मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा चिनियाँ सेना : हल्ला कि सत्यता ?

बुधबार, २८ जेठ २०७७, ०० : २०
बुधबार, २८ जेठ २०७७

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले अप्रत्याशित सोधे– ‘चीनबाट चिकित्सकसँगै जनमुक्ति सेना ल्याउन लागिएको छ, होइन ?’

उनले महामारी नियन्त्रणका नाममा चिनियाँ सेना ल्याउँदा नेपाल रणभूमि बन्नसक्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको ध्यानाकर्षण गराए ।

‘कालापानीमा सेना दौडिएको छ, सगरमाथामा दौडिएको छ, अब तराईका जिल्लामा सेना दौडियो भने हामी रणभूमि बन्नेछौं , मन्त्रीज्यूले स्थानीय सरकारको अधिकारको रक्षा गर्नुहुनेछ,’ उनले भने । 

जवाफमा मन्त्री त्रिपाठीले सेना ल्याउने विषय अस्वीकार गरे । उनले चीनबाट चिकित्सक समेत नल्याउने बताए । नेपाली चिकित्सक र स्वास्थकर्मीप्रति विश्वास भएकाले कहीँ कतैबाट चिकित्सक ल्याउन जरुरी नरहेको उनको धारणा थियो ।

कोरोना नियन्त्रणका लागि चिनियाँ जनमुक्ति सेनाको मेडिकल टोली ल्याउने विषयमा नेकपाभित्र छलफल चलेको समाचार ७ जुनमा भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’ मा प्रकाशित भएको थियो । त्यसपछि यस विषयले नेपालको संसदमा समेत प्रवेश पाएको हो । 

नेकपाको  छलफलबारे जानकार निकट स्रोतको हवाला दिदैं पत्रकारद्वय सुहासिनी हैदर र कल्लोल भट्टाचार्जीले यसबारे समाचार लेखेका छन् । 

यसअघि पिएलएको मेडिकल टोलीले उहान तथा नजिकका क्षेत्रमा महामारी नियन्त्रणमा नेतृत्वदायी भूमिका खेलेको थियो, यसैबाट प्रेरित भएर उनीहरुलाई सहयोगका लागि नेपाल बोलाउन लागिएको समाचारमा उल्लेख छ । 

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय लियाजन विभागका प्रमुख सोङ ताओसँगको पछिल्लो भिडियो कलका दौरान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल टोली ल्याउने विषयमा छलफल गरेको समाचारमा उल्लेख छ । 

‘नेपालले कोभिड–१९ संक्रमण फैलनबाट रोक्न जरुरी छ र परीक्षण तथा नियन्त्रणका लागि विस्तारित अभियानको तत्काल आवश्यकता छ । देशभर परीक्षण गर्नुपर्ने अवस्था रहेका बेला अन्तत: नेपालले कति संख्यामा स्वास्थकर्मी पाउँछ भन्ने स्पष्ट भइसकेको छैन, अहिलेको अनुमानअनुसार यस्तो अपरेशनमा कम्तिमा केही हजार कामदार आवश्यक पर्छन्,’ नेकपाको आन्तरिक छलफलबारे जानकार व्यक्तिको हवाला दिदै हिन्दूले लेखेको छ, ‘नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भातृत्वको सम्बन्ध रहिआएको छ ।’ 

चिनियाँ टोली नेपालमा एक साता वा त्यसभन्दा बढी बस्नसक्ने समाचारमा उल्लेख छ । ‘पिएलएले चीनका प्रभावित क्षेत्रमा गरेजस्तै बिस्तारित र तीव्र अपरेशन नेपालमा सञ्चालन गर्नेछ,’ स्रोतले भनेको छ ।  

चीनको कोभिड–१९ कुटनीति 
चीनले कोभिड–१९ कुटनीतिमार्फत अहिले विश्वमा आफ्नो प्रभुत्व विस्तार गरिरहेको छ । सुरुमा उहानमा कोरोना भाइरसले सबैभन्दा धेरै प्रभाव पारेपनि अहिले चीनमा महामारी नियन्त्रणमा आइसकेको छ र अन्य देशलाई सहयोग गर्ने अवस्थामा चीन पुगिसकेको छ ।

 बेइजिङले सोमबारमात्रै बंगलादेशमा १० जना जनस्वास्थ विज्ञ पठायो । चीनको राष्ट्रिय स्वास्थ नियोगबाट खटिएको यो टोली कोभिड–१९ प्रभावित क्षेत्रमा जानेछ । यसअघि श्रीलंका, म्यानमार र युरोपका कोभिड–१९ प्रभावित देशमा पनि चीनले सहयोग पठाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप