शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : सडक नाटक

शनिबार, २४ जेठ २०७७, १२ : २८
शनिबार, २४ जेठ २०७७

- भरत सिग्देल

सुनसान छ आज
सहरको व्यस्त सडक
मडारिएको छ कालो बादल
ढपक्क ढाकेर नील गगन
मध्यान्हको अस्वभाविक सन्नाटा
अन्योल छ बिल्कुल अन्योल
दिन या रात !

एक हुल मान्छेको प्रवेश 
एकाएक रङ्गमञ्चमा
सुँक्क-सुँक्क, चिर्दै सन्नाटा 
घोसेमुन्टो लाएका मान्छेहरू 
नारी, पुरुष, वृद्ध, जवान
थकित गलित
विक्षिप्त, बिल्कुल विक्षिप्त । 

भूकम्पले खण्डहर बस्ती
टिलपिल, टिलपिल रसिला
लाल-लाल नेत्र मुन्तिर
ढिक्का छन्, आँसुका ढिक्का 
फोहरको कन्टेनरबाट निक्लेका
एक-एक धरा लङ्गौटी
फिक्का छन् बिल्कुल फिक्का ।

लावाकस्कर छ साथमा
बजिरहेछ संगीत
ठम्याउन छाडे बैरा कानहरू
शोकधून हो या मंगलवाचन 
उठिरहेछन् मुठ्ठीहरू
अश्रुग्यास र लाठीचार्जका बीच
बादशाहले जारी गरेको उर्दी  उल्लंघन गर्दै  निर्धक्क
बढिरहेछ ताँती
बेपरबाह बन्दाबन्दीको ।

लौ न, भन्देऊ मनुष्य हो !
को हुन् ती समाजवादका,
राता जन्ती या सेता मलामी ?
के उठेको त्यो बीच सडकमा,
धारे हात या सलामी ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा