मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

'जसपामा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी महन्थ ठाकुरले लिनुपर्छ'

महन्थ ठाकुरले नै अड्को थापेपछि बाबुराम भट्टराईले त्याग देखाउनुभयो : महेन्द्रराय यादव
मङ्गलबार, २७ जेठ २०७७, १९ : ३०
मङ्गलबार, २७ जेठ २०७७

जनता समाजवादी पार्टी नेपाल दर्ताका लागि निवेदन दर्ता गराए लगत्तै सो पार्टीभित्रको विवाद सतहमा आएको छ । पार्टी एकीकरण गर्दा केही नेताहरुले मनपरी गरेको भन्दै सो पार्टीभित्र चरम असन्तुष्टि देखिएको छ । असन्तुष्ट रहेका शरतसिंह भण्डारी, राजकिशोर यादव, महेन्द्र राय यादव र अनिलकुमार झालगायतको आज छुट्टै बैठक नै डाकेका छन् । विशेष गरेर तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरु बढी असन्तुष्ट देखिएका छन् । यही सन्दर्भमा असन्तुष्ट रहेका जसपा नेपालका नेता महेन्द्र राय यादवसँग रातोपाटीले गरेका संक्षिप्त संवादः

पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको दुई दिन पनि भएको छैन, यति छिटो असन्तुष्टि किन ?

–यो असन्तुष्टि बढाउने काम महन्थ ठाकुरले गर्नुभएको छ । तत्कालिन राजपा नेपालको तर्फबाट एकीकरणको काम पुरा गर्ने जिम्मेवारी उहाँलाई दिइएको थियो तर उहाँले केन्द्रीय समितिमा राजपा नेपालको तर्फबाट अधिकांश आफू अनुकूलका मान्छे मात्र राख्नुभयो । यहाँसम्म कि अध्यक्षमण्डलमा रहेका दुईजनाको त एकजना मान्छेसमेत राख्नुभएन । यही कारणले यो असन्तुष्टि बढेको हो । उहाँले अधिकारको दुरुपयोग गर्नुभयो । हामीसँग विश्वासघात गर्नुभयो । अर्को कुरा पार्टी विधानअनुसार संघीय परिषद् माथि रहने, त्यसपछि कार्यसमिति, राजनीतिक समिति, केन्द्रीय समिति रहने व्यवस्था छ । जब कार्यकारी अधिकारी लिइन्छ त्यसलाई दुई नम्बर वा तीन नम्बरमा राख्नुपर्छ, एक नम्बरमा संघीय परिषद्लाई राख्नुपर्छ । तर महन्थ ठाकुरले अडान लिएको कारणले बाबुराम वरिष्ठ नेतामा आउनुभयो । बाबुराम भट्टराईजीले त्याग देखाउनुभयो, पार्टीको एकता गराउनुभयो । उता, महन्थ ठाकुरले एकतालाई अनुकुल गर्ने ठाउँमा प्रतिकुल पार्नुभयो । त्यही कारणले अनिलकुमार झा र राजकिशोर यादवले एकीकरणको निर्णयमा हस्ताक्षर समेत गर्नुभएको छैन । त्यसले गर्दा एकताको सन्देश राम्रो गएको छैन । त्यसैले बाबुराम भट्टराईलाई संघीय परिषद्को एक नम्बरमा राखेर अनिलकुमार झा र राजकिशोर यादवको तर्फबाट पनि केन्द्रीय कार्यसमितिमा नाम राख्नु पर्ने हुन्छ । राजपा नेपालमा छ जना अध्यक्षमण्डलको हैसियत बराबर थियो । उहाँहरुले आफ्नो हैसियत अनुसार अधिकार पाउनुपर्छ । नेता तथा कार्यकर्तामा एकताको राम्रो सन्देश गएको छैन । आन्तरिक रुपमा यसमा सुधार गर्नुपर्छ । राजेन्द्र महतोलाई संसदीय दलको नेता दिने कुरा पनि बाहिर आएको छ जब कि त्यसमा पनि कुनै सहमति भएको छैन । उहाँहरुले सहमति बिना नै आ–आफ्नो मनले ती कुराहरु बाहिर ल्याउनु भएको छ ।

त्यसो भए के राजपा नेपाललाई फेरि ब्युत्याउनु हुन्छ ?

–यो महन्थ ठाकुरजीमा भरपर्छ । महन्थ ठाकुरले जुन विश्वासघात गर्नुभएको छ त्यसलाई उहाँले सुधार गर्नुपर्छ । अनिल झा र राजकिशोर यादवलाई असन्तुष्ट बनाउने काम गर्नुभएको छ । बाबुराम भट्टराईलाई वरिष्ठ नेतामा झार्ने काम गर्नुभएको छ । यी सबै कुरामा महन्थ ठाकुरले सुधार गर्नुपर्छ किनभने यो सबै कामको जिम्मा महन्थ ठाकुरलाई विश्वास गरेर दिइएको थियो । जसपा नेपालमा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी महन्थ ठाकुरले लिनुपर्छ ।

यदि तपाईंहरुको असन्तुष्टिको सम्बोधन भएन भने के गर्नुहुन्छ ?

–त्यो त अघि नै भने नि यसको सम्पूर्ण जिम्मेवारी महन्थ ठाकुरले लिनुपर्छ । सम्बोधन भएन भने के हुन्छ त्यो कुराको जवाफ महन्थ ठाकुरले दिनुपर्छ । हामीले आफ्नो असन्तुष्टिलाई साइड लगाएर एकीकरणको अभियानमा लागेका हौँ । म र शरतसिंह भण्डारी सन्तुष्टि नभए पनि हामी एकीकरणका लागि तयार भएका थियौँ । तर राजकिशोर यादव र अनिलकुमार झामाथि त ठूलो विश्वासघात नै भएको छ । उहाँ दुईजना राजपा नेपाल अध्यक्षमण्डलका सदस्य हुनुहुन्छ नि अनि यसरी उपेक्षित गर्न मिल्छ ? उहाँ (महन्थ) लाई अधिकार सबैलाई सहमति गरेर अगाडि बढ्नका लागि दिइएको थियो, आफ्नो मनपरीका लागि होइन । विश्वासघात गरेकै कारणले एकीकरणको प्रकृया यो ढंगले अगाडि बढ्न सक्दैन । यसको पूर्ण जिम्मेवारी महन्थ ठाकुरले लिनुपर्छ र यसलाई सुधार पनि वहाँले नै गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप