केन्द्रीय संस्करण

लकडाउनमा मेरो अनुभव

person explore access_timeजेठ २६, २०७७ chat_bubble_outline0

२०७६ साल फागुन महिनाको तेस्रो सातातिर म अध्ययनरत स्कुल बूढानीलकण्ठका प्रिन्सिपल होमनाथ आचार्यले वीर अस्पतालका पूर्वनिर्देशक डा. भूपेन्द्रबहादुर बस्नेतलाई स्कुलको धौलागिरि सदनमा बोलाउनु भएको रहेछ |

डा. बस्नेतले  कोरोनाभाइरसका बारेमा के-के भन्नु भयो मैले खासै बुझिनँ | तर उहाँले नियमित रूपमा हात धुनुपर्ने कुरा भन्नुभएको याद छ | मलाई त्यो कुरा त्यति ठुलो जस्तो लागेन | हामीले हाम्रो दैनिकीलाई पछ्याउँदै अघि बढिराखेका थियौँ ।

तर एकदिन विद्यालयको नियमित कक्षा सकिएर आफ्नो सदनको सूचनापाटीमा हेर्दा त्यहाँ एउटा नयाँ  सूचना  टाँसिएको रहेछ | त्यस सूचनामा हाम्रो वार्षिक परीक्षा दुई हप्ता अगाडि सारिएको जानकारी गराइएको थियो | हामी अचम्मित भयौँ | कोही साथीहरु परीक्षाको तयारी भएको छैन भन्दै आत्तिदै थिए भने कोही चाँडै घर जान पाइने भइयो भन्दै खुसीले रमाउदै हल्ला गर्दै थिए |
 म भने न खुसी भएँ न दु:खी नै । साथीहरु सबैले आवश्यक तयारी गरी परीक्षा दिए | परीक्षा सकिएपछि होस्टेलका सबै साथीहरु घर गए |

म पनि घर आएँ र टिभी, मोबाइल र ट्याब्लेटमा रमाएँ | केही दिनपछि कोरोनाको कारणले लकडाउन हुने रे भन्ने कुरा बाबा/मम्मीबाट थाहा पाएँ | नभन्दै एकहप्तापछि लकडाउन भयो | यो लकडाउन भनेको के होला भन्ने ज्यादै खुल्दुली भयो | सुरुमा त एक/दुई हप्ताको लागि होला भन्ने लागेको थियो |

 त्यसैले खासै अफ्ठ्यारो महसुस गरिनँ तर केही दिनपछि भने मलाई झ्याउ लाग्न थाल्यो | परीक्षा सकिएपछि कालिन्चोकको केवलकार चढ्न जाने योजना बनाएको थिएँ | त्यसमा बाबा/मम्मी पनि सहमत हुनुहुन्थ्यो | नजिकैका साथीहरुसँग मिलेर घुम्न जाने र ड्राई पिकनिक खाने भन्ने पनि हाम्रो योजना थियो तर हाम्रा सबै योजनाहरु भताभुङ्ग भए |

म टिभी, मोबाइल र ट्याब्लेटमा मात्र भुल्दै गएँ | बेला बेलामा बाबा/मम्मीले गाली गर्नुहुन्थ्यो | गाली गरेको बेलामा म हेर्दैनथेँ तर उहाँहरुको आँखा छलीछली हेर्न छा्ड्दैनथेँ | मैले मोबाइल र ट्याब्लेटमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न केके गरे भन्ने हेरेँ | नेपालमा कुन-कुन राजाले राज्य गरे भन्ने पनि पढेँ| राणाशासन कति वर्षको थियो र त्यस कालमा कोको प्रधानमन्त्री भए भन्ने पनि थाहा पाएँ | एकदिन बाबाले मिदासको इ-क्लास लिन भन्नुभयो | म दिनको आधी घण्टा पढ्न थालेँ| बाबाले पढ्नुभएको किताब करोडौं कस्तूरी, एकादेशमा, अविराम बाबुराम जस्ता पुस्तकका केही पाठहरु पढेँ | मैले Geromino Stilton को Treasure Island भन्ने अंग्रेजी किताब पनि पढेँ | यो किताब मलाई सारै मन परेको छ |

वैशाखको दोस्रो हप्ताबाट स्कूलले अनलाइन क्लास सुरु गरेको छ | त्यसपछि साथीहरु र गुरुगुरुआमाहरुसँग अनलाइनमा भेटघाट भइराखेको छ र हाम्रो पढाइ पनि अगाडि बढिराखेको छ | हाम्रा अंग्रेजी शिक्षक प्रताप कट्टेल सरले हरेक दिन आधा घण्टा बीबीसी सुन्न भन्नुभएको छ | म बिहान उठेर भ्याएसम्म बीबीसी समाचार हेर्छु | बेलुकीको समयमा भने  नेपाल टेलिभिजन हेर्छु | समाचार हेरेर मैले संसद के हो ? सांसद को हुन् ? भन्ने जस्ता कुरा थाहा पाएको छु | त्यसैगरी नेपालको मिचिएको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा आदिको बारेमा विस्तृत विवरण थाहा पाएँ | यो भूमि फिर्ता ल्याउन हामी सबैले सरकारलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागृत भएको छ | हामी सबै नेपाली एकजुट भएर लागेमा मात्र हाम्रो गुमेको भूमि फिर्ता हुन्छ भन्ने विश्वास छ ।

यसरी बन्दाबन्दीमा अनलाइन कक्षाका अनुभव, परिवारसँगको घुलमिल, रेडियो, टिभीबाट समाचार, सिर्जनात्मक लेखनमा समय दिन पाइएको छ तर पनि मेरो मनले परीक्षा सकिएपछि घुम्न जान र पिकनिक जान नपाएको कुरामा चित्त बुझेको थिएन। जे भए पनि लकडाउनले केही नयाँ कुरा सिक्ने अबसर जुरायो, यसबाट अहिले चाहिँ खुसी लाग्न थालेको छ ।

संयोग पनेरु
कक्षा ६
बूढानीलकण्ठ स्कूल
नारायणस्थान, काठमाडौँ

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.