बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जोखिममा सुरक्षाकर्मी, ५१ जनामा कोरोना संक्रमण

आइतबार, २५ जेठ २०७७, १४ : १३
आइतबार, २५ जेठ २०७७

लकडाउनको बेला जोकोही पनि प्रहरीलाई झुक्याएर काठमाडौँ छिर्न सक्ने भन्दै महानगरीय प्रहरी प्रभाग नागढुंगाले धादिङ र काठमाडौंको सीमा क्षेत्रमा पर्ने झ्याप्ले खोलामा ८÷१० जनाको समूहमा पहिलो चेकिङ प्वाइन्ट राखेको छ । 

यस्तै दोस्रो नागढुंगा चेकपोष्ट हो । नागढुंगा चेकपोष्टमा जनपथ प्रहरी मात्र होइन, सशस्त्र प्रहरी पनि खटिएका छन् । तर, कोहीलाई माथिको आदेशमा काठमाडौँ छिर्न दिने गरिएको छ भने प्रक्रिया नपुगेका तथा पहुँच नभएकालाई भने फर्काउने गरिएको छ । 

यतिबेला प्रत्येक जिल्लाको गौंडागौंडामा सुरक्षाकर्मीहरु परिचालन छन् । प्रत्येक चेक प्वाइन्टमा चेक गरिरहेका छन् उनीहरुले । आइतबार बिहानै काठमाडौँ प्रवेश गर्ने झ्याप्लेखोलामा बा४४प २९६० नम्बरको मोटरसाइकल हुत्तिएर आयो । 

ड्युटीमा रहेका प्रहरीले रोके । उनलाई काठमाडौँ छिर्न नपाउने बताए । त्यसपछि ती मोटरसाइकल चालकले आफूसँग रहेको वडाको सिफारिस पत्र देखाउँदै ‘छिर्न पाउनुपर्ने’ दावी गरे ।  

ड्युटीमा खटिएका ती प्रहरीले वडाको पत्र राम्रोसँग ओल्टाइपल्टाई गरेर हेरे । भलै उनको हातमा पञ्जा थियो, मोटरसाइकल चालकको मुखमा मास्कसमेत थिएन । 

ती मोटरसाइकल चालक चितवनको नारायणघाटदेखि यसरी नै वडाको पत्र देखाउँदै काठमाडौँको नाकासम्म आइपुगेका थिए । कोरोना संक्रमणको जोखिम कायमै रहँदा उनले सचेतना अपनाएको देखिँदैनथ्यो । 

पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा उपकरण बिनै फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी कोरोनाको उच्च जोखिममा रहेका छन् । फिल्डमा खटिँदा अन्यको सम्पर्कमा रहने हुँदा उनीहरु उच्च जोखिममा मात्रै छैनन् हालसम्म तीन वटै सुरक्षा निकायका ५१ सुरक्षाकर्मी संक्रमित भइसकेका छन् । 

सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन भनिरहँदा त्यही कुरा पालना गराउन उनीहरु सडकमा खटिएका हुन् । दैनिक मानिससँग सम्पर्क भइरहेको छ उनीहरुको । यदि कुनै यसैगरी सम्पर्कका आएका मानिसमा कोरोना संक्रमण रहेछ भने उनीहरुपनि स्वाभाविक रुपमा जोखिममा पर्छन् ।

सडकमा खटिएका अधिकांश प्रहरीको एउटै गुनासो छ– ‘कोरोना रोक्न सरकारले हाम्रो सुरक्षाको ख्यालै नगरी खटाएको छ । दिनहुँ सयौं व्यक्तिसँग सम्पर्क हुन्छ । १० रुपैयाँको मास्क लगाएर हामी कसरी सुरक्षित हुने ?’

३३ प्रहरी संक्रमित
लकडाउनको ७६ औं दिनसम्म आइपुग्दा कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३३ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना छन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीका अनुसार संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रदेश २ मा प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये ७ जना निको भएर ब्यारेकमै आराम गरिरहेका शाहीले बताए । उनका अनुसार २ नम्बर प्रदेशसभामा खटिएका प्रहरीका ५ मर्यादापालक समेत संक्रमित छन् । 

कोरोना संक्रमणको विपदका बेला नेपाली सेना र सशस्त्र प्रहरी बल मुख्य जिम्मेवारीमा छ । लकडाउनको कार्यान्वायनदेखि सीमा क्षेत्रको निगरानी र क्वारेन्टाइन व्यवस्थापनसम्म उनीहरुको जिम्मेवारीमा छ ।

आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल आफ्ना सम्पूर्ण ड्यूटीलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सक्रिय छ । 

सरकारले लागू गरेको लकडाउनमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै तीनवटै सुरक्षा निकालयले स्थानीय स्तरमा समेत जनचेतनामा अभिवृद्वि गर्न माईकिङलगायत विभिन्न प्रयासहरु गरिरहेको छ ।

१३ जना नेपाली सेना संक्रमित
लकडाउनको ७६ औं दिनसम्म आइपुग्दा सीमा सुरक्षादेखि क्वारेन्टाइनको मुख्य जिम्मा पाएको नेपाली सेनाका १३ जना संक्रमित भएको सैनिक मुख्यालयले जनाएको छ । 

नेपालभित्र ७ जना मात्र संक्रमित भएको सेनाका सहाकरथी तथा सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जसमा ६ जना गण्डक अस्पताल र एक जना धनुषामा संक्रमित रहेको पाण्डेको भनाइ छ । 

यस्तै मिसनमा गएका नेपाली सेनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता पाण्डेका अनुसार साउथ सुडान गएका ३ जना, कारमा २ जना र मालि मिसन गएका २ नेपाली सेनाका कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना संक्रमण देखिएकामध्ये ४ जना निको भइसकेको पाण्डेले बताए । 

सशस्त्र प्रहरी पनि संक्रमित
सीमा सुरक्षा र लकडाउन कार्यान्वयनमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ५ जना सशस्त्र कर्मचारमा कोरोना देखिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । 

सशस्त्र प्रहरीका डीआईजी तथा प्रवक्ता प्रविण कुमार श्रेष्ठका अनुसार कपिलवस्तुमा दुईजना, काठमाडौँमा एकजना, तहह्रथुममा एकजना, झापामा एकजनामा कोरोना संक्रमण देखिएको हो । जसमा तेह्रथुममा देखिएका कर्मचारी निको भएर फर्किसकेको डीआईजी श्रेष्ठले बताए ।

घरबाट ड्युटी गर्नेलाई घरपायक पर्ने स्थान मिलाएको डीआईजी श्रेष्ठले बताए । यसरी ड्युटी गर्दा ब्यारेकमा भएका र घरबाट आउनेमा संक्रमण भइहाले नफैलिने आशंकाले यस्तो गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप