बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रिपोर्ट नेगेटिभ आएसँगै खुसी हुँदै घर फर्किए क्वारेन्टिनमा बसेकाहरु

आइतबार, २५ जेठ २०७७, २३ : ५३
आइतबार, २५ जेठ २०७७

 जुम्ला । कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको क्वारेन्टिनमा छिर्दा भारतबाट आउने धेरैको मनमा अनेक त्रास थियो, कोरोना पो भएको छ कि ? रिपोर्ट कस्तो आउला ? यस्तै यस्तै...’चौध दिनअघि यस्तै चिन्ता र त्रासका बीच जिल्लास्तरीय क्वारेन्टिनमा छिरेका यहाँका १ सय १९ जना निकै खुसी हुँदै घर फर्किएका छन् ।

कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेकाहरुको रिर्पोट नेगेटिभ आएसँगै उनीहरु खुसी हुँदै घर फर्किएका हुन् । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको टोलीले उनीहरुलाई घर फर्काउन गाडीको व्यवस्था गरेको थियो । गाडीसहित क्वारेन्टिनमा पुगेको टोली देख्दा एकाएक गडगडाहट ताली बज्यो । त्यो ताली खुसीको थियो । एकापसमा खुसी साटासाट भइरहेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट आएसँगै खुसी भएका उनीहरु भन्दै थिए–अव निर्धक्कका साथ घर,परिवार समाजमा बसिन्छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक मंगल रावलका अनुसार तातोपानीका ६, सिँजाका २३, कनकासुन्दरीका २२, पातारासीका ५, तिलाका ४०, चन्दननाथका ६ र हिमाका १७ जना एकैसाथ घर फर्किएका हुन् । यीनिहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । 

रजिष्टार विश्वराज काफ्लेले क्वारेन्टिनमा घर फर्कन पाउँदा सबैमा खुसीयाली छाएको बताए । उनले भने, ‘घर जान पाउँदा औधि खुसी थिए । खुसीले ताली बजाइरहेका थिए । एक आपसमा खुसी बाँड्दै थिए । यो जस्तो खुसीको दिन उनीहरुको लागि अरु छैन जस्तो थियो ।’

आइतबार क्वारेन्टिनबाट उनीहरु घर फर्कर्ने तयारी गर्दा गर्दै रात परिसकेको थियो । तर घर फर्कने चाहनाले उनीहरुलाइ रात भनिरहेको थिएन । घर पठाउनु अघि प्रमुख जिल्लाअधिकारी भुपेन्द्र थापाले घरमा गएर पनि थप होमक्वारेन्टिनमा बस्न सुझाव दिए । सामाजिक दुरी कायम गर्न, सरसफाइ गर्न र खानपिनमा पनि ध्यान दिन उनले आग्रह गरे ।

घर फर्किएका उनीहरुलाई बसको व्यवस्थापन जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको थियो । उनीहरुलाई बिदाइ गर्न प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोट, प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले, अस्पताल निर्देशक डा. मंगल रावल र जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटा क्वारेन्टिनस्थलमा पुगेका थिए ।

जेठ १९ गते त्यही कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा दुइ सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी सहित भारतबाट आएका १७ जनामा कोराना पोजेटिभ देखिएको थियो । जेठ २३ गते चन्दननाथ नगरपालिकाका ३ स्थानीयमा कोराना पोजेटिभ देखियो । प्राविधिक शिक्षालयको क्वारेन्टिन सील गरिएको थियो ।

त्यसपछि त्यो क्वारेन्टिमा बसेका अधिकांशलाई कोराना पोजेटिभ देखिन सक्ने अनुमान पनि गरिएको थियो । तर रिपोर्ट सबैको नेगेटिभ आएपछि जुम्लामा फैलिएको सन्त्रास कम भएको छ । 

‘सबैको त्रास कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमै थियो । यो रिर्पोटले जुम्ला सुरक्षित नै छ भन्ने आभाष दिलायो’ रजिष्टार काफ्लेले भने,‘‘त्रासपूर्ण माहोल सहज बन्यो । बाहिर उत्पन्न सबै त्रास हटे ।’

 प्रतिष्ठानले यसअघि पोजेटिभ देखिएकाहरुसँग सम्पर्कमा रहेका सबैको स्वाब परीक्षण गरेको थियो भने अहिले सबैको रिर्पोट नेगेटिभ नै आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उपेन्द्र न्यौपाने
उपेन्द्र न्यौपाने
लेखकबाट थप