शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नडराऔं, कोरोना लाग्दैमा मरिहालिदैन !

‘कोरोना संक्रमणबारे जान्नु र बुझ्नै पर्ने २३ तथ्यहरु
सोमबार, २६ जेठ २०७७, ०१ : ४२
सोमबार, २६ जेठ २०७७

कोभिड–१९ रोग लगाउने सार्स–कोभ–२ नाम दिइएकाे कोरोनाभाइरसका संक्रमणबारे विभिन्न भ्रम तथा सत्य बाहिर आइरहेका छन् । कोरोना भ्रमको भूमरीमा परेका आम नागरिक हरेक सेकेन्ड डरको डरलाग्दो समस्याबाट ग्रसित हुँदै आएका छन् । कोरोना घातक रोग हो तर यसबाट सुरक्षित रहन सकिन्छ अनि कोरोना लाग्दैमा मरिहालिने पनि होइन भन्नेबारे आम नागरिकले बुझ्न जरुरी छ ।

आम नागरिकमाझ अहिले कोरोनाभाइरस र यसका सत्यतथ्यहरुबारे राम्ररी सूचनाहरु प्रचारप्रसार हुन सकेको पाइँदैन । त्यसकाे अभावमा उनीहरु सत्यतथ्य बुझ्न भन्दा पनि हल्लाको पछि लाग्दा डरत्रासको जीवन जिउन बाध्य भएका छन् । कोरोना भाइरसबाट हुने संक्रमण र यसबाट कसरी बच्ने र बास्तवमा यो के हो भन्नेबारे बुझ्नै पर्ने केही तथ्यहरु यस्ता छन् :

१. कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाद्यान्नबाट सर्दैन ।

२. संक्रमितसँग ५–१० मिनेट कुरा गर्दा पनि कोरोना सरिहाल्दैन ।

३. घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ प्रतिशतले घट्छ  । केही भाइरसमा मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन पनि ।

४. एन९५ मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी हुँदैन । सामान्य सर्जिकल मास्क तथा २ पत्रे कटनको मास्कलाई घाममा राखेर वा धोएर पनि प्रयोग गर्न सकिन्छ्र । अमेरिकालगायत विकसित देशमा पनि यो प्रचलन कायम छ ।

५. आफ्नो पावरको वा पावर आवश्यक नभए सस्तो ब्राण्डको चस्मा लगाउनु सुरक्षित हुन्छ । त्यस्तै डिस्पोजेबल वा धुन मिल्ने पन्जा लगाउँदा पनि सुरक्षित भइन्छ ।

६. संक्रमित व्यक्तिमा संक्रमण भएको ११ दिनपछि पुन परिक्षण गर्दा पोजेटिभ देखिए पनि सामान्यतया अरुलाई रोग सार्न सक्दैन ।

७. घर, कार्यालय तथा अन्य कार्यस्थलमा पर्याप्त उज्यालो र राम्ररी हावा आवातजावत गर्न सक्ने वातावरण भएमा कोरोनाभाइरस सर्ने सम्भावना कम हुन्छ ।

८. लामखुट्टे, झिंगा आदिबाट कोरोना संक्रमण सर्दैन ।

९. जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्ति बाहेक अरुलाई कोरोना संक्रमण भएपनि डराइहाल्नु पर्दैन । २ हप्ता घरमै आराम गर्ने, पोसिलो खाना खाने, हल्का व्यायाम गर्ने तथा तनाव ब्यवस्थापन गर्ने हो भने ९० प्रतिशत संक्रमितलाई आफै निको हुन्छ  ।

१०. रुघाखोकी लाग्दा कोरोना संक्रमण भयो कि भनेर डराइहाल्नु पर्दैन ।

११. नेपालमा देखिएको कोरोना संक्रमण ८५ प्रतिशत भारतबाट आएकाहरुमा देखिएको छ । त्यो समूहलाई सीमामा व्यवस्थित क्वारेन्टिन, स्याहार, परीक्षण, संक्रमितलाई आइसोलेशन र संक्रमण नभएकालाई आफ्नो थातथलोमा पठाउने हो भने सक्रमण जथाभावी फैलिने डरलाग्दो अवस्था आउँदैन ।

१२. नेपालमा सबैभन्दा सुरक्षित ठाउँ पहाडी तथा हिमाली जिल्लाका गाउँ हुन्  ।

१३. गुर्जो, तुलसी, बेसार, ज्वानो, अदुवा, अश्वगन्धा, मरिच, चिराइतो, नीम, अमला लगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछन् । कोरोना संक्रमणको उपचारमा यी जडिबुटीको सफल भूमिका धेरै देशमा देखिएको छ । यसको नियमित प्रयोग गर्दा रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ । तर यी जडीबुटीहरु नै चाहिँ कोरोना निको पार्ने औषधी हुन् भनेर के भ्रम पाल्नु हुँदैन । मूलतः यिनीहरु कोरोनालाई निको पार्ने औषधी नभई यिनले कोरोनासँग लड्ने मानिसको क्षमतालाई बलियो बनाइदिने काम गर्छ ।

१४. नेपालमा भएका अधिकांश मृत्यु कोरोनाले मात्र भएको हैन । परीक्षणमा कोरोना पनि देखिएको चाहिँ हो ।

१५. नेपालमा हालसम्म संक्रमितमध्ये ९० प्रतिशत जोखिम वर्गमा पर्दैनन् । तसर्थ मृत्युदर हामीले सोंचेभन्दा कम हुन्छ ।

१६. कोरोना अन्तर्राष्ट्रिय रुपमा महामारी भएर फैलिएको रोग भएकोले ठूलो प्रचारमा आएको हो । तर प्रचारमा आए जस्तो गरी भयानक रुपमा यो घातक छैन । विश्वभर यो ५ महिनामा भएको मृत्युलाई अघिल्लो वर्षको यही समयमा भएको मृत्युलाई तुलना गर्ने हो भने त्यति ठूलो फरक छैन ।

१७. मन भनेको शरीरको ड्राइभर हो । मन बलियो भयो भने हामी दुर्घटनामा पर्दैनौं । मन कमजोर भयो भने टल्किने गाडी भएपनि तथा सुन्दर सडक भएपनि दुर्घटना हुन्छ । त्यसैले, रोगसँग लड्न सक्छु भन्ने आत्मबल हामी सबैको हुनु जरुरी छ ।

१८. हामी आत्मअनुशासनमा बस्ने, उच्च मनोबल राख्ने अनि सकारात्मक सोच राख्ने हो भने संक्रमण भएपनि हामीलाई त्यस्तो ठूलो खतरा हुँदैन ।

१९. अन्य देश र हाम्रो देशको धरातलीय यथार्थता फरक छ, खानपान फरक छ, जीवनशैली फरक छ, जनघनत्व फरक छ, तसर्थ अन्य देशको अवस्था हेरेर डर मान्नु पर्दैन ।

२०. रोजगारी, लगानी लगायत व्यवसायको कारण धेरै व्यक्तिमा चिन्ता देखिएको छ । कोरोना संक्रमणको जगजगी लामो समय रहँदैन । त्यसपछि हाम्रो मेहेनतले जीवन अझै राम्रो हुनेछ ।

२१. हामीले आफुलाई समयअनुसार परिवर्तन गर्नुपर्दछ, हाम्रा ब्यवसाय परिवर्तन गर्नुपर्दछ । घाटा लाग्ने अवस्थामा कम घाटा खाने योजना बनाउनु पर्दछ । महामारीमा जीवनयापन गर्नको लागि हामीसँग धेरै विकल्प छन् । त्यसलाई चिन्न सक्नुपर्दछ ।

२२. परीक्षणको दायरा बढेसँगै संक्रमितको पहिचान हुनेछ । संक्रमितको पहिचान हुनु, संक्रमितलाई स्वस्थ व्यक्तिसँग मिसिन नदिनु सकारात्मक विषय हो  । यसले रोग नियन्त्रणमा ठूलो सहयोग गर्दछ ।

२३. मन, प्रकृति र चेतनालाई ध्यानमार्फत एकाकार गरेर मनलाई शान्त गराउने, स्वासप्रस्वासको अभ्यास गर्ने, मनोरंञ्जन गर्ने, खाली दिमाग नबस्ने, व्यायाम गर्ने, राति ८ घण्टा सुत्ने र सत्यको बाटोमा हिंड्ने गर्यौं भने कोरोनाले हामीलाई जित्न सक्दैन । हाम्रो जीवन सुखमय हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे जनस्वास्थ्यविद् हुनुहुन्छ ।

लेखकबाट थप