बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आरडिटी परीक्षण पछि घर पुगेका १ सय १३ जनामा कोरोना संक्रमण

आइतबार, २५ जेठ २०७७, १६ : १३
आइतबार, २५ जेठ २०७७

काठमाडौं । दैलेखमा क्वारेन्टाइनबाट घर फर्काइएको दुई दिनपछि १ सय १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दैलेखको नारायण नगरपालिकामा मात्रै आरडिटी परीक्षणको नतिजाको आधारमा घर पठाइएका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताए ।

दुई दिन अघिमात्रै आरडिटी परीक्षणका आधारमा घर पठाइएका ९५ जना  संक्रमतिलाई खोजेर आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । नारायण नगरपालिकामै  संक्रमित भएको थाहा नभएका करिब ७० जना घरमै रहेका र उनीहरुलाई सम्पर्क गरेर छुट्टै राख्ने तयारीमा जुटिरहेको खड्काले बताए । 

आरडिटी परीक्षणको नतिजाको आधारमा ढुक्क भएर घरमा गएका उनीहरुबाट समुदायमा कोरोना संक्रमण फैलिने जोखिम भएको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटकलअनुसार आरडिटी परीक्षणमा नेगेटिभ नतिजा आएकालाई घरमा पठाउने उल्लेख गरिएको छ । मन्त्रालयको प्रोटकललाई आधार मानेर आरडिटी परीक्षणमा नेगेटिभ आएकालाई घरमा पठाउदा गाउँ नै जोखिममा परेको हो । भारतबाट आएका ९५ जना संक्रमतिलाई १३ दिन भन्दा बढि क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी  पिसिरआर  विधिबाट परीक्षण गर्न पठाउँदा समयमै नजिता नआएका कारण संक्रमणको जोखिम झन् बढेको उनले बताए ।

पिसिआर परीक्षणको नतिजा आउन ढिला भएपछि आरडिटी परीक्षण गरेर उनीहरुलाई पठाइएको उनले बताए । घर पठाइएकामध्ये १ सय १३ जनाको पिसिआर विधिबाट परीक्षण नतिजा पोजेटिभ आएको २ दिन अघि मात्रै थाहा पाएको उनले बताए ।  क्वारेन्टाइमा बस्नेहरुको ८ दिनअघि मात्र पिसिआर विधिबाट परीक्षण गर्न स्वाब संकलन गरी सुर्खेत पठाइएको थियो । सुर्खेतमा प्राविधिक समस्या भएका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए ।

प्रतिष्ठानबाट नतिजा आउन ढिला भएपछि आरडिटी परीक्षण गरेर उनीहरुलाई घर पठाइएको हो । स्थानीय स्रोत साधनले मापदण्डअनुसार क्वारेन्टाइन–आइसोलेसन बनाउन समस्या भइरहेको समेत उनले बताए । ‘प्रदेश र केन्द्रिय सरकारको सहयोगमा भारतबाट फर्किएकालाई क्वारेन्टाइन, आइसोलेसन र परीक्षण गर्न सकिन्छ नभए स्थानीयतहलाई समस्या हुन्छ,’ उनले भने । 

संंक्रमितहरु घरमा गएका कारण दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकामा संक्रमण फैलिएर भयावह हुने अवस्था सृजना भएको जनप्रतिनिधिहरु बताउन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सहायक प्रमुख इन्द्र बहादुर क्षेत्रीकाअनुसार संक्रमितलाई सम्र्पकमा ल्याएर आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । स्वाब संकलन गरेर पिसिआर विधिबाट परीक्षणमा पठाएको १७ दिनसम्म नतिजा नआउँदा समस्या भएको उनले बताए ।

पिसिआर विधिबाट  गर्ने  परीक्षणको नतिजा कुन ठाउँबाट छिटो आउँछ, कहाँ स्वाब पठाउने भन्ने बारेमा छलफल भइरहको समेत उनले बताए । दैलेखमा हाल ९ हजार ३ सय ४२ जना क्वारेन्टाइनमा छन् । ३ सय ५२ जना आइसोलेसनमा रहेका छन् । क्वारेन्टाइमा बसेकालाई पिसिआर विधिबाट परीक्षण गर्न समेत समस्या भएको क्षेत्रीले बताए ।  कोरोना संक्रमणको उच्च जोखिम भएकाले  नारायण, दुल्लु नगरपालिका र महाबु गाउँपालिकामा शुक्रबार साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको उनले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप