क्वारेन्टिनमा राख्नभन्दा आरडिटी किन्न सस्तो !
कैलाली । कैलालीका स्थानीय तहले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) खरिद गर्न थालेका छन् । क्वारेन्टिनको खर्च धान्न नसकेपछि यहाँका लम्कीचुहा, गोदावरी, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले आरडिटी खरिद गरेका छन् भने टीकापुरले किन्ने तयारी गरेको छ । लम्कीचुहाले एक हजार, जोशीपुरले एक हजार, गौरीगङ्गाले ६००, भजनीले ७०० र जानकीले २०० थान आरडिटी खरिद गरेका छन् ।
क्वारेन्टिनमा नागरिक राख्नभन्दा आरडिटी किन्न सस्तो भएपछि स्थानीय तहले खरिद गर्न थालेका हुन् । आरडिटीमा विश्वास नभएको गुनासो रहे पनि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पाँच दिन स्वाब सङ्कलनमा रोक लगाएपछि स्थानीय तहले आरडिटी गरेर नेगेटिभ आएकालाई घर फर्काउन थालेका हुन् ।
टीकापुर नगरपालिकाले अहिलेसम्म ९९४ जनालाई आरडिटी गरेर घर पठाइसकेको छ । तीमध्ये पाँच पोजेटिभ देखिएका छन् । उनीहरुलाई भने स्वाब परीक्षणका लागि क्वारेन्टिनमा राखिएको छ । १९ स्थानमा रहेको क्वारेन्टिनमा १६६६ नागरिक रहेका छन् । नगरपालिकाले पिसीआर परीक्षणका लागि ७०९ जनाको स्वाब सङ्कलन गरेको छ । सेती अञ्चल अस्पताल पठाइएको यो सङ्ख्यामा ४०३ जनाको नतिजा आउन बाँकी छ । २९२ को नतिजा आएकोमा चार पोजेटिभ देखिएका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।
क्वारेन्टिनमा दैनिक लाखौँ रकम खानामा मात्र खर्च भइरहेको छ । शाकाहारी खाना खुवाउँदा पनि एक जनालाई दैनिक रु ३०० सम्म खर्च हुने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले दिनमा दुईपटक नास्ता र दुईपटक खाना दिने गरेको छ । ‘दैनिक रु चार लाख बढी खानामा खर्च भइरहेको छ’ नगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भनिन्, ‘धान्न नसक्ने अवस्था आएको छ । व्यवस्थापनमा समेत समस्या भएकाले १४ दिन पुगेकालाई जाँच गरेर घर पठाउने गरेका छौँ ।’ नगरपालिकाले प्रदेश सरकारसँग थप आरडिटी र पिसीआर माग गरेको छ । नगरपालिका आफैँले पनि किन्ने तयारी गरेको स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी दिए ।
‘धनगढीमा पिसीआर परीक्षण सुस्त गतिमा छ । ४०३ को नतिजा आएकै छैन’, उनले भने, ‘प्रतिक्षा गर्न नसकिने अवस्था आएकाले १४ दिन पुगेकालाई आरडिटी गरेर घर पठाउन थालेका हौँ । हामीकहाँ आरडिटी पनि सकिएकाले किन्ने प्रक्रियामा छौँ ।’
‘भारतबाट आएकाको स्वाब परीक्षणका लागि कुराएका छौँ’, जानकी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले भने, ‘नेपालका अन्य जिल्लाबाट आएकालाई आरष्टिी गर्दै घर पठाउन थालेका हौँ । परीक्षण गर्न गाउँपालिका आफैँले २०० किट किनेको हो ।’
दैनिक लाखौँ व्ययभार थपिएपछि स्थानीय तहका जनप्रतिनिधिले व्यवस्थापन गर्नमा समस्या आएको गुनासो गर्न थालेका छन् । कतिपय स्थानीय तहले स्वाब परीक्षणमा पनि पहुँचको कुरा आएको जनाएका छन् । क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण १४ दिनपछि गरिने र नतिजा आउन कम्तीमा पाँच दिन लाग्ने भएपछि क्वारेन्टिन खर्च बढ्नु स्वाभाविकै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई