बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतबाट नेपाल फर्किन साढे तीन सय नेपालीले दूतावासमा नाम टिपाए

शनिबार, २४ जेठ २०७७, ०६ : ५७
शनिबार, २४ जेठ २०७७

लण्डन – लकडाउनका कारण बेलायतमा रोकिएका नेपाल फर्किन चाहने नेपालीहरुका लागि नेपाली दूतावास लन्डनले शुक्रबार सम्मको समयसीमा तोकेर आआफ्नो विवरण पेश गर्न आव्हान गरेको  थियो । 

निर्धारित समयभित्र ३ सय ५० नेपालीहरुले नेपाल फर्कन चाहेको भन्दै आफ्नो विवरण उपलब्ध गराएको दूतावासका प्रवक्ता शरदराज आरनले बताए । 

नाम दर्ता गर्नेमा विश्वविद्यालयका विद्यार्थी, भिजिट भिसामा आएकाहरू, प्रशिक्षणका लागि आएका अर्धसरकारी कर्मचारी, परीक्षाका लागि आएका चिकित्सक, घरेलु कामदार लगायतका मानिसहरु  छन् ।

गैरआवासीय नेपाली संघ यूकेले समेत कोरोनाका कारण बेलायतमा रोकिएका नेपालीहरुको तथ्याङ्क संकलन गर्दै आएको थियो । दूतावासमा संकलित तथ्याङ्कमा एनआरएन यूकेको समेत समावेस रहेको राजदूतावासले जनाएको छ । 

नेपाल फर्किन चाहने नेपालीको विवरण आउँदो सोमबार नै दूतावासले नेपाल सरकारलाई पठाउने तयारी गरेको दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिए । अहिले साढे तीन सय जनाको नाम संकलन भएपनि अन्तिम अवस्थामा परिवर्तन हुन सक्ने दूतावासको अनुमान छ । 

सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने भएकाले सोचेभन्दा बढी खर्चिलो हुने र विभिन्न किसिमका शर्तको पालना गर्नुपर्ने भएकोले केहि झन्जटिलो हुने भएकोले पनि उक्त संख्या कम हुन सक्ने बताइएको छ ।

यही जेठ १२ गते नेपाल सरकारले गरेको  निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको थियो । यसै सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीहरुलाई आफ्नो सम्पूर्ण विवरणको अध्यावधिक गराउन गत नेपाली राजदूतावास लन्डनले एक सूचना जारी गरेको थियो ।

हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण (पिसीआर÷आरडिटी÷अन्य) को प्रमाण साथमा राख्नुपर्ने भएकाले सोको व्यवस्था पनि स्वयंले गर्नुपर्ने र नेपाल फर्कने व्यक्तिले हवाई उडान तथा यातायात खर्च र होटल तथा क्वारेन्टिन खर्च आफैँले व्यहोर्नु पर्ने सूचनाम उल्लेख थियो ।

यहाँबाट गएपछि नेपालको विमानस्थलमा पुगेपश्चात प्रत्येक यात्रुलाई काठमाडौँ चक्रपथ आसपासमा रहेका ‘होल्डिङ सेन्टर’मा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनमा ‘ट्रान्सफर’ गरिनेछ । 

नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्यरूपमा स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्ने र तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप सात दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप