बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

परीक्षण बिना नै क्वारेन्टिनमा रहेकाहरु धमाधम घर फर्कदै, विज्ञहरु भन्छन्, ‘नेपाल अब भगवान भरोसा !’

‘भयावह स्थिति व्यहोर्न राज्य तयार हुनुपर्छ’
बिहीबार, २९ जेठ २०७७, ०८ : ५६
बिहीबार, २९ जेठ २०७७

भारतबाट फर्किएका दैलेख नारायण नगरपालिकाका ९५ जनालाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर घर पठाइयो । क्वोरेन्टिनमा बसेका ९५ जना घर गएको दुई दिनपछि कोरोना संक्रमित भएको पुष्टि भयो ।

भारतबाट घर फर्किकामध्ये ती ९५ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाएको १२ दिनसम्म पनि नजिता नआएपछि आरडीटी परीक्षण गरेर घर पठाइएको थियो । आरडीटी परीक्षणमा उनीहरुको नतिजा नेगेटिभ आएर घर पठाएको नगरपलिका प्रमुख रत्नबहादुर खड्का बताउँछन् ।

यसरी भारतबाट स्वदेश फर्किएकालाई मापदण्ड बिनाको र नाम मात्रैको क्वारेन्टिन राखेको १४ दिनपछि आरडीटी परीक्षण गरेकै भरमा घर पठाउने क्रम विभिन्न स्थानमा चलिरहेको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयको प्रोटकलअनुसार आरडीटी परीक्षणमा नेगेटिभ नतिजा आएकालाई घरमा पठाउने उल्लेख गरिएको छ ।

तर, मन्त्रालयको प्रोटकललाई आधार मानेर आरडीटी परीक्षणमा नेगेटिभ आएकालाई घरमा पठाउदा भारतबाट आएबाट कोरोनासंक्रमण उच्च जोखिम रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

गत जेठ २१ गते स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले कोरोना संक्रमण पुष्टि भइ अस्पताल भर्ना भएका संक्रमितहरूलाई परीक्षण नै नगरी डिस्चार्ज गर्न देशभरका सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ । लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको तीन ३ दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नै नगरी डिस्जार्च गर्न नेसनल टेस्टिङ गाइडलाइन्स फर कोभिड–१९ को निर्देशिकाअनुसार स्वास्थ्य मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ ।

जनस्वास्थ्य विज्ञ शरद वन्त लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको तीन ३ दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नै नगरी डिस्जार्च गर्ने स्वास्थ्यमन्त्रालयको आदेश पूर्णरुपमा वैज्ञानिक आधार प्रष्ट नभएको बताउँछन् । अहिले भनेको क्वारेन्टिन व्यवस्थापन र परीक्षण नै मुख्य कुरा भएको उनको जोड छ । क्वोन्टाइनमा १४ दिनसम्म बस्दा कोरोनाको लक्षण देखिएनभने आरडीटी परीक्षणको आधारमा घरमा पठाउने सरकारी निर्णयको तथ्य तथा बैज्ञानिक आधार नभएको उनी बताउँछन् ।

 ‘१४ दिनक्वारेन्टाइनमा बस्दा कोरोनाको लक्षण देखिएन भनेर आरडीटी परीक्षण मात्र गरेर घर पठाउन हुँदैन,’ उनले भने, ‘दैलेखको जस्तो घटनाले अन्य गाउँ पनि उच्च जोखिम पर्छन् ।’

‘लक्षण नदेखिएका कोरोना संक्रमितबाट अरु संक्रमित हुँदैनन् भन्ने होइन । लक्षण देखिएन भन्दैमा संक्रमितलाई लक्षण देखिन छाडेको ३ दिनमा र आइसोलेसनमा बसेको १४ दिनसम्म लक्षण नदेखिएकालाई पुनः परीक्षण नगरी घर पठाउनु जोखिमपूर्ण हुन्छ,’ उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणमा कुनै किसिमको सम्झौता गर्न नहुने उनी बताउँछन् ।

संक्रमितको पहिचान नहुँदा संक्रमित व्यक्तिलाई जोखिम नहोला तर त्यसले अरुलाई सार्ने सम्भावना धेरै हुने भएकाले झन् जोखिम बढ्ने उनी बताउँछन् । त्यसैले कोराना परीक्षणमा सरकारले कञ्जुसाइँ गर्न नहुने उनको जिकिर छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिका नेपालको सन्र्दभमा असफल हुने   जनस्वास्थ्यविद् एवम् इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनी पनि बताउँछन् । ‘नेपालले युरोपेली राष्ट्रको नक्कल गरेर हुँदैन,’ उनले भने, ‘नेपालको वर्तमान स्वास्थ्य सेवा पहँुच, साक्षरता र आर्थिक तथा सामाजिक अवस्था बुझेर कोरोनाको पहिचान, उपचार र नियन्त्रणमा कदम चाल्नुपर्छ ।’

युरोप अमेरिका जस्तो नेपालमा छुट्टै शौचालय, छुट्टै सुत्ने कोठालगायत सुविधा सबैको नहुने भएकाले संक्रमित परीक्षण नगरिकन समुदायमा फर्किदा कोरोना सर्ने उच्च जोखिम भएको उनी बताउँछन् ।

‘संक्रमित भएर लक्षण नदेखिएकाहरु निको भए–नभएको थाहा नपाइ अस्पतालबाट घर फर्किए भने अन्य रोगको शिकार हुने जोखिम उच्च हुन्छ,’ उनी भन्छन्, ‘जस्तै कोरोना निको भएको छैन भने निमोनिया आदि जस्ता रोगबाट ज्यान जान सक्छ । गाउँघरमा दाउराले खाना पकाइन्छ, त्यसको धुवाबाट श्वास–प्रश्वास तथा खोकीको समस्या बल्झन सक्छ । त्यस्तै, घर गएर रक्सी खाने, समाजमा गएर हिँड्डुल गर्ने गरिए भएमा झन् ठूलो समस्या आउँछ ।’

सरकारले कोरोना परीक्षणमा बजेट बढाएर दायरा फराकिलो बनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । कोरोना संक्रमित निको भएको–नभएको बारेमा प्रष्ट जानकारी लिएर घर फर्कनु भनेको व्यक्ति र समाजसँगै सरकार पनि ढुक्क हुने भएकाले पीसीआर परीक्षणको दायरालाई खुम्चाउन नहुने जनस्वास्थ्य विज्ञ मरासिनी बताउँछन् ।

‘आरडीटी परीक्षण गरेर घर पठाउने परिपाटीलाई बन्द गर्नुपर्छ, उनले भने, ‘आरडीटी परीक्षणलाई पाखा लगाएर पीसीआर परीक्षणलाई फराकिलो बनाएर जनतालाई ढुक्क बनाएर घर पठाउनु पर्छ ।’

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेका अनुसार लक्षण विहिन संक्रमितलाई १४ दिनपछि पीसीआर परीक्षण नगरिकन घर पठाउनु भनेको नेपालको लागि खतराको घण्टी हो । आरडीटीलाई प्राथमिकता दिनु भनेको सरकारसँग पीसीआर परीक्षण गर्ने क्षमता छैन भन्ने हो । क्वारेन्टिनमा एउटै कोठामा कोचर राखिएकाहरुलाई कोरोना परीक्षण नगरी जान दिँदा समुदायमा झन् खतरा बढ्ने जनस्वास्थ्य विज्ञ पाण्डे बताउँछन् ।

संक्रमितलाई १४ दिनपछि परीक्षण नगरिकन घर पठाउने कुरा विकसित राष्ट्रले लागु गरेमा सही हुनसक्छ तर एक–दुईवटा अनुसन्धानलाई आधार मानेर मन्त्रालयले लक्षण नदेखिका घर पठाउने कुरा नेपालको सन्र्दभमा सान्र्दभिक नहुने जनस्वास्थ्य विज्ञ मरासिनीको कुरामा विज्ञ पाण्डे र वन्त पनि सहमति जनाउँछन् ।

भारतबाट आउने सबैको पीसीआर परीक्षण गरेर नतिजाको आधारमा आइसोलेसनमा राख्ने वा घर पठाउनले निर्णय सरकारले नगरेमा नेपालमा भयावह स्थिति आउने डाक्टर पाण्डेले चेतावनी दिए ।

‘विदेशबाट स्वादेश फर्किएका ५ प्रतिशतको पनि पीसीआर परीक्षण गरिएको छैन । विदेशबाट फर्कने सबैको परीक्षण गरेको भए संक्रमितको संख्या अझै धेरै हुने थियो,’ उनले भने, ‘नेपालमा जोखिम बढ्दो छ । त्यसैले सम्पूर्णरुपमा क्षमता बढाएर पीसीआर परीक्षणको दायरा बढाउनुपर्छ ।’

सरकारको असावधानीको कारण लक्षणविहीन संक्रमितलाई परीक्षण नगर्ने र आरडीटी परीक्षणमा नेगेटिभ नतिजा आउनेलाई घर पठाउँदा र भारतीय सीमानाका हँुदै आएकालाई क्वारेिन्टइन तथा परीक्षणमा खेलाची गर्दा राज्यले ठूलो क्षति व्यहोर्न तयार भएर पनि बस्नुपर्ने विज्ञहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप