शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना विपत्ति र नेकपाको रोमाञ्चक उडान

मङ्गलबार, २७ जेठ २०७७, १३ : ०४
मङ्गलबार, २७ जेठ २०७७

कोरोनाभाइरसका कारण सिङ्गो विश्व आक्रान्त भइरहेको छ । सुरुमा सामान्य रहेको नेपालको अवस्था दिनप्रतिदिन जटिल र भयावह बन्दै गइरहेको छ ।  सावधानीका निम्ति अपनाइएको लकडाउनको सतहत्तरौँ दिनसम्म आइपुग्दा नेपालमा तेह्र जनाको ज्यान गइसकेको छ भने चौतीस सयभन्दा बढी मान्छेहरू सङ्क्रमित भइसकेका छन् । सुरुमा सावधानी र सतर्कता भनिए पनि अहिले आएर यही लकडाउनका कारण सिङ्गो देशको अर्थतन्त्र मात्रै होइन समाजिक जीवनसमेत अस्तव्यस्त भइरहेको छ । देशको यो विषम परिस्थितिमा दुईजना पाइलटले उडान भरेको नेकपाको जम्बो जेट भने रोमाञ्चकारी उडानमा व्यस्त छ ।

 कुनै पनि सङ्घसङ्गठनको आवश्यकता मान्छेलाई त्यतिबेला पर्दछ जतिबेला ऊ सङ्कटमा हुन्छ । आज विश्वभर विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा कोरोनाविरुद्धको लडाइँ जारी छ र यसको अनुभूति सारा विश्वले गरिरहेको छ । हरेक देशका जनताले इतिहासकै कठिन यस घडीमा आफ्नो देशका पार्टी र सरकारको भूमिका राम्रोसँग महसुस गरिरहेका छन् । 

सङ्कटपूर्ण घडीहरु आउँछन् र जान्छन् नै । सङ्कटमा असल शासकहरुले जनताको साथमा रहेर सङ्कटको सामना कुशलतापूर्वक गर्ने गर्दछन् । हरेक सङ्घ सङ्गठनहरुले आफ्ना ऐतिहासिक जिम्मेवारी र भूमिका प्रस्तुत गरिरहेका हुन्छन् । दशौँ लाख नेता र कार्यकर्ता भएको पार्टी र करोडौँ जनताको समर्थन प्राप्त दल हुनुको नाताले यतिबेला नेकपाको जिम्मेवारी र भूमिकाको बारेमा आम जनताले चासो राख्नु स्वाभाविकै हो ।

पार्टी एकता घोषणा कार्यक्रमको दिन अध्यक्ष तथा प्रधानमन्त्री  केपी ओलीले भन्नुभएको थियो नेकपा सामान्य पार्टी होइन । अर्थात् यो सामान्य टुइनेटर  जहाज होइन । यो त दुईवटा क्याप्टेन भएको जम्बो जेट हो । पार्टी एकता भएको दुई वर्षको यो अवधि नेपाली कम्युनिस्ट आन्दोलनले जुन किसिमको उलटपुलटकारी भूमिका निर्वाह गर्नुपथ्र्याे त्यो पूरा भएन । सैद्धान्तिक वैचारिक र राजनीतिक मार्गनिर्देशनको आधारमा नेकपाको जेट निर्दिष्ट लक्ष्य अनुरूप अघि बढ्नुपर्ने थियो । पार्टी एकताको निर्णयले उत्साहित लाखौँ नेताकार्यकर्ता र जनताको साथमा रहेर नेकपाले समाजवादको यात्रा तय गर्नु पथ्र्यो । तर त्यो उत्साहलाई बिस्तारै असन्तुष्टितर्फ धकेल्दै नेकपाको जम्बो जेट रोमाञ्चकारी उडानमा मस्तसँग यात्रा गरिरहेको छ । 

पार्टी एकता भएको दुई वर्ष पुग्दासम्म पनि एकताका कामले पूर्णता पाउन सकेका छैनन् । नेपाली कम्युनिस्ट आन्दोलनमा निकै ठूलो त्याग, तपस्या र समर्पण गरेका हजारौँ नेता र कार्यकर्ताहरु आज पनि जिम्मेवारीविहीन अवस्थामा छन् । पूर्णता नपाउँदा निकै लामो बहस र छलफल पश्चात टुङ्गो लागेका विभागीय नेतृत्वहरुले समेत आफ्ना काम कारबाही अघि बढाउन सकिरहेका छैनन् । जनवर्गीय सङ्गठनहरु पूर्णरूपले काम गर्ने अवस्थामा छैनन् । पार्टीका आयोगले समेत पूर्णता नपाउँदा आफ्ना कुनै पनि कामहरु अघि बढाउन सकिरहेका छैनन् । यसरी पार्टीको आन्तरिक जीवन अस्तव्यस्त भएर अघि बढिरहँदा जिम्मेवार नेतृत्व भने पार्टीको यो महत्त्वपूर्ण कार्यभन्दा बाहिर रोमाञ्चक उडानको आनन्द लिँदै अघि बढिरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको काँधमा निकै ठूलो जिम्मेवारीको भारी छ । नेपाली जनताको आशा, भरोसा र विश्वासको केन्द्र भएकाले पनि देश र जनताप्रतिको उच्च जिम्मेवारी बोध हुनु आवश्यक छ । यही जिम्मेवारी बोधको कारण नै नेकपा ले सिंगो देशलाई अग्रगामी दिशामा अघि बढाउने ऐतिहासिक र चुनौतीपूर्ण अवसर प्राप्त गरेको छ । यो जिम्मेवारी पूरा गर्ने क्रममा स्वाभाविक रूपमा यात्रा सहज र सरल हुँदैन । वस्तुगत परिस्थिति र विरोधीले खडा गर्ने चुनौतीका कारण पनि यात्रा जटिल हुने गर्दछ । तर दुई अध्यक्षले चलाएको नेकपाको जेट विमान वस्तुगत परिस्थिति कम र बढी आफ्नै कारणले रोमाञ्चक यात्रा तय गरिरहेको छ । पार्टी जीवनका तमाम समस्याहरुलाई थाँती राखेर गरिएको यो रोमाञ्चकारी उडानले गन्तव्य हाँसिल गर्न सक्छ कि सक्दैन भन्ने बहस यतिबेला व्यापक बनिरहेको छ । 

नेकपाको यो उडानलाई रोमाञ्चकारी बनाउने केही कारणहरु अवश्य छन् । पहिलो र मुख्य कारण त चालकहरु नै हुन् । दुवै अध्यक्ष सामान्य किसान परिवारमा  जन्मिएर आफ्नो व्यक्तिगत र राजनीतिक जीवनमा निकै ठुल्ठुला चुनौतीहरूसँग खेल्दै आएकोले पनि उहाँहरुले सचेततापूर्वक नेकपालाई रोमाञ्चकारी यात्रामा अघि बढाउन खोज्नु भएको हुनसक्छ । तर आज परिस्थिति विगतको भन्दा अलि भिन्न भएको हुनाले यो किसिमको जोखिमपूर्ण यात्रा आफ्ना लागि मात्र होइन नेकपाका लागि समेत आत्मघाती सावित हुनसक्छ । किनकि देशको समग्र भविष्यको बागडोर समालेको पार्टीले आफ्ना गतिविधिहरू जिम्मेवारीपूर्ण तरिकाले नै अघि बढाउनुपर्ने हुन्छ ।
अर्काे कारण भनेको वस्तुगत परिस्थितिले सिर्जना गरेको हो । वर्तमान परिस्थितिले केवल कम्युनिस्टहरुका लागि मात्रै चुनौती सिर्जना गरेको छैन । संसारभरि पुँजीवादी विचार र व्यवस्थामाथि सबभन्दा बढी भयानक खतरा आज सिर्जना भइरहेको छ ।

 महामारी नियन्त्रणका क्रममा तिनले अवलम्बन गरेका नीति र योजनाहरु जसरी असफल हुँदै गए त्यसले पुँजीवादी विचारलाई नै सङ्कटको भूमरीमा धकेलिदियो । पुँजीवादको उच्च र विकसित रूप साम्राज्यवादी संरचना र त्यसले आफ्ना नागरिकमाथि गरेको बर्बर दमन र उत्पीडन यतिखेरै विस्फोटक रूपमा देखापरेको छ । विश्वव्यापी रूपमा देखापरेको यो अवस्था कम्युनिस्टहरुका लागि त झन् अनुकुल अवस्था हो । यस्तो बेला नेकपाले आफ्नो यात्रालाई सहज, जिम्मेवारीपूर्ण र गतिशील बनाउन जरुरी छ । 

नेकपाको यो उडानलाई विशेष गरी दुईवटा विषयले रोमाञ्चकारी बनाइरहेका छन् । एउटा राष्ट्रियताको मुद्दा र अर्काे नेकपाको आन्तरिक राजनीति । राष्ट्रियताको मुद्दा भारतले हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै नेपाली भूमि अतिक्रमण गरेर सडक विस्तार गरिसकेपछि सतहमा देखापरेको हो । सरकारको नेतृत्व गरेको हिसाबले यो मुद्दाले नेकपाको राजनीतिक भविष्यमा समेत दूरगामी प्रभाव पार्ने निश्चित छ । राष्ट्रिय जिम्मेवारी र दायित्वका अन्य भूमिकाहरुका अलवा मूलरूपमा नेकपाले यो विषयलाई उच्च कूटनीतिक चातुर्यताबाट तार्किक निष्कर्षमा पुर्याउनै पर्दछ । तर यो विषयलाई भावावेशमा वा हल्का ढङ्गले समाधान गर्ने सोचियो भने नेकपाको राजनीतिक यात्रा मात्रै होइन देशको स्वाधीनता र अस्तित्व नै धरापमा पर्न सक्छ । त्यसैले विमानलाई रोमाञ्चक यात्राबाट निकालेर सहज यात्रातिर अघि बढाउनु नै नेतृत्वको बुद्धिमता ठहर्दछ । 

पार्टी एकताको सुरुवातदेखि नै नेकपाको आन्तरिक जीवन सहज ढङ्गले अघि बढ्न सकेको छैन । यसमा मूल रूपमा समस्याको कारक भनेको सरकार सञ्चालन सम्बन्धी दृष्टिकोण नै हो । पार्टीले सरकार सञ्चालन गर्ने कि सरकार अलग ढङ्गले सञ्चालन गर्ने भन्ने सवाल व्यावहारिक रूपमा अहिलेसम्म पनि हल भइसकेको छैन । सरकारले गरेका राम्रा नराम्रा कामहरूको बारेमा पार्टीमा बहस हुनु स्वाभाविकै हो ।

पार्टीमा चल्ने यस्ता छलफलले सरकारलाई जनताप्रति थप जिम्मेवार भएर काम गर्न मद्दत नै हुने गर्दछ । तर पार्टीमा यस्ता विषय उठ्नासाथ सरकार र सरकार को वरिपरि रहेका नेता र कार्यकर्तामा रहेको सङ्कीर्णताका कारण सरकारै ढल्ने हो कि भन्ने छटपटाहट पैदा हुनाले नेकपाको आन्तरिक जीवनले उडानमा समेत रोमाञ्चकता पैदा गरेको छ । यसरी अघि बढ्नु पार्टी जीवनका लागि समेत सुखद् विषय होइन । यसले आन्तरिक जीवनमा दूरी पैदा गर्ने र दुर्घटना निम्त्याउने सम्भावना रहन्छ । त्यसैले जिम्मेवार नेतृत्वले यो विषयमा समेत गम्भीर भएर अघि बढ्न जरुरी छ । पार्टीमा निरन्तर बहस र छलफल गरेर नै यो समस्याको उचित समाधान प्राप्त गर्न सकिन्छ । 

गम्भीर र महत्त्वपूर्ण कुरा त के छ भने विश्व महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रण गर्ने सम्बन्धमा पार्टीका आधिकारिक निकायहरुमा ठोष रूपमा बहस भएकै छैन । सरकारले लिएका नीति दिनप्रतिदिन असफल मात्रै भएका छैनन् तिनले आमजनतामा समेत नकारात्मक प्रभाव पारिरहेका छन् । आफ्ना नागरिकप्रति सरकारले स्पष्ट रूपमा विभेदकारी व्यवहार गरिरहेको छ । विपत्तिको यस घडीमा राज्यका जिम्मेवार निकायमा जनताको सेवाप्रति चरम उदासीनता र राज्यकोषको दोहन र भ्रष्टाचारका आशक्ति देखा पर्नु विडम्बनाको विषय बनेको छ । यस्ता गम्भीर विषयमा यत्रो विशाल पार्टीको नेतृत्व गरेको प्रमुख चालक नै बेखबर भएर बस्नाले विमान सही ढङ्गले अवतरण हुन सक्छ ? आज प्रत्येक नेकपाका नेता कार्यकर्ता र समर्थक मात्र होइन आम नागरिकले प्रश्न गरिरहेका छन् । 

आजको यो सङ्कटमा कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वमा सञ्चालित सरकारले आफ्नो भूमिकालाई झन् धेरै प्रभावकारी बनाउनुपर्दछ । दस वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलन पश्चात जनताका प्रतिनिधिहरूद्वारा निर्माण भएको संविधान कार्यान्वयनको चरणमा आज हामी छौँ । हुने बिरुवाको चिल्लो पात भनेझैँ अथवा बिहानीले दिनको सङ्केत गरेझैँ यो सरकारले जनताको साथमा रहेर आफ्ना भूमिकालाई जिम्मेवारीपूर्वक पूरा गर्नुपर्दछ । सरकार गठनको सुरुवातदेखि नै आम जनता र कार्यकर्ताको यस किसिमको भावनालाई सरकारले गम्भीरताका साथ सम्बोधन गर्न सकेको छैन । जसले गर्दा आमजनतामा असन्तुष्टि र निराशा बढ्दै गइरहेको छ । सरकारका नीति, कार्यक्रम र बजेटले जनताको त्यो निराशालाई आशामा बदल्ने ऐतिहासिक अवसर पनि गुमिसकेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा नेकपाको नेतृत्वले हालसम्म गरिरहेको रोमाञ्चकारी उडान छिटोभन्दा छिटो अवतरण गर्नुपर्ने देखिन्छ । पार्टी एकताका बाँकी रहेका सम्पूर्ण कार्यहरुलाई अविलम्ब सम्पन्न गर्नुपर्ने देखिन्छ । जसले गर्दा आम नेता र कार्यकर्तामा पैदा हुने जिम्मेवारी बोधले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्नेछ । आमजनतालाई चुनौतीपूर्ण यस घडीमा नेतृत्व प्रदान गर्न पनि यो कार्य गर्नु अनिवार्य छ । सङ्कटको बेलामा पार्टी जीवनलाई जति गतिशील बनायो त्यति नै छिटो समाधान पनि प्राप्त गर्न सकिन्छ । रोमाञ्चकारी यात्राले क्षणिक आनन्द प्रदान गर्छ तर दुर्घटनाको जोखिम पनि त्यतिकै मात्रामा रहेको हुन्छ । यतिबेला नेकपालाई सही दिशातर्फ अघि बढाउनको लागि विमान चालक र चालक दलका सदस्यहरु समेत गम्भीर भएर विमानलाई अवतरण गर्न आजको अपरिहार्य आवश्यकता हो । समस्या धर्तीमा छ, सङ्कट मानव जीवनमा छ । त्यसैले समाधानको खोजी पनि त्यहीँबाट गरिनुपर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झकबहादुर मल्ल (सुदीप)
झकबहादुर मल्ल (सुदीप)
लेखकबाट थप