दैछ र आगामी २०२१ को शुरुवाततिरै भ्याक्सिन तयार पार्ने आशा राखेको छ । 

पहिलो चरण दोस्रो चरण वार्प स्पीड

अमेरिकी कम्पनी फिजर र चिनियाँ कम्पनी फोसुन फर्माको सहकार्यमा खोपको दौडमा जर्मन कम्पनी बायोएनटेक पनि सामेल छ । उसले एमआरएनए (mRNA)  खोप बनाउँदैछ । गत मेमा फिजरले खोपको मानव प्रयोग गरिसकेको छ । प्रयोगमा सबै कुरा सही ढंगले अघि बढ्यो भने आगामी महिनाहरुमा अमेरिकाको अपरेसन वार्प स्पीड परियोजना अन्तर्गत फिजरले नि केही लाख डलर आकस्मिक प्रयोगका लागि हासिल गर्ने अपेक्षा राखेको छ ।

पहिलो चरण

मे महिनामा अमेरिकी कम्पनी इनोभियोले एक अध्ययन रिपोर्ट प्रकाशित गर्दै आफूहरुले तयार गरेको डीएनएमा आधारित खोप (DNA-based vaccine)  ले मुसामा एन्टीबडीहरु पैदा गराउन सफल भएको दावी गरेको थियो । यतिखेर सो खोपको मानिसमाथिको सुरक्षा प्रयोग अमेरिकामा जारी रहेको छ र आगामी जुनको अन्त्यसम्मा दक्षिण कोरियामा पनि सो प्रयोग थालिने योजना रहेको छ ।

प्रिक्लिनिकल

लण्डनको इम्पेरियल कलेजका अनुसनधानकर्ताहरुले आफैं बृद्धि भएर जाने आरएनए खोप (“self-amplifying” RNA vaccine)  को विकास गरेका छन् । यो खोपले मानिसको रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन भाइरल प्रोटिनको उत्पादनलाई बढाइदिन्छ । यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण आगामी जुन १५ मा गरिने लक्ष्य राखिएको छ । कलेजले यस खोपका लाग मर्निङ साइड भेन्चरर्ससँग भ्याकइक्युटी ग्लोबल हेल्थ नामक नयाँ कम्पनीमार्फत् खोपको उत्पादन र वितरण गर्ने गरी सहकार्य गरेको छ ।

प्रिक्लिनिकल

गत मार्च महिनामा ट्रम्प प्रशासनले क्युरभ्याकलाई आफ्नो अनुसन्धान जर्मनीबाट अमेरिका सार्ने कोशिश गर्यो । यो कम्पनीले अहिलेसम्म आफ्नो भ्याक्सिनको मानिसमाथि परीक्षण शुरु गरेको छैन, तर उही आरएनउ डिजाइनमा आधारित एउटा रेबिज भ्याक्सिनको पहिलो चरणको सुरक्षा परीक्षण चाहिँ उसले जर्मनीमा नै पास गरिसकेको छ । यो कम्पनीको जर्मनीस्थित कारखानाले एकै वर्षमा दशौं करोड खोपहरु बनाउन सक्ने बताएको छ ।

भाइरल भेक्टर भ्याक्सिन(Viral Vector Vaccines)

भाइरसको प्रयोग गरेर कोरोनाभाइरसको जीनलाई कोषहरुमा पठाउने र रोगप्रतिरोधी क्षमतालाई उत्प्रेरित गर्ने खोपहरु

दोस्रो चरण तेस्रो चरण वार्प स्पीड

ब्रिटिश–स्वीडिस कम्पनी एस्टरजेनेका र युनिभर्सिटी अफ अक्स्फोर्ड मिलेर बनाएको यो खोप चिम्पान्जीको ChAdOx1 भनिने एडेनोभाइरस (adenovirus)  मा आधारित छ । यो खोपले पहिलो चरणको परीक्षण पार गरिसकेको छ र दोस्रो/तेस्रो चरणको परीक्षण बेलायत र ब्राजिलमा जारी छ । अपरेशन वार्प स्पीड परियोजनाले सहयोग गरेको यो खोप परियोजनाले आगामी अक्टोबरसम्ममा आपतकालीन भ्याक्सिन बनाइसक्ने अपेक्षा राखिएको छ ।

दोस्रो चरण

चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्सले Ad5 भनिने एडोनोभाइरसमा आधारित खोपको परीक्षण गरिरहेको छ । उसले यो खोप चीनको एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेसको इन्स्टिच्यूट अफ बायोलोजीसँगको साझेदारीमा विकास गरिरहेको छ । गत मे महिनामा उसले आफ्नो खोपको परीक्षणबारेको रिपोर्ट तथा पहिलो चरणको परीक्षणको तथ्यांकहरु विश्वकै प्रतिष्ठितमध्येका एक मानिने जर्नल लानसेटमा प्रकाशित गरेको थियो ।

प्रिक्लिनिकल वार्प स्पीड

बेथ इजरायल डेकोनेस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले बोस्टनमा Ad26 भनिने एडेनोभाइरसमा आधारित खोपको बाँदरमा परीक्षण गरिरहेको छ ।

वार्प स्पीड परियोजनाले सयोग गरिरहेको जोनसन एण्ड जोनसनले पनि गत जुन महिनामा आफ्ना खोपको पहिलो र दोस्रो चरणको परीक्षण जुलाईको अन्त्यतिर थालिने जानकारी दिएको छ ।

प्रिक्लिनिकल

मासाच्युसेट्स आई एण्ड इयर हस्पिटलले विकसित गरेको जिन थेरापी ट्रिटमेन्टमा आधारित खोपलाई स्वीस कम्पनी नोभार्टिसले बनाउने भएको छ । यो खोपमा एडेनोसम्बद्ध भाइरसमार्फत् कोरोनाभाइरसका विच्छेदत जीनलाई कोषहरुमा पठाइन्छ । यो खोपको पहिलो चरणको परीक्षण सन् २०२० को अन्त्यतिर शुरु गर्ने लक्ष्य राखिएको छ ।

प्रिक्लिनिकल वार्प स्पीड

अमेरिकी कम्पनी मर्कले मे महिनामा भेसिकुलर स्टामाटिटिस भाइरसहरु (vesicular stomatitis viruses)  को माध्यमबाट कोभिड–१२९ को खोप बनाउने घोषणा गरेको थियो । यो भनेको इबोला विरुद्ध भ्याक्सिन बनाउँदा अपनाइएको विधि नै हो । यसका लागि कम्पनीले आइएभीआइसँग सहकार्य गरिरहेको छ ।

प्रोटिनमा आाधारित खोपहरु (Protein-Based Vaccines) 

कोरोनाभाइरसका प्रोटिन वा विच्छेदित प्रोटिनको मद्दतबाट प्रतिरोधी क्षमतालाई जागृत गर्ने खोपहरु

पहिलो चरण दोस्रो चरण

मेरिल्याण्डमा रहेको नोभोभ्याक्सले गत मेमा खोपको पहिलो र दोस्रो चरणको परीक्षण गरेको थियो । उसले तयार गर्दै गरेको खोप कोरोनाभाइरसको विच्छेदित खोपको माइक्रोस्कोपिक अणुहरुको प्रयागमा आधिारत छ । उसको खोप बनाउने यो परियोजनामा कोलिउसन फर इपिडेमिक प्रिपयर्डनेस इनोभेसन्सले ३८४ मिलियन अमेरिकी डलर लगानी गरेको छ ।

पहिलो चरण

क्लोभर बायोफर्मास्यूटिकल्सले कोरोनाभाइरसको प्रोटिनमा आधारित खोप विकास गर्दैछ । उसको यो खोप बेलायती औषधी कम्पनी जीएसकेले बनाएको शरीरको रोग प्रतिरोधी क्षमता बढाउने तत्व (adjuvant)  सँग मिलाएर दिइनेछ, जसले मानिसको रोग प्रतिरोधी क्षमतालाई थप जागृत गर्नेछ ।

प्रिक्लिनिकल

सन् २००२ मा सार्सको महामारी फैलिएपछि बेयलोर कलेज अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले सार्सको नयाँ महामारी नफैलियोस् भन्नाका लागि खोप बनाउन शुरु गरेका थिए  । उक्त खोपका प्रारम्भिक नतिजाहरु उत्साहजनक थिए तर त्यसले पर्याप्त सहयोग पाउन नसकेपछि त्यतिकै सेलायो ।

सार्स–कोभ–२ र सार्सको महामारी धेरै मिल्दोजुल्दो भएकोले अहिले अनुसन्धानकर्ताहरु खोप बनाउने उक्त अभियानलाई टेक्सस चिल्ड्रेन हस्पिटलको सहयोगमा फेरि जगाएका छन् ।

प्रिक्लिनिकल

युनिभर्सिटी अफ पिट्सवर्गले पिट्कोभ्याक (PittCoVacc)  नाम गरेको खोप विकास गर्दैछ । यो खोपमा चिनीले बनेको ४०० बटा मसिना सुइहरु छालामा छिराएर टाँसिइन्छ । त्यसरी त्यो खोपलाई छालामा टाँसिएपछि त्यसमा भएका चिनीहरु पग्लिएर भाइरसका प्रोटिनहरु शरीरमा जान्छ ।

 प्रिक्लिनिकल

अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्स्ल्याण्डले बनाएको खोपमा शरीरको रोग प्रतिरोधी क्षमतालाई उत्तेजित गर्ने गरी बनाइएका भाइरल प्रोटिनहरु शरीरमा घुसाइन्छ । युनिभर्सिटी र सीएसएल कम्पनीले पहिलो चरणको परीक्षण जुनमा गर्दैछ जसले अगामी सन् २०२१ को शुरुवातमा नै दशौं लाख खोपहरु निर्माण गर्ने सम्भावनाको ढोका खोल्ने छ । खोप बनाउने यस अभियानमा बेलायती औषधी कम्पनी जीएसकेले बनाएको शरीरको रोग प्रतिरोधी क्षमता बढाउने तत्व प्रदान गर्दैछ ।

प्रिक्लिनिकल

फ्रान्सेली कम्पनी सानोफीले पनि खोप बनाउँदैछ । यो खोप बनाउनका लागि इन्जिनियरिङ गरेर तयार गरेको भाइरसलाई कीराहरुको कोषमा पठाएर भाइरल प्रोटिनहरु तयार गरिन्छ । यो खोपलाई बेलायती औषधी कम्पनी जीएसकेले बनाएको शरीरको रोग प्रतिरोधी क्षमता बढाउने तत्वका साथ दिइनेछ, जसले मानिसको रोग प्रतिरोधी क्षमतालाई जागृत गर्नेछ । परीक्षणमा खोप पास भयो भने एक वर्षमा ६० करोड भ्याक्सिन बनाउन सकिने घोषणा सानोफीले गरेको छ ।

प्रिक्लिनिकल

अमेरिकी कम्पनी भ्याक्सआर्टले पनि खाने ट्याब्लेटको रुपमा खोप बनाउँदैछ जसमा फरक भाइरसका प्रोटिनहरु रहेका हुन्छन् । यो कम्पनीले आफ्नो खोपको पहिलो चरणको परीक्षण सन् २०२० को समरमा गर्ने तयारी गरिरहको जनाएको थियो ।

पूर्णभाइरसयुक्त खोपहरु(Whole-Virus Vaccines)

रोग प्रतिरोधी क्षमतालाई जागृत गर्न कमजोर तुल्याएका वा निष्क्रिय बनाइएका कोरोनाभाइरस प्रयोग गरिएको खोपहरु

पहिलो चरण दोस्रो चरण

साइनोभ्याक बायोटेक नाम गरेको निजी चिनियाँ कम्पनीले कोरोनाभ्याक नाम गरेको भ्याक्सिनको दोस्रो चरणको परीक्षण गर्दैछ । उसले बनाउँदै गरेको खोपमा निष्क्रिय तुल्याएको कोरोनाभाइरसको प्रयोग गरिएको छ । परीक्षणमा खोप पास भयो भने उक्त कम्पनीले वर्षेनी १० करोड खोप उत्पादन गर्नेछ ।

पहिलो चरण दोस्रो चरण

चीनका सरकारी कम्पनी साइनोफार्मले निष्क्रिय भाइरसको प्रयोग गरेर बनाइएका दुईवटा खोपहरुमा पहिलो र दोस्रो चरणको परीक्षण थालेको छ । परीक्षणहरुमा पास भयो भने उक्त कम्पनीले बेइजिंगमा स्थापना गरेको कारखानाबाट वर्षेनी २० करोड खोप उत्पादन गर्न सक्ने जनाएको छ ।

पहिलो चरण

चाइनिज एकेडेमी अफ मेडिकल साइन्सेसस्थित इन्स्टिच्यूट अफ मेडिकल बायोलोजीका अनुसन्धानकर्ताहरुले निष्क्रिय तुल्याइएका कोरोनाभाइरसमा आधारित खोपको पहिलो चरणको परीक्षण गरिरहेका छन् । यो संस्थाले यसअघि पोलियो र हेपाटाइटिस एको भ्याक्सिन बनाइसकेको छ ।

न्यूयोर्क टाइम्समा प्रकाशितजोनाथन कोरम र कार्ल जिमरको रिपोर्टको नेपाली अनुवाद 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.