मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

शनिबार, २४ जेठ २०७७, १५ : ४३
शनिबार, २४ जेठ २०७७

बाग्लुङ । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा बस्न पाउने भएका छन् ।

विदेशबाट आउनेले सुविधा सम्पन्न क्वारेन्टिनमा बस्न चाहेमा रकम तिरेर होटल क्वारेन्टिनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टिनमा निःशुल्क राखिनेछ । 

बागलुङ जिल्लाका १० स्थानीय तहले १०० भन्दा बढी स्थानमा क्वारेन्टिन व्यवस्थापन गरी एक हजार ४०० भन्दा बढी भारतबाट आएकालाई क्वारेन्टिनमा राख्दै आएको छ । 

भारतबाट आउनेलाई मात्रै क्वारेन्टिनमा राख्न मुस्किल भएको स्थानीय तहलाई तेस्रो मुलुकबाट आउने भएपछि झनै चुनौती थपिएपछि होटलमा पैसा तिरेर क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाइएको हो । 

बागलुङमा सुविधासम्पन्न क्वारेन्टिनको क्षमता विस्तार गर्नका लागि जिल्ला सदरमुकाममा रहेका होटललाई प्रयोगमा ल्याइने भएको छ । 

बागलुङ नगरपालिकाले जिल्लाका होटल व्यवसायीको सहकार्यमा रकम खर्च गरेर होटलमा बस्ने व्यवस्था गरेको र अन्यलाई निःशुल्क क्वारेन्टिनमा राखिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । 

‘हामीले विदेशबाट आउनेलाई इच्छाअनुसारको विकल्प दिएका छौँ’, प्रमुख पौडेलले भने, ‘खर्च गरेर होटलमा बस्ने वा स्थानीय तहले बनाएको क्वारेन्टिनमा निःशुल्क बस्ने रोज्न पाइनेछ ।’

शुरुको चरणमा बागलुङका छ वटा होटलमा १५० श्यया क्षमताको क्वारेन्टिन बनाइने होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । 

पहिलो चरणमा होटल पिस प्यालेस, समिट, दिराजन, हिलभ्यू, रेड एप्पल र त्रिवेणी होटललाई क्वारेन्टिन बनाइने छ । थप क्वारेन्टिनमा बस्ने आएमा अन्य होटललाई समेत क्वारेन्टिनमा परिणत गर्न सकिने राजभण्डारीको भनाइ छ । 

होटलका कोठामा सेनिटाइज गर्ने, प्याकेजिङ गरेर खान कोठामै पु¥याउने, स्वास्थ्य सचेतना प्रदान गर्नेलगायतका सुविधा हुनेछ ।  

होटल क्वारेन्टिमा बस्न प्रतिव्यक्ति रु एक हजार ७५० र डबल श्यया कोठामा प्रतिव्यक्ति रु एक हजार ५०० शुल्क तय गरिएको होटल व्यवसायी सङ्घले जनाएको छ । 

कूल १५० श्यया क्षमताको क्वारेन्टिन शौचालयजडित र स्नान कक्ष भएको हुनेछ । जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि क्वारेन्टिन बनाइएको होटलमा सुरक्षाको व्यवस्थापनमा लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप