केन्द्रीय संस्करण

कोरोनाको मार : ‘कामकाजीमा ट्रिपल लोड, बालबालिकामा भर्चुअल’

person explore access_timeजेठ २५, २०७७ chat_bubble_outline0

लकडाउनका कारण अहिले ‘वर्क फ्रम होम’ को अवधारणालाई प्रयोग गरिएको छ । यो अवस्थामा कामकाजी अझ भन्नुपर्दा महिलाहरु कार्यालयको काम, घरको काम अनि बालबालिकाको स्कूल पनि घर मै हुँदा ट्रिपल लोड धान्न बाध्य छन् । एकातिर कोरोनाको त्रास अर्को तिर कामसँगै घरपरिवार अनि बालबच्चा ।

महामारीले विद्यार्थीहरुको पठनपाठनमा ठूलो असर गरेको छ । हाल विद्यालय तथा कलेजहरुले भर्चुअल (अनलाइन) कक्षा संचालन गरिरहे पनि यसको पहुँच कति विद्यार्थीसम्म छ भन्ने यकिन छैन । र यसको प्रभावकारिताबारे पनि प्रश्न उठिरहेका छन् ।

एसइईको तयारीमा रहेका विद्यार्थीको परिक्षा अन्यौलमा छ भने भर्खर स्कूल जान थालेका साना बाबुनानीहरुको सिकाइमा अवरोध भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अव भर्चुअल कक्षाबाटै भएपनि नयाँ सत्रलाई निरन्तरता दिनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले एसइईको वार्षिक क्यालेन्डर खेर जान नदिने बताइसकेका छन् । 

त्यसैगरी, शिक्षामन्त्री गिरीराजमणी पोखरलले निजी विद्यालयलाई भर्ना कार्यक्रम सञ्चालन गर्न मौखिम सहमति दिए। उनले असार १ देखि वैकल्पिक विधिबाट पठनपाठन सुरु गर्ने बताएपनि निजी विद्यालयले एकलौटी रुपमा घोषणा गरी पठानपाठन गराइराखेको छ । 

लकडानका कारण अहिले अवलम्बन गरिएको वर्क फ्रम होम, घर परिवार अनि बालबच्चालाई कसरी सँगै व्यवस्थापन गर्ने त ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागमा कार्यरत मनोविद् सन्देश ढकालका सुझाव यस्ता छन् ।

वर्क फ्रम होम अर्थात घरबाटै काम

–सवैभन्दा पहिला कामको प्रकृति हेरेर समय विभाजन गर्न सकिन्छ । जस्तोः कार्यालयको काम, बालबालिकाका लागि अनि घरका लागि भनेर भिन्न समय तोकौं तालिका बनाएर समय विभाजन गरौं ।

–घरबाट काम गर्दा पनि कार्यालयले आठ घण्ठा कै अपेक्षा राखेको हुन सक्छ यस्तोमा कार्यालयले पनि बुझ्नुपर्छ । किन कि अहिलेको परिस्थिती भनेको पहिलाको जस्तो छैन र त्यो रफ्तारमा त्यो पनि घरबाट काम गर्न कठिन नै हुन्छ ।

–लकडाउनका कारण सवैजना घरमै रहने हुँदा परिवारका सदस्यको अपेक्षा घरको काम गरिदियोस् भन्ने हुन सक्छ तर यो समय कार्यालयको हो भन्नेबारे परिवारका सदस्यले पनि बुझिदिनु पर्छ । जसले गर्दा काममा केन्द्रित हुन सकिन्छ ।

–कार्यालयको काम गर्दा पनि घरका सानातिना कामले ध्यान केन्द्रिकृत हुन दिँदैन त्यसैले कार्यालयको समयमा बच्चाबच्चा र घरपरिवारबाट अलग्ग भएर गर्ने । बेला बेला टि ब्रेक, लन्च ब्रेक लिने र केही समय बालबच्चालाई पनि दिने ।

–अनिश्चितताका कारण उव्जिएको परिस्थितीले पारेको मानसिक असर र त्यसमाथि कार्यालय अनि घर परिवार सवैतिरबाट घेरिदा अर्को मानसिक समस्या नआओस भन्नका लागि सचेत हुन जरुरी हुन्छ ।

अनलाइन कक्षा र बालबालिका

वास्तवमा भर्चुअल कक्षा कति उपयोगी छ र बालबालिकाका लागि यो कत्तिको सुरक्षित विधि हो भन्ने बारे मनोविद् ढकाल यसलाई केही समयका लागि वैकल्पिक उपायका रुपमा मात्र हेर्न सकिने बताउँछन् ।

उनी अहिले हामीकहाँ संचालन भएका भर्चुअल कक्षा वैकल्पिक उपाय मात्र भएको र बालबालिकालाई पढेका कुराहरु विर्सिन नदिन र अपडेट गराइराख्नको लागि एउटा विकल्पको रुपमा लिन सकिने बताउँछन् ।

बालबालिकाको पढ्ने लेख्ने बानीमा परिवर्तन नआओस् भन्नका लागि यो उपाय केही हदसम्म ठिक भएपनि स्कूलको जतिनै समय बालबालिकालाई भर्चुअल (अनलाइन) कक्षामा राख्नु चाहिँ गलत हुने ढकाल बताउँछन् ।

लामो समयसम्म स्क्रिन अगाडी बस्दा बालबालिकाको मानसिक, शारिरिक र सिर्जनशिलताको विकासमा वाधा पुग्ने भएकाले यस्ता कक्षा लामो समयसम्म गर्नु हुँदैन ।

मनोविद् ढकाल भन्छन्, ‘बालबालिकाले यतिकै समय खेर फालिरहेको अवस्थामा केही हदसम्म ठिक भएपनि यसलाई निश्चित समयका लागि मात्र गरिनुपर्छ । विद्यालय अनि अविभावकले यसलाई आदत नै बनाएर कोर्स सिध्याउने तिर जानु हुँदैन यसले लामो समयसम्मका लागि नकारात्मक असर पार्न सक्छ ।’

अनलाइन शिक्षण विधि र विद्यार्थीलाई अगाडी राखेर पढाउने शिक्षण विधिमा धेरै नै फरक हुन्छ । त्यसबारे सवै सचेत हुनुपर्छ । अझ सवै उमेर समूहका बालबालिकाका लागि यो उत्तिकै उपयोगी पनि हुँदैन । जस्तोः प्रि–स्कूलका बालबालिकालाई मोबाइल, ट्याब हेरेर सिक्ने बानी गराउनु विल्कुलै हुँदैन । यो उमेरमा बानी पर्यो भने जीवनभर टुटाउन गार्हो हुन्छ । त्यसैले बालबालिकालाई कथा, कविता, गीतका माध्यमबाट अविभावकले घर मै सिकाउने प्रयत्न गरिनुपर्छ र स्कूलले पनि यो शिक्षण विधिलाई स्क्रिन कम र अन्य क्रियाकलापमा अविभावकलाई पनि सामेल गराएर सिकाउने तिर जोड दिनुपर्छ ।

बालबालिकाको मनोविज्ञान

–लकडाउनका कारण विद्यार्थीहरुको मनोविज्ञानमा कस्तो असर परिरहेको छ भन्ने बारे अविभावकले विशेष ध्यान दिनुपर्छ । बालबालिकाको हेरविचार र उनीहरुलाई खाली समयमा कसरी रचनात्मक बन्नेतर्फ ध्यान दिनुपर्छ ।

–बालबालिकालाई अहिलेको परिस्थितीबारे जानकारी गराउने र यस्तो परिस्थितीको सामना गर्नेतर्फ तयार पर्ने । अविभावकको क्रियाकलाप बालबच्चाले नजिकबाट नियालीरहने भएकाले त्यसमा विशेष ध्यान दिन अत्यन्त आवश्यक छ ।

–यो समयलाई एउटा अवसरको रुपमा हेर्ने । यति लामो समय बाबु आमाले आफ्ना बालबच्चाको लागि समय दिन पाएको सायदै होला । त्यसैले यो समयको सदुपयोग गरौं । यो समयमा बालबालीकालाई सहयोग पुग्ने धेरै कुराहरु गर्न सकिन्छ । जस्तोः उनीहरुलाई घरको काम सिकाउने, सरसफाई, खाना बनाउन, गार्डेनिङ, रचनात्मक क्रियाकलाप गराउने । हामीले जानेका जीवनोपयोगी धेरै कुराहरु छन् ती आफ्ना बालबालिकालाई सिकाउन सकिन्छ ।

–बालबालिकाले अविभावकलाई र अविभावकले बालबालिकालाई नजिकबाट चिन्ने अवसर हो यो । एकअर्काको स्वभाव, आवश्यकता अनि व्यवहारको बारेमा पनि थाहा पाउन सकिन्छ ।

प्रस्तुति: टुना भट्ट

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.