शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएको काँग्रेसको निष्कर्ष : देशभरबाट सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय

सोमबार, २६ जेठ २०७७, १९ : ५८
सोमबार, २६ जेठ २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्ष र अन्य सबैको निरन्तरको साथ, सुझाव र दबाबका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न, कोभिड १९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्वाट सुरक्षित राख्न पूर्ण रुपले असफल भएको बैठकको ठहर छ।

कोरोना रोकथाम  नियन्त्रणका लागि आफ्नो पार्टीका नेता कार्यकर्ता, विदेशमा रहेका जनसम्पर्क समितिहरूले भने आ-आफ्नो ठाउँमा क्रियाशिलतापूर्वक गर्नुपर्ने काम गरिरहेको काँग्रेसले जनाएको छ । पार्टी कार्यालय सानेपामा सोमबारको बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकारको देखाएको अकर्मण्यताका विरुद्ध उत्रिन पार्टीका सबै पंक्तिलाई निर्देशन दिएको छ । 

बैठकले पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर काँग्रेसले गरेको छ । 

आइसोलेसन सेन्टरसँगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा काँग्रेसले चित्रण गरेको छ ।

सोही अनुसार केन्द्रदेखि सबै जिल्ला कार्यासमितिले पनि सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । कोभिड- १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अकर्मण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा संघीय संसद, प्रदेश सभा र सबै जिल्लामा सक्रिय र सशक्त रुपले प्रस्तुत हुन बैठकले निर्णय गरेको छ ।

प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । यस्तै कोभिड- १९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरिएको छ ।

बैठकमा कोरोना महामारीमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमतिाको बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग उठाएको थियो । अझ राष्ट्रिय विपतिको यस्तो अवस्थामा स्वास्थ्य सामग्री खरीदमा अनियमितता तथा भ्रष्टाचारमा लिप्त भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको काँग्रेसको भनाइ छ । यस्तै काँग्रेसले राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार भइरहनु निर्लज्ताको पराकाष्ठाको संज्ञा दिएको छ । 

विज्ञप्तिमा भनिएको छ, 'कोभिड १९ नियन्त्रण गर्न काम गर्न नसकेको सरकार यस कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । नेपाली काँग्रेसको यो बैठक त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गर्दछ । हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यस सम्बन्धमा पनि तत्काल सार्वजनिक रुपमा जानकारी गराउन सरकारसँग माग गर्दछ ।'

मंगलबारदेखि संसदमा समेत यस विषयलाई जोडदाररुपमा उठाउने काँग्रेसको तयारी छ । संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको निष्कर्ष काँग्रेसले निकालेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकासँग माग गरेको छ । त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र संञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकको निर्णयमा भनिएको छ, 'कोभिड १९ बाहेक अन्य रोगका सम्बन्धमा खोप, औषधी, प्रतिरोधात्मक, उपचारात्मक सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गरियोस् । लकडाउनको अवधिमा सयकडौं मानिसहरुले आत्महत्या गरेका छन् । यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ । यस्ता समस्याको समाधानका लागि आवश्यक कार्य गर्न सरकारसँग माग गर्दछ ।'

कोरोना रोकथामको विषयमा संसदमा सरकारसँग सवाल जवाफमा नीति अख्तियार गरिने केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् । संग्रौलाका अनुसार कोरोना महामारीका कारण सडक संघर्ष सम्भव नभएकाले संसदबाट सरकारलाई जवाफदेही बनाउन परिपस्थिति हेरेर संसद अवरोधसम्म जाने विषयका बैठकमा छलफल भएको  छ । बैठकमा धारणा राखेका केन्द्रीय सदस्यले संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । 

बैठकमा वरिष्ठ नेता पौडेल, उपसभापति बिमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, डा. रामशरण महत, महेश आचार्य, प्रदिप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, कमला पन्त, शंकर भण्डारी, मीन विश्वकर्मा, गगनकुमार थापा, जीवन परियार, इश्वरी न्यौपाने, सीता गुरुङ्ग, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कडेल, डा. डिला संग्रौला, हरिप्रसाद नेपाल, अतहर कमाल मुसलमान, शिव हुमागाई तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रमा कोइराला (पौडेल) कृष्णकिशोर घिमिरे, दयाराम पाण्डे र भुमिबहादुर (विश्व) गुरुङ्गले आफ्नो धारणा व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप