केन्द्रीय संस्करण

मैले देश खोजिरहेछु

person explore access_timeजेठ २७, २०७७ chat_bubble_outline0

डा. महेन्द्रकुमार मल्ल

हिँड्दा पनि मन खुसी थिएन
पुग्दा पनि मन खुसी थिएन
जिन्दगी चारोका लागि उडिरहने पंक्षीझैँ रहेछ
कर्तव्यपथको पदचापले
प्यारो मातृभूमिमा बसिखान दिएन।
                        (१)
पाखुरी दासतामा बेच्नु थिएन
आँसु पराइसामु झार्नु थिएन
भारी थियो भरण र पोषणको
गोरुका गर्धनझैँ पाटिएका बाबाका काँधहरूले
हुर्केको छोरोलाई हेरेर बसिरहन दिएन।
                            (२)
संगिनीका छेडिएका कानहरूमा
चमचम चम्कने झुम्काना थिएन
आँखाहरूमा बहिनीको आशा झल्कन्थ्यो
नाकमा उनको नथिया थिएन
फक्रदोँ त्यो सौन्दर्य
निखार्ने उनको चौबन्दी थिएन
चाउरिएका मुजाहरूको निधार भए पनि
आमाको ममताले जीवनमा आँधी आउँन दिएन।
                           (३)
पछ्याउँदा पछ्याउँदा पूर्णिमाका रातहरू
जून अरु कसैको भएपछि
कुर्दाकुर्दा उज्यालोका रश्मिहरू
घाम बादलसँगै उदाएर अस्ताएपछि
एक अञ्जुलि पानीको पर्खाइमा बसिरहँदा
किर्ते कागजमा नदीहरू सुक्दै गएपछि
प्यास कहाँ मेटिदो रहेछ र ?
वस्तीको मुखिया नै तिर्खाएपछि !
                          (४)
उसको भाषणले चूह्लोमा आगो बलेन
रातो किताबमा बुनिएका कम्बलहरूले
शिशिरको सिरेटो छलेन
बोलीहरूमा विश्वास हुन्छ भन्थे उनी   
उनी आफै नै पुत्रमोहका धृतराष्ट्र बनेपछि
गालामा स्याउ र ओँठमा गुलाफ फुलेन।
                             (५)
तीस मुरी धान फल्ने बाबाको तल्लो खेत बेचेर
मुटु बिझाउँदै बुझेको त्यो थैली
रोजगारीको राजमार्ग खोल्दिने
मल्लो गाउँका माइला दाज्यूका खल्तीमा राखिदिएपछि
बनेको हरियो पासपोर्ट हातमा लिँदै मन अमिलो पारेर
अनि सैयौँ सपनाहरू बुन्दै समुन्द्र पार गरेको
हिजोझैँ लाग्छ
वनमा काफल र बारीमा तिँदु पाक्यो होला
तातेताते गर्ने त्यो प्यारे मेरो के गर्दै होला
अचेल त्यो गाउँ आफैलाई बिरानो लाग्छ।
                           (६)

                          
आमा ! तिम्रो मातृवात्सल्य कहाँ छ ?
बाबा ! तिम्रो अँगालोभरिको स्नेह कहाँ छ ?
सुगन्धहरूको फसल स्याहारुला भनेको त
प्रीय सखी,फूलहरूको व्यापार रहेनछ परदेश !
बहिनीको आशा र छोराको बालापनको के कुरा
मनभरि सम्झनाभरि छताछुल्ल छ मेरो देश
पसिनाले आफन्तीहरूको अनुहार उजिल्याउन
जुठा बर्तन माझिएन कि !
रेमिट्यान्सले योगदान राष्ट्रलाई पुर्याउन
कोठा र गल्लीहरूमा झाडु मारिएन कि !
यति बेला,पीडाका चीत्कारहरू पुग्दैनन् अरे बिडम्बना,बहिरो पो भएछ मेरो देश ।
                           (७)
आज बन्द कोठाभित्र

ज्वरोको डिग्री बढ्दै जाँदा
लाखौँ मानिसहरूको यो महानगर
सुनसान श्मशान देख्दैछु
खोकीले छाती चिरिदैँ चिरिदैँ जाँदा
माया हराएको यो सहरमा
प्रियाको न्यानो स्पर्श खोज्दैछु
ऐया आमा !
सास रोकिनै लागेको छ
मृत्युको शैय्याबाट यो पत्र लेख्दैछु
काँध हलुका नहुने भो रे
बाबालाई भन्दिनु
झुम्काना र नथिया पठाउन सकेन रे
प्रिया र बहिनीलाई भन्दिनु
कलम फ्याँकेर बारीका डल्लाहरू फोर रे
छोरालाई भन्दिनु
आमा !
सभ्यताको यति ठूलो सहरभित्र
आँसु पुछ्ने कोही भएन
मानवता पढाउने महाविद्यालयभित्र
पीडा बुझ्ने कोही भएन
डक्टर,नर्स,एम्बुलेन्सहरू
नश्ल र रङ्गको खेती गर्दा रहेछन्
आएर अउषधि खुवाउने यहाँ कोही भएन
आफ्नो र विरानो बुझ्दैछु आमा
अस्पताल जाँदा पनि त्यहाँ उपचारलाई बेड भएन
विकल्प मृत्यु बनिरहँदा यतिखेर
मैले मेरो परिवेश खोजिरहेछु
 न बुझ्न कोही आयो न लिन कोही आयो
लाखौँ नेपाली लास बनिरहँदा सडकमा
बचेको एक मुट्ठी सास पनि निसासिरहेछ
त्यसैले त मैले मेरो देश खोजिरहेछु ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.