शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम (पश्चिम)का डेढ सय विपन्नले नयाँ घर पाउँदै

शनिबार, २४ जेठ २०७७, १९ : २४
शनिबार, २४ जेठ २०७७

रुकुम । रुकुम –पश्चिम)का झण्डै डेढ सय विपन्न परिवारले नयाँ घर पाउने भएका छन् । कर्णाली प्रदेश सरकारको जनता आवास कार्यक्रममार्फत जिल्लाका १२९ घर परिवारका लागि नयाँ घर बन्न लागेका हुन् ।  चालु आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तभित्र जिल्लाका ६ स्थानीय तहमा घर नहुँदा आफन्तका शरणमा बसिरहेका, छाप्रो बनाएर बसिरहेका र घर जीर्ण भई जोखिममा रहेका तथा घर निर्माण गर्ने क्षमता नभएका विपन्न, दलित तथा सीमान्तकृत समुदायका परिवारले नयाँ घर पाउँदै छन् ।     

जनता आवास कार्यक्रम समन्वय समितिले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रका तीन घरपरिवारलाई नयाँ घरका लागि छनोट गरेको हो । घर नभएका तथा निकै जोखिमपूर्ण अवस्थामा रहेका र आफैंले घर बनाउन नसक्ने परिवार नयाँ घरका लागि छनोट भएको निर्वाचन क्षेत्र नं २ का जनता आवास कार्यक्रम समन्वय समितिका संयोजक तथा प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिए । उनका अनुसार छनोटमा परेका प्रत्येक परिवारका लागि दुई कोठा र बरण्डासहितका घर निर्माण हुने छन् । 

त्यस्तै, शौचालय भने स्वयं परिवारले श्रमदानस्वरुप अनिवार्य रुपमा निर्माण गर्नुपर्ने छ । प्रतिघर निर्माणका लागि रु तीन लाख पाँच हजार प्राप्त हुने प्रदेशसभा सदस्य शर्माले बताए । दुई भन्दा बढी कोठा भएको घरसमेत निर्माण गर्न सकिने उनको भनाइ छ । त्यसका लागि बाँकी खर्च भने स्वयं परिवारले व्यहोर्नुपर्ने छ । निर्वाचन क्षेत्र नं १ का आठबीसकोट नगरपालिकामा २८, बाँफिकोट गाउँपालिकामा १८ र मुसीकोट नगरपालिकामा १८ गरी ६४  घर निर्माण हुने छन् । 

चौरजहारी नगरपालिकामा २८, सानीभेरी गाउँपालिकामा १९ र त्रिवेणी गाउँपालिकामा १८ गरी निर्वाचन क्षेत्र नं २ मा ६५  घर बन्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । घर निर्माणको प्रक्रिया शुरु भइसकेको जनाइएको छ । घर निर्माणको सम्झौताको जिम्मा स्थानीय तहलाई दिइएको र  हुने क्रम शुरु भइसकेको उनले जानकारी दिए । लकडाउनका कारण छनाट र सम्झौतालगायत प्रक्रिया पूरा गर्न ढिलाइ भए पनि तोकिएकै समयमा घर निर्माण गर्ने गरी काम शुरु भइसकेको बताइएको छ । घर निर्माणका लागि निर्माण समिति रहने र घर निर्माण सकिएपछि समितिले घर बनाउने परिवारको खातामा पैसा सीधै राखिदिने प्रदेशसभा शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप