प्रत्येक प्रदेशमा रासायनिक मल उत्पादन कारखाना खोल्नुपर्छ : गंगा चौधरी
नेकपा सांसद गंगा चौधरी सत्गौवाले किसानका लागि मल विउको समस्या भएपनि सरकारले व्यवस्था गर्न नसकेको बताएकी छिन् ।
शनिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केन्द्रीयस्तरमा डिएपी, युरिया जस्ता रासायनीक मलको उत्पादन गर्न माग गरेकी छिन् । यस्तै सात वटै प्रदेशमा एक–एक वटा रासायनीक मल उत्पादन कारखाना स्थापना गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘केन्द्रीय स्तरमा यूरिया डिएपी उत्पादन गर्नुपर्ने अवस्था छ । प्रत्येक प्रदेशमा एउटा मल कारखाना स्थापना गर्न आवश्यक छ । देशमा १५÷२० लाख यूवा स्वदेश फर्कदैछन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने अवस्था छ । नेपाली कृषि उपजको बजारीकरणको समस्या रहेको छ ।’
उनले सरकारले कनिका छरेजस्तो बजेट छरेको बताउँदै यसले कुनै उपलब्धी हासिल नहुने बताइन् । विकास योजना एकीकृत ढंगले सञ्चालन गर्न आग्रह गरिन् ।
सांसद चौधरीले थारु समुदाय सिकलसेल एनिमिया रोगबाट ग्रसित हुनुपर्ने अवस्था रहेको बताउदै सरकारले यसवर्षको बजेटमा केही नपाउँदा दुःख लागेको उल्लेख गरिन् । साथै पर्यटक भित्राउनका लागि थारु समुदायको सस्कृति, कला, नाँचगानको संरक्षणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको ध्यानाकर्षण गराइन् ।