बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाशकीय : रातोपाटी आठौँ वर्षमा प्रवेश

मङ्गलबार, २७ जेठ २०७७, ०१ : ४०
मङ्गलबार, २७ जेठ २०७७

डिस्कवरी न्युज नेटवर्कद्वारा २०७० जेठ २७ देखि औपचारिक रूपमा सञ्चालित समाचार पोर्टल रातोपाटी डटकम, कोरोना कहरकै बीच, आजबाट सात वर्ष पूरा गरि आठौँ वर्षमा प्रवेश गरेको छ ।

 सातौँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण पाठक, श्राेता-दर्शक, समाचार स्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं । तपाईंहरुको असीम माया र सद्भाव अनि हाम्रो निरन्तरको मिहेनतले यी सात वर्षमा रातोपाटी डटकम विश्वभर रहेका सबै नेपालीको साझा समाचार पोर्टल बन्न सफल भएको छ । 

 नेपाली जनताको दशकौंदेखिको संघर्ष र त्याग तथा नेपाल आमाका हजारौं सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । यो युगीन परिवर्तनको रक्षा र नेपालीको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिबद्ध छौं । सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्धसमेत बनाउन अनि हँसिलो जाति नेपालीको जीवनमा खुशीयाली थप्न हामी सदा प्रयत्नशील छौं।

 राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव सम्वर्द्धनप्रति हामी समर्पित छौं ।

डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ । 

 राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित रातोपाटी डटकममा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोस्ट हुन्छन् । त्यसैगरी, विश्वभर छरिएर रहेको नेपाली ‘डायोस्परा’का हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि । संघीय स्वरुपको पहिलो समाचार पोर्टल पनि हो रातोपाटी डटकम, जसमा सातै प्रदेशको समाचार प्राथमिकताका साथ प्रकाशित हुन्छ ।

रातोपाटी डटकमको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ। तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै लगइन गरेर वा ट्वीटर, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । नेपालकै पहिलो अनलाइन न्युज टेलिभिजन 'रातोपाटी अनलाइन टीभी'मार्फत् पनि हाम्रा समाचार वा अन्य प्रस्तुति हेर्न मिल्छ ।

 जनमानसमा सामान्यतया के छाप छ भने पत्रकारहरु नराम्रा विषयका, बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुंग भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन् । तर रातोपाटी डटकमको हकमा भने त्यो आरोप मात्र हो, सत्य होइन । किनभने हामी राम्रो काम गर्न खोज्नेलाई शुभ साइतको रातो टीका लगाइदिन्छौं । राम्रो काम सफलतापूर्वक सम्पन्न गर्नेलाई विजयको रातो अविर लगाइदिन्छौं ।
 हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिच्किचाहट रातो चिन्ह पनि लगाइदिन्छौं ।

प्रलोभनमा परेर नराम्रोलाई राम्रो र पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्दैनौं हामी । जो कसैले गरेको भएपनि राम्रो कामलाई राम्रो भन्छौं अनि जो कसैले गरेको किन नहोस्, नराम्रो काम छ भने नराम्रो नै भन्छौं । पेशाप्रतिको निष्ठाका कारण जे, जे हो त्यो भन्ने नैतिक बल हामीसँग छ ।    

हामी हेक्का राख्छौं, नागरिकको पनि कर्तव्य हुन्छ र राष्ट्रप्रमुख, सरकार प्रमुखहरुको पनि अधिकार हुन्छ । हाम्रो मुख्य दायित्व भने आवाजहीन आमनागरिकको हक-अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि मुख्यमन्त्री, प्रधानमन्त्री एवम् राष्ट्रपतिसम्मलाई आ-आफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो ।

नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आ-आफ्नो कर्तव्य र जिम्मेवारीमा- मुलुकको सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय हितको जगेर्ना गर्न, समाजमा अमनचयन राख्न, सुशासन र नागरिकलाई सेवा प्रदान गर्न, विकास निर्माण तीब्र पार्न- इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भन्ने हाम्रो अभिप्राय हुनेछ ।  

निजी क्षेत्रका गतिविधिमाथि पनि हामी निरन्तर निगरानी गर्छौं । नाफाखोर, बिचौलिया र भुइँफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु हाम्रो चुनौतीपूर्ण जिम्मेवारी हो ।

पत्रकारिताको प्रमुख हतियार हो, प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौं । त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उम्दा ठहरिन र लोकप्रिय बन्न सफल भएका छौं । तर, कोरोना महामारीका कारण पैदा भएका जटिलताले आगामी दिनहरु हाम्रा लागि पनि कठिनाइपूर्ण हुने खतरा टड्कारो छ । 

६ महिनाअघि चीनको उहान शहरमा उत्पन्न कोरोना भाइरस (कोभिड-१९) को प्रकोप फैलिएर यत्तिखेर विश्वव्यापी महामारीमा परिणत भएको छ । हामी नेपाली पनि यो महामारीको चपेटामा परेर रन्थनिनु परेको अवस्था छ ।

झन्डै तीन महिनादेखि मुलुक 'लकडाउन'मा छ, मानिस घर घरमै बन्दाबन्दीमा बस्न विवश छन् । जनजीवन कष्टकर बनेको छ। अब के होला, कसो होला भन्ने भयले समाज नै आक्रान्त छ । मुलुकको अर्थतन्त्र चौपट भएको छ l तर, कोरोना रोकथाममा निकम्मा साबित हाम्रो सरकारसँग यो महामारी नियन्त्रणपश्चातको राष्ट्रिय योजना र कार्यक्रमको स्पष्ट मार्गचित्रसमेत छैन । यस्तो धरातलीय स्थितिमा जनस्तरमा कसिलो हातेमालो गर्नुको विकल्प नै के हुन्छ र !

त्यसैले रातोपाटी डटकमको वर्तमान लोकप्रियता कायम राख्न र थप उचाइमा पुर्‍याउन हामीले सम्पूर्ण पाठक, श्रोता-दर्शक, समाचार स्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकबाट विगतमा भन्दा पनि बढी साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छौं ।

विजया शर्मा 
अध्यक्ष, डिस्कवरी न्युज नेटवर्क​ प्रालि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप