बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालमा शक्ति बाँडफाँडको लडाइँ

शनिबार, २४ जेठ २०७७, १६ : ०३
शनिबार, २४ जेठ २०७७

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण घोषणा भएको ४४ दिन बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन । वैशाख १० गते एकीकरण घोषणा भए पनि त्यसयता एकीकरणका व्यवहारिक पक्षलाई टुंग्याउने दिशामा प्रभावकारी पहलकदमी हुन नसकेको हो ।

वैशाख ११ गते निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराइएको छ । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता गराउनुपर्ने प्रावधान छ । जसअनुसार आइतबार ४५ दिन पुग्दैछ । आयोगमा आइतबारसम्ममा पार्टी दर्ता गराइसक्नु पर्छ ।
दुई दलबीच विभिन्न विषयमा कुरा नमिलेको कारण आइतबार आयोथमा दल दर्ता हुने कि नहुने भन्नेबारे अन्योल नै देखिन्छ । यद्यपि दुई दलको बीचमा केही दिनदेखि गम्भीर कुराकानी चलिरहेको छ । 

आइतबार पार्टी दर्ता गराउने गरी नेतृत्वको विषयमा टुङ्गो लगाउन दुई दलबीच शनिबार बैठक बसिरहेकाे छ । तत्कालीन राजपा नेपालको पार्टी कार्यालय बबरमहलमा बैठक बस्न बसिरहेकाे हाे  ।

तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलका एक सदस्यले भने, ‘आज जसरी पनि टुङ्गो लगाउनुपर्छ, टुङ्गो लगाउनुको अर्को कुनै विकल्प छैन, अरु कुराहरु मिलाउँदै जानुपर्छ, मुख्य रुपमा नेतृत्वमा कुरा मिलाएपछि पार्टी दर्ता हुन्छ ।’
पार्टीभित्र वरीयता क्रममा पहिलो नम्बरमा महन्थ ठाकुर, दोस्रो नम्बरमा डा.बाबुराम भट्टराई र तेस्रो नम्बरमा उपेन्द्र यादव रहने लगभग निश्चित भएको छ । यसमा राजपा नेपालका नेताहरु पनि सकारात्मक भइसकेका छन् । तर दुई दलमा रहेका अन्य नेताहरुलाई कसरी व्यवस्थापन गर्ने, अरु पदहरुमा कसलाई कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन बाँकी छ ।

शुक्रबार दुईटा दलको छुट्टा छुट्टै बैठक बसेको थियो । बैठकपछि साँझ दुईटै दलको संयुक्त बैठक बसेको थियो । संयुक्त बैठकमा समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादवमात्र सहभागी थिए । उनले पार्टी एकीकरणको विषयलाई अगाडि बढाउने नै हो तर आफ्नो पार्टीमा कुरा नमिलेको कारण तत्काल अन्तिम रुप दिन नसकिने धारणा राखेका थिए ।

जनजातिका कुरा
तत्कालीन समाजवादी पार्टीका एकजना पदाधिकारीका अनुसार पार्टीमा आदिवासी जनजातिको कुरा पनि उठेको छ । मुल नेतृत्वमा सबै बाहुन खसहरु रहेपछि आदिवासी जनजातिको ठाउँ कहाँ रहने भनि प्रश्न उठेको छ । यो एकीकरणमा आदिवासी जनजातिलाई कहाँ राख्ने भनि चर्चासमेत हुन छाडेको गुनासो अशोक राईहरुले गरेका छन् । समाजवादी पार्टीका एक केन्द्रीय सदस्यका अनुसार अशोक राईको टीमले पनि जसपा नेपालमा आफ्नो स्पेश खोजिरहेको छ ।

पार्टी वरीयताक्रमको तेस्रो नम्बरसम्म कुरा फाइनल भए पनि चौथो नम्बरमा कसलाई राख्ने भन्नेमा विवाद उत्पन्न भएको हो । चौथो नम्बरमा अशोक राईलाई राख्नुपर्ने र पाँचौ नम्बरमा राजेन्द्र श्रेष्ठलाई राख्नुपर्ने माग समाजवादी पार्टीका अशोक राई टीमको छ । अशोक राईलाई वरिष्ठ नेता र राजेन्द्र श्रेष्ठलाई सहअध्यक्ष दिने घोषणा गरेरमात्र पार्टी दर्ता प्रक्रियामा जानुपर्ने उनीहरुको माग छ । 
अशोक राईले आफूसँग आफ्ना टीमका अन्य नेताहरुको पनि व्यवस्थापन टुङ्गो लगाउन दबाब दिएको बुझिएको छ । यो कुरा तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि राजपा नेपालका नेताहरु समक्ष राखेका थिए । यद्यपि अशोक राई टीमको बारेमा अहिले कुनै टुङ्गो लागेको छैन । 

निर्देशक समिति
दुवै पार्टीमा थुप्रै नेता भएका कारण नेकपाको सचिवालयजस्तै एउटा शक्तिशाली निर्देशक समिति बनाउनेबारे पनि छलफल भइरहेको छ । जसमा राजपा नेपालका महन्थ ठाकुृर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झा रहने छन् भने समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव र लालबाबु राउत रहने छन् । 

जसपा नेपालको सबैभन्दा शक्तिशाली समिति यही नै रहने छ, जसको नेतृत्व महन्थ ठाकुरलाई दिने कुरा भइरहेको छ । महन्थ ठाकुर पार्टीको अध्यक्ष वा संयोजक भए पनि निर्देशन समितिको अध्यक्षता गर्ने विषयमा छलफल भइरहेको छ । महन्थ ठाकुर र उपेन्द्र यादवबीचमा कार्यकारी र शक्ति बाँडफाँटको कुरा आएपछि यो उपाय निकालेको स्रोतको दावी छ । 

महन्थ ठाकुर पार्टीमा मुख्य नेतृत्वमा रहे पनि कार्यकारी भूमिका हुने छैन । कार्यकारीको भूमिका उपेन्द्र यादवले आफूसँगै राख्नेछन् । महन्थ ठाकुरले आफू सेरेमोनियल अध्यक्षमात्र नबस्ने, अधिकारसहितको अध्यक्ष हुनुपर्ने माग गरेपछि पार्टीमा उनलाई पनि केही अधिकार दिएर राख्ने विषयमा छलफल अगाडि बढेको छ ।

संविधान संशोधनबारे मतभिन्नता
राजपा नेपालका नेताहरुले नयाँ नक्सासहितको निशान छापका लागि भइरहेको संविधान संशोधनको पक्षमा मतदान नगर्ने निर्णय गरेका छन् । आफूहरुको माग समेटेर सरकारले प्याकेजमै संविधान संशोधन नगरे पक्षमा मतदान नगर्ने निर्णय गरेको छ तर समाजवादी पार्टी त्यसको विपक्षमा छ । 
खासगरि, उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्नुपर्ने भन्दै आइरहेका छन् । उनीहरुले राजपा नेपालका नेताहरुलाई पनि सरकारले ल्याएको संशोधनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । 

शुक्रबार भएका दुई पक्षको छलफलमा पनि उपेन्द्र यादवले सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्न राजपा नेपालका नेताहरुलाई आग्रह गरेका थिए । पक्षमा मतदान गरिएन भने जसपा नेपालमाथि गलत आरोप लाग्न सक्ने भन्दै उपेन्द्र यादवले राष्ट्रियताको सवालमा जसपालाई एक ढिक्का भएर उभ्याउनुपर्नेमा जोड दिएका थिए । अहिले निशान छापका बारेमा सर्वसम्मत रुपमा संविधान संशोधन गराएर राजनीतिक मुद्दासहितका विषयमा संशोधनका लागि संघर्ष गर्ने र सरकारलाई नैतिक दबाब दिने प्रस्ताव उपेन्द्र यादवले राखेका थिए ।
सरकारले ल्याएको संविधान संशोधन पक्षमा मतदान गर्न राजपा नेपाल तयार भएन भने एकीकरणको कुरा संविधान संशोधनको टुङ्गो लागेपछि मात्र गर्ने प्रस्ताव समेत उपेन्द्र यादवले अघि सारेको स्रोतले जनाएको छ ।

अहिले सैद्धान्तिक रुपमा एकीकरणको टुङ्गो लगाए पनि दुवै पार्टीको संसदीय दलमा एकीकरण भएको छैन । दुवै पार्टीको संसदीय दल छुट्टा छुट्टै छन् । संसदमा मतदानको समय दुईटै पार्टीका संसदीय दलले आ–आफ्नो नीतिअनुसार मतदान गर्नेछ । संसदीय दल एकीकरण हुन बाँकी रहेकै कारण समाजवादी पार्टी र राजपा नेपालका तर्फबाट संयुक्त रुपमा संविधान संशोधनको प्रस्ताव दर्ता गराइएको हो ।
त्यही भएर उपेन्द्र यादवले या त सरकारले ल्याएको संशोधन प्रस्तावमा मतदान गर्ने सर्वसम्मतिले निर्णय गरौं या संविधान संशोधनबारे संसदमा मतदान भइसकेपछि मात्र एकीकरण गरौं भनि प्रस्ताव गरेका छन् ।

राजेन्द्र महतो अप्ठ्यारोमा 
अहिले समाजवादी पार्टी र राजपा नेपालबीच हुन लागेको एकीकरणमा सबभन्दा अप्ठ्यारोमा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो परेका छन् । उनले पनि आफूलाई एकीकृत पार्टीको कार्यकारी भूमिकामा राख्न जोडबल गर्दै आइरहेका थिए । महतोले आफूलाई उपेन्द्र यादवकै हैसियतमा राख्न पार्टीमा दबाब दिइरहेका भए पनि उनकै पार्टीका कतिपय नेताले स्वीकार नगरेपछि उनी अहिले अप्ठ्यारोमा परेका छन् । 
समाजवादी पार्टीसँग एकीकरण गर्नका लागि सबभन्दा बढी उनी नै हतारिएका थिए । अन्य नेताहरुले पहिला पार्टीको महाधिवेशन गरौं अनिमात्र अरु दलसँग एकीकरण गरौंला भनेको अवस्थामा महतोले आफूलाई केन्द्रमा राखेर हतार हतार पार्टी एकीकरण गर्न लगाए । अहिले उनी नै रिङभन्दा बाहिर पुगेका छन् । पार्टीमा उनले अब चौथो वरीयता पनि पाउने सम्भावना छैन । तैपनि उनले पार्टीमा आफ्नो दबाब बढाइरहेका छन् । उनी आफ्नै पार्टीमा घेराबन्दीमा परेको कारण उनको दबाबको खासै असर नपर्ने नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप