शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ती साँच्चैका स्नातक हुन् जो विदेशबाट फर्के

आफन्तीको कथा
मङ्गलबार, २७ जेठ २०७७, २२ : ३९
मङ्गलबार, २७ जेठ २०७७

आफन्ती बसिरहेको सहरमा ‘लक् डाउन’ लागू भइरहेको थियो । दिनभरि ब्यस्त रहने पार्क, चउर र सडक सुनसान थिए । बजारका केही पसल बिहान एकछिन झुलुक्क खुलेका हुन्थे अनि त्यसै बेला ग्राहकहरू पसल वरिपरि झुम्मिरहेका देखिन्थे । त्यसपछि फेरि सुनसान हुन्थ्यो । सबै सबै आ–आफ्नै घरडेरामै रहन्थे ।

भान्साका सामान सकिएपछि भने मानिसहरूलाई बाहिर नपुगी नहुने हुन्थ्यो । त्यसपछि भने उनीहरू बाहिर जान्थे, त्यो पनि तोकिएकै समय–सीमाभित्र मात्र । त्यसबेला उनीहरू नबिर्सीकन मास्क लगाएर बाहिर निस्कने गर्थे । उहिले उहिले त्यस सहरका क्वै क्वै मात्र रुघा खोकी लाग्दा रुमालले मुख छोपेर हिँड्ने गर्थे । एक थरी धर्मावलम्बीहरू भने जहिले पनि नाकमुन्तिर सेतो कपडाको सानो टुक्रो झुन्ड्याएर हिँड्थे । त्यसबेला त्यहाँका मानिसहरू कपडाको त्यस टुक्रालाई बुजो भन्थे । अनि मुखमा बुजो हाली हिँडेकाहरू देखेपछि अचम्म मानेर हेर्थे ।

यसपालि मात्र त्यहाँका मानिसहरूले रुघा–खोकीका बिरामीकहाँ जाँदा आफूले पनि बुजो (मास्क) लगाएरै जानुपर्दो रहेछ भन्ने कुरा राम्ररी थाहा पाए र अचम्म मान्न छाडेका थिए । वास्तवमा आफ्नै आँखाले देखेपछि र भोगेपछि भने मानिसहरूलाई गुदी कुरा छर्लङ्ग हुँदो रहेछ । त्यसैले आज अरूजस्तै आफन्ती पनि मुखमा मास्क लगाएर र हातमा झोला लिएर निस्केका थिए ।

बजारमा मात्र के पुगेका थिए आफन्तीका वरिपरि केही युवक उनका अगाडि उभिन आए र नमस्कार गर्दै एकजना युवकले उनीसित तुरुन्तै सोधिहाले, “आफन्तीज्यू, यहाँसित भेट नभएको एक महिना नै भइसक्यो होला, कहिले भेट्न पाइएला भन्ने थियो । आज बल्ल भेट्न पाइयो । यहाँलाई के कस्तो छ क्यारे ? हेर्नुस् त, अहिले मानिसहरूले हुनसम्मको सास्ती भोगिरहेका छन् । हामीलाई थाहा छ, हाम्रो मुलुक सम्पन्न मुलुक हैन, यत्रो सहरमा बसिरहेकाहरूले समेत आवश्यक ओखति उपचार कहाँ पाउन सकिरहेका छन् र, हैन त, आफन्तीज्यू ? अनि हाम्रा गाउँघरको हालत कस्तो होला ! अस्तिसम्म त यो कोरोनाको कुरो एक दुई सहरमा मात्र सीमित थियो । अहिले हेर्नुस् त, गाउँगाउँमा फिँजिइसकेको त । हामी आफैले रोपेर बारीमा फलाएका फल त हैन नि यो कोरोना, हैन त आफन्तीज्यू ? तर यो त हामीकहाँ पनि आइपुग्यो । हाम्रा गाउँ गाउँसम्म’नि पुगिसक्यो ! हामीले कहिल्यै नसोचेको कुरा, हेर्नुस्, कुनै व्यवस्था छैन ! बाहिरबाट भित्रिने त्यतिका मानिसलाई सितिमिति भित्रिन नदिनु पर्थ्यो क्यारे ! अब के के मात्र हुने होला ! हैन त, आफन्तीज्यू ?”

युवकको कुरा ध्यान दिएर सुनिरहेका आफन्तीले आफ्नो चारैतिर उभिइरहेका युवकहरूतर्फ हेरे अनि बिस्तारै भन्न थाले, “हेर्नुस्, हामी जहाँ हुन्छौँ त्यहीँको हावा र पानी खाएरै हामी बाँच्नुपर्छ, हैन त ? त्यसैले यस पृथ्वीलोकका हामी बासीहरूले यस लोकमा आइपर्ने वा देखापर्ने कुनै पनि रोगव्याधिसित सामना गर्नुपर्ने नै हुन्छ नि, हैन त ? अब त्यससित सामना गर्नुभन्दा अगावै हामीले हार्नु राम्रो कुरा होला त ? हेर्नोस्, हाम्रा पुर्खाहरूले पनि पटक पटक कोरोनाजस्ता कैयन् कोरोनासित जुध्दै, तिनलाई परास्त गर्दै हाम्रो जातिको क्रमलाई यहाँसम्म ल्याइपुर्यानएका हुन् । हामी हाम्रा पुर्खाहरूले पटक पटक सामना गरेका कुरा एक पल्ट सम्झौँ र उहाँहरूबाट कोरानाजस्तासित जुध्ने आँट र जितेर जिउने साहस र कला बटुलौँ । हो, हाम्रा देशबासीहरू पुगेका अरू मुलुकबाट नै यो भाइरस हामीकहाँ आइपुगेका हुन्, फेरि ती कोरोना आफै आइपुगेका त हुँदै होइन । हाम्रै दाजुभाइहरूले जानीजानी बोकी ल्याएका पनि हैन । मन पराएर बोकी ल्याएका त हुँदै होइन । फेरि ती मुलुककाहरूले कोसेली भनी पठाएका पनि कदापि होइन । त्यस्तो मूर्खतापूर्ण कुरा हामीचाहिँ गर्दै नगरौँ, कदापि नगरौँ । हाम्रो मुखबाट यस्तो कु्राको उच्चारण नै नहोस् ।”

यति भन्दै आफन्तीले लामो सास फेरे ।

“ती मुलुकहरूले फिँजाउँछौँ भनी नफिँजाइएको भए यति चाँडो यो भाइरस कसरी विश्वभरि फिँजिएको होला त ?,” एक जना युवकले आफन्तीसित बिस्तारै सोधे ।

“हो, यस कोरोनालाई यतिबिघ्न चाँडो संसारभरि फिँजिन सक्ने बनाएको त हामी मानिसहरूले नै हो । हेर्नुस्, एक जमानामा हाम्रो यो पृथ्वी नापिनसक्नुको ठूलो थियो । अहिले चौध पन्ध्र घण्टाभित्र हामी यसको एक चक्कर लगाएर यसको नापो लिन सक्ने भएका छौँ । अहिले यो पृथ्वी साह्रै सानो भइसकेको छ । भन्नोस् त, यस पृथ्वीलाई यसरी सानो बनाउनेहरू हामी नभए अरू को हुन् ? हामी नै त हौँ नि, हैन र ! यसैलाई हामी फूर्तिसाथ भूमण्डलीकरण भन्थ्यौँ नि । भूमण्डलीकरणकै कारणले हामी कतिपय कुरामा धन्य धन्य हुन पाएका थियौँ र छौँ भने अहिले आएर यस कोरोनाको आक्रमणका शिकार पनि हुन पुग्यौँ । हरेक कुराका दुईटा पाता त हुन्छन् नि, हैन र ? विज्ञानको युगका हामीले अवैज्ञानिक कुरा गर्न मिल्छ र ?”

“त्यसो भए यतिबिघ्न संहार गर्ने यो भाइरस हाम्रै दाजुभाइले बोकी ल्याएका हुन् त ?” अर्को युवकले गम्भीर भएर सोधे ।

“हो, हाम्रा दाजुभाइहरूले पनि ल्याएका हुन् । विश्वका विभिन्न मुलुकमा पुगेका उनीहरूले रातदिन नभनी पसिना बगाएर धनदौलत अनि ज्ञान र सीपका धेरै कुरा पनि साथै ल्याएका हुन् । जहाँसम्म कोरोनाको कुरा छ, उहिले उहिले हाम्रो आफ्नै मुलुकभित्रको एक ठाउँको मान्छे अलि टाढाको अर्को ठाउँमा काम गर्न जानेले समेत औलो सौलो के के बोकेर फर्किनुपर्ने हुन्थ्यो । त्यसैले विदेशमा गएर काम गर्न गएका हाम्रा दाजुभाइले त्यताका राम्राका साथै नराम्रा भनौँ कोरानाजस्तो भाइरस पनि आफूसितै ल्याउनुपर्ने हुन्छ, त्यसैले उनीहरूले नै ल्याएका हुन् । जहाँसम्म एक्कासि फर्किनुपर्ने भएर उनीहरूले धेरै दुःख खेप्नु परेको कुरा छ त्यस कुरामा पनि हामी केही भन्न सक्तैनौँ । किनभने तिँकै जनताले समेत भनी नसक्नुको दुःख कष्ट खेप्नु परेको र खेपेको कुरा हामी आफैँले पनि देखे सुनेकै हौँ । काम गरिरहेको ठाउँमा अहिले काम छैन जहाँ जानुपर्छ जानू भनेर घर–कारखानाको ढोका थुनेपछि बाहिर निस्कनु बाहेक अर्को कुनै बाटो रहन्छ र, हैन त ?”

आफन्तीका कुरा सुनिरहेका युवकहरू सुस्केरा हाल्दै उभिइरहे ।

त्यसपछि आफन्तीले बिस्तारै भने, “रोग, भोक र शिथिल शरीर लिएर फर्केका हाम्रा दाजुभाइहरू बिना कुम्लो आइपुगेका भए पनि रित्तै आएका रहेनछन् ! हेर्नुस्, आज मेरो गाउँका एक जना साथीसित सम्पर्क भएको थियो । मैले गाउँको हाल के छ भनी सोध्दा उनले मलाई यस्तो कुरा सुनाए, ‘यहाँ पनि कोरोनाको कुरा त चलिरहेको छ, यसै बेला रोपाइँको बेला पनि आएको छ, अहिले बाहिरबाट आइपुगेकाहरूले गर्दा नै गाउँको मुहार फेरिन थालेको छ । धेरै वर्षदेखि त्यसै छाडिएका बाँझा पाताहरू पनि खनजोत गरेर तिनमा पानी लाइएका छन् । जताततै जाँगर चलेको छ, मिल्छ भने तपाईं पनि यसपालिको रोपाइँमा यता आउनुस् न,’ भनी बारबार भने । हेर्नुस्, विदेश पुगेर हजार हण्डर खाएर फर्केका हाम्रा दाजुभाइहरूसित देखाउन कुनै प्रमाणपत्र त ल्याएका रहेनछन् तर उनीहरू साँच्चैको विश्वविद्यालयको अध्ययन पूरा गरी फर्केका भरपर्दा स्नातकहरू हुन्, साँच्चैका स्नातकहरू हुन् ।”

आफन्तीको कुरा सुनिरहेकाहरूले आफन्तीलाई हेर्दै लामो सास फेरे । त्यसबेला तिनीहरूले लक् डाउनमा भोग्नुपरेका सबै दुःख बिर्सिरहेका थिए ।

Title Photo:People vector created by freepik - www.freepik.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शान्तदास मानन्धर
शान्तदास मानन्धर
लेखकबाट थप