असार १५ देखि दैनिक १० हजार जनाको पीसीआर परीक्षण गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन् । आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उनले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताए ।
मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा सर्वसाधारणकोे पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने उनको भनाइ थियो । अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको सो परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआर एक लाख ९७१ र आरडिटी एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ ।
नेपालमा तीन हजार ७६२ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु र ४८८ जना अस्पतालबाट डिस्चार्ज भएका छन । उनले सात प्रदेशमा सात ठूला मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले अहिलेको बन्दाबन्दी (लकडाउन) लाई सहजिकरण गर्न विज्ञसँग परामर्श भइरहेको बताए । मुलुकमा ७७ दिनदेखि लकडाउन जारी छ ।
उनले अहिले विनियोजित बजेट स्वास्थ्य सुधारका लागि पर्याप्त नभएपनि स्वास्थ्य क्षेत्रको बलियो जग बसाल्न सकिने धारणा व्यक्त गरे । मन्त्री ढकालले सर्वसाधारण जनतालाई दिइने स्वास्थ्य सेवाको गुणस्तरीय र आम नागरिकको पहुँचमा सेवाको वृद्धि हुने गरी आगामी वर्षमा स्वास्थ्यका कार्यक्रम सञ्चालन हुने विश्वास दिलाए ।
निरोगी नेपाल अभियान अन्तर्गत प्रदेश र स्थानीय तहसँग समन्वय गरी विभिन्न स्वास्थ्य कार्यक्रम, आयुर्वेद, प्राकृतिक चिकित्सा, होमोपेथिक तथा योग लगायतका वैकल्पिक उपचार पद्धतिमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिइएको मन्त्री ढकालले बताए । भौगोलिक र जनसङ्ख्याका आधारमा स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिने उनले बताए ।
स्वास्थ्य संस्थाका अहिलेको दरवन्दीमा पुर्नसंंरचना गरी आवश्यकता अनुसार तत्काल अस्थायी दरवन्दी स्वीकृत गरिने उनको भनाइ थियो । चिकित्सकलाई उच्च मनोवलका साथ काम लगाइने भन्दै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता र २५ लाख विमा गरिएको उनले जानकारी दिए । प्रत्येक स्थानीय तहमा एक चिकित्सक र एक चिकित्सक एक संस्थाको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम गरिने उनले बताए । गरिब, विपन्न, असाहय र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त बजेट विनियोजन गरिएको मन्त्री ढकालले बताए ।
खोप, पोषण, क्षयरोग, एचआईभी एड्स र अन्य महामारी रोगका लागि बजेट विनियोजन गरिएको छ । यो वर्षको कार्यक्रम अन्तर्गत ३०० बेडको सङ्घ र प्रत्येक प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल बनाइने बजेटमा उल्लेख छ । उनले पुराना अञ्चल अस्पताललाई २०० बेडमा स्तरोन्नति गर्ने र सङ्घमा रहेका पाँच वटा अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरी ५०० बेडको बनाउने बताए ।
कोभिड–१९ को रोकथाम, नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको भन्दै उनले कोभिड १९ को महामारी अरु देशको भन्दा हाम्रो देशमा सङ्क्रमण फरक रहेको बताए । उनका अनुसार नेपालमा २१ देखि ३१ वर्ष उमेर समुहलाई बढी सङ्क्रमण देखिएको छ । महामारी नियन्त्रणमाा १० अर्ब खर्च भएको सन्र्दभमा सोधिएको प्रश्नमा उनले सङ्घले ६ अर्ब ३ करोड, प्रदेशले एक अर्ब ८ करोड र ६४१ स्थानीय तहमा २ अर्ब ७६ करोड खर्च भएको जानकारी दिए । यस्तै दुई अर्ब ९२ करोड ५५ लाख ८९ हजार स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सामाग्री खरिदमा खर्च भएको उनले उल्लेख गरे ।
दक्षिण एशियामा राम्रो
दक्षिण एशियामा हामीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा राम्रो भूमिका खेलेको मन्त्री ढकालले उल्लेख गरे । प्रति १० हजारमा तीन हजार ३३७ जनामा परीक्षण गरिएको छ ।
सङ्गठनले प्रतिबन्ध लगाएको छैन
उनले विश्व स्वास्थ्य सङ्गठनले आरडिटी प्रतिबन्ध नलगाएको स्पष्ट पार्दै भने, ‘अध्ययन, अनुसन्धानका लागि आरडिटी परीक्षणमा प्रतिवन्ध लगाएको छैन । आरडीटी परीक्षण गर्दा पोजेटिभ देखियो भने पोजेटिभको आधारमा सङ्क्रमित भनेका छैनौ । सङ्क्रमण पुष्टि गर्नका लागि पीसीआर परीक्षण गरेका छौँ । आरडीटी स्क्रीनिङ्गका लागि मात्र परीक्षण गरिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन