शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्रीकै संरक्षणमा जापानमा चार्टर फ्लाइट, प्राधिकरणको सूचना लत्याउँदै व्यवसायीको कमाउ धन्दा

आइतबार, २५ जेठ २०७७, २३ : १७
आइतबार, २५ जेठ २०७७

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिवार मात्रै सूचना निकालेर नागरिकको उद्धार बाहेकका अन्य व्यवसायिक चार्टर उडान गर्न नदिने भनेपनि आइतबार जापानमा चार्टर उडान भएको छ । 

पर्यटनमन्त्री योगेश भट्टराईका निकट मानिने भगिरथ सापकोटाको योजनामा आइतबार जापानको नारितामा चार्टर उडान भएको हो । 

आइतबार राति ९ बजेर २५ मिनेटमा त्रिभुवन विमानस्थलबाट जापानको नारिताका लागि नेपाल एअरलाइन्स (नेपाल वायुसेवा निगम)को वाइडबडी विमान उडेको हो । 

२ सय ६६ यात्रु लिएर निगमको विमान जापान उडेको हो । जसमा २ सय ५३ जना इकोनोमी क्लासमा र १३ जना बिजनेस क्लासमा बसेर जापान गएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिवार मात्रै सूचना निकालेर फसेका नागरिकलाई उद्धारबाहेक अन्य कमर्सियल उडान गर्न नदिने बताएको थियो । तर, सूचना निकालेको अर्को दिननै प्राधिकरणले जापानको उडान भने रोक्न सकेन । 

हेर्नुहोस्, प्राधिकरणले शनिवार निकालेको सूचना


शनिवार जापानको नारिताका लागि उडान भरेको निगमको विमान सिरिन ट्राभलको नाममा बुकिङ गरिएको छ । जबकी सुरुमा नेपालस्थित जापानी दूतावासबाट लिइएको स्वीकृतिमा भने सुमेघ ट्राभलले यात्रु लैजाने गरी स्वीकृति लिइएको स्रोतले बताएको छ ।

 सुमेघ ट्राभल व्यवसायी भागिरथ सापकोटासँग सम्बन्धित छ । भागिरथ सापकोटा पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसालसँग समेत निकट रहेको बताइन्छ । 

सापकोटाको नाममा दर्ता रहेको गोटाली ट्राभल्समा घनश्याम भुसालकी पत्नीको समेत लगानी रहेको र कम्पनी दर्तासमेत उनकै नाममा रहेको स्रोतको दाबी छ । 

आइतबारको जापानको उडान पनि ट्राभल व्यवसायी भागिरथ सापकोटाले नै व्यवस्थापन गरेको भएपनि उनकै नाममा गर्दा समस्या आउने भएकाले उनले उक्त उडान सिरिन ट्राभल्सका नाममा गरेको स्रोतले बताएको छ । 

कमर्सियल चार्टर उडान बन्द गर्ने निर्णय गरेपछि पनि विमान कसरी उड्यो भन्ने रातोपाटीको प्रश्नमा त्रिभुवन विमानस्थलका जिएम देवेन्द्र केसीले हेडक्वार्टरबाटै  प्रक्रिया पूरा गरी पत्र आएकाले उडानको अनुमति दिएको बताए ।
 ‘तपाईँसँग कुटनीतिक पत्र छ त ?’ भन्ने प्रश्नमा कुटनीतिक पत्र भएको नभएको त्यो आफूलाई थाहा नभएको र पत्र भएपनि हेडक्वार्टरमै हुने बताए । 

पहिले नै स्वीकृति दिएकाले उडेको होः महानिर्देशक पोखरेल
शनिवार सूचना निकालेर कमर्सियल चार्टर उडान भर्न नदिने भनिएपनि आइतबार जापानको नारिताका लागि उडान भरेपछि रातोपाटीले प्राधिकरणमा महानिर्देशक राजन पोखेरललाई सम्पर्क गरेको थियो । 

आइतबार राति १० बजे महानिर्देशक पोखरेललाई सम्पर्क गरी कुटनीतिक पत्र छ भनेर सोध्दा उनले कुटनीतिक पत्र नभएपनि पहिले नै स्वीकृति दिइसकेकाले विमान उडेको स्पष्टीकरण दिए ।

 पोखरेलले भने, ‘आजको उडान पनि कमर्सियल चार्टर उडान नै हो । तर पनि हामीले सूचना निकाल्नुभन्दा पहिले नै उडान अनुमति पाइसकेको हुनाले आजको फ्लाइट भएको हो । भोलि अष्टे«लियाको क्यानबेरामा पनि उडान हुँदैछ । हामीले नयाँ उडानका लागि मात्रै रोकेका हौँ ।’ 

यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबार निकालेको सूचनामा भने कहिँपनि पहिले नै अनुमति पाइसकेको उडान नरोक्नेबारे उल्लेख गरेको छैन ।

सापकोटा भन्छन्, ‘बद्नाम गराउन खोजियो’
आइतबार भएको जापानको फ्लाइट पनि व्यवसायी भागिरथ सापकोटाकै भएको एक ट्राभल्स व्यवसायीले रातोपाटीलाई बताए । यद्यपि आफ्नै नामबाट गर्दा विवादमा आइने भन्दै उनले सिरिन ट्राभल्सको नाममा विमान उडाएको ती व्यवसायीको दाबी छ ।

 तर यस सम्बन्धमा सापकोटालाई सम्पर्क गर्दा उनले केही थाहा नभएको बताए । उनले भने, ‘आजको उडान मेरो होइन । मेरो ट्राभल्स भनेको गोटाली ट्राभल्स हो । अब क–कसले मलाई कहिले पर्यटनमन्त्री, कहिले कृषिमन्त्री त कहिले स्वास्थ्यमन्त्रीसँग जोड्छन् भने त्यो मेरो समस्या होइन । आजको उडानबारे मलाई केही पनि थाहा छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप