शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्रीलाई लक्ष्मणलाल कर्णको आग्रह–‘संक्रमण बढाउने क्वारेन्टाइन बन्द गरेर घरमै बस्न लगाउनुस्’

शनिबार, २४ जेठ २०७७, १४ : ३२
शनिबार, २४ जेठ २०७७

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले देशमा विभिन्न स्थानका क्वारेन्टाइनले नै कोरोना संक्रमण बढाएको भन्दै स्वास्थ्यमन्त्रीको ध्यानकर्षण गराएका छन् ।  शनिवार प्रतिनिधिसभाको बैठकमा विभिन्न मन्त्रालयगत बजेट कतौटीको प्रस्तावमाथि बोल्दै कर्णले क्वारेन्टाइनमा मान्छेलाई पशुलाई झै राखिएको बताए । 

उनले भने– ‘स्वास्थ्यमन्त्री ज्यू, क्वारेन्टाइनमा कोरोना लाग्छ भने क्वारेन्टाइन बनाउन छोडिदिनुस्, पानी खाना केही नपाउने ठाउँमा मान्छेलाई पशु जस्तो नछोड्नुस् । मान्छेलाई घरमै बस्न दिनुस् मान्छेको ठूलो उपकार हुन्छ ।’ सांसद कर्णले सरकारले उद्योग खोल्न भनेको छ, कर मागेको छ, जसले उत्पादन गर्न सकेको छैन उसले कहाँबाट कर तिर्छ भन्दै प्रश्न समेत गरे । 

उनले उद्योगले समान उत्पादन ग¥यो भने कहा बिक्री हुन्छ ? नेपालमा कम्युनिष्ट पार्टीको सरकार भन्ने तर गरिब किसानको लागि के दिएको छ  ?  किसानले मल बीउ केही नपाएको, सरकारले किसानलाई के राहत दिएको छ भनेर प्रश्न गरे । 

उनले भने– ‘मल पाएको छैन खेती गर्नुस् भनेर हुन्छ । श्रमिकलाई खेतीमा लगाउनुस् भनेर हुन्छ ? किसानको सामानको मोल तोकेर मात्र हुन्छ । किन्ने मान्छे नभएपछि किसानले सस्तोमा बेच्न बाध्य हुन्छ । गरिब किसानलाई उकास्ने के के ब्यवस्था छ मलाई भन्नुस् ?’

उनले किसानको गहुँ, धान लगायतका सामग्री खरिद गर्ने ठाउँ नभएको बताउँदै  महंगोमा उत्पादन गर्ने र सस्तोमा बेच्न किसान बाध्य भएको बताए ।  उनले सरकारले कृषिमा रोजगारी सिर्जना गर्ने बताउने तर काम नगर्ने उल्लेख गरे । 
सांसद कर्णले भने– ‘वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना किन चलेन ? के छ कारण ? बिहारमा चिनी कारखाना बन्द भएका थिए ।

सहकारीका आधारमा त्यहाँ उद्योग चलाइयो । यहाँ पनि सहकारीका आधारमा उद्योग खोलौँ । मलाई लाग्छ हाम्रो मन्त्रालय किन राख्ने ? निजी कम्पनीको चिनी उद्योग छ, सरकारले तोकेको रकम दिँदैन । सरकारी ४ वटा उद्योग थियो भने उसले निजीलाई हस्तक्षेप गथ्र्यो र किसानले मूल्य पाउथेँ । वीरगञ्ज कृषि औजार केन्द्र चलाउन सरकारलाई के बाधा प¥यो ? यसप्रति सरकारले केही नसोचेको सरकारले मजदुरहरुलाई काम दिन्छु भन्नु बकवास मात्र हो ।’ 

उनले सम्पूर्ण मन्त्रालयको बजेट हेर्दा पर्सा जिल्लामा कुनै बजेट नभएको भन्दै किन यस्तो हुन्छ भन्दै प्रश्न गरे । उनले सबै कुराका लागि सडकमा आउनुपर्ने भन्दै आक्रोस ब्यक्त गरे । सांसद कर्णले पर्यटन मन्त्रालयले मधेशमा कुनै पर्यटकीय स्थल नदेखेको भन्दै प्रश्न गरे । उनले तराईमा धार्मिक पर्यटनको धेरै क्षेत्र रहेको बताउदैँ ती ठाउँमा पर्यटन मन्त्रालयले ओझेलमा पारेको बताए ।  उनले माछा तथा कुखुरा पालनमा अनुदान दिएको तर उत्पादित माछाका लागि बजारको व्यवस्था नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप