शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा अघोषित रुपमा लकडाउन खुला !

शुक्रबार, २३ जेठ २०७७, २१ : १०
शुक्रबार, २३ जेठ २०७७

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । जुन जेठ ३२ गतेसम्मका लागि कायम गरिएको छ । लकडाउन खुला गर्न व्यापक जनदवाव सुरु भएपनि सरकार लकडाउनको मोडालिटी परिवर्तनबारे छलफलमै छ । 

तर, उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन थालेका छन् भने सडकमा भिडभाड पनि बढेको छ । 

लकडाउनको ७४ औं दिनसम्म आइपुग्दा राजधानीको सडकमा भिडभाड देखिन थालेको छ भने चेकजाँचमा कडाइ छैन । सुरुमा दिनमा सर्वसाधारणका लागि हिँडडुलमा समेत कडाइ भएकोमा अहिले त्यस्तो छैन, एकाधबाहेक अरु स्थानमा निर्वाध हिँडडूल भइरहेको छ ।  

व्यवसायीले औपचारिक रुपमा निर्णय गरेर व्यावसाय खोल्न थालेपछि बिहीबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकायको आकस्मिक बैठक समेत बसेको थियो ।

 जिल्ला समन्वय समिति काठमाडौँको सभाकक्षमा बिहीबार भएको सो छलफलले सामाजिक दुरी सहितको स्वास्थ्य सर्तकता कायम गरी बजार पसल सञ्चालन गर्ने अवस्था श्रृजना गराउने ढंगले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो  । 

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार छलफलले व्यापारीहरुबाट प्राप्त सुझावका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्न मोडल तयार पार्दै सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । 

 साथै छलफलको निष्कर्ष सहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरि लागु गर्न कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिको रुपमा पठाइएको उनको भनाइ छ । 

काठमाडौंका तिनै जिल्ला प्रशासन कार्यालयका प्रमुखसहित सरोकारवाला सहभागी बैठकबाट लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समितिलाई सिफारिस गर्ने निर्णय भएको बाहिरिएपछि मानिसहरु बाहिर निस्कन थालेका छन् । यसबारे निर्णय नभएसम्म लकडाउन कायमै रहन्छट नै । तर, शुक्रबार दिनभर काठमाडौँमा देखिएको दृष्यले चकित बनाउँथ्यो । दृश्यले काठमाडौँ उपत्यकामा अघोषित रूपमा लकडाउन खुलेको भान हुन्थ्यो ।

चोक–चोकमा नीजि सवारीसाधन ताँती लागेको छ । कार्यालय समय सुरु हुने बेला सोह्रखुट्टे चोक, बालाजु चोक र सुन्धारा क्षेत्रलगायतका विभिन्न स्थानमा गाडीहरुको ताँती थियो । यसो त गाडी र मान्छेको भीडले प्रहरी नै चकित बनेको छ ।

एकाधबाहेक चोक–चोकमा ट्राफिक प्रहरीले कुनै रोकावट गरेका छैनन् । न त प्रहरीको नै सक्रियता । त्यसैले सवारीको भीड ह्वात्तै बढेको छ ।  सोह्रखुट्टे चोकमा खटिएका एक प्रहरी जवानका अनुसार माथिबाट लकडाउन कडाइ गर भन्ने आदेश छैन । ‘हामीले रोकेर के गर्ने, छोड्न भन्दै एकैछिनमा माथिबाट हाकिमको फोन आउँछ । त्यही भएर कडाई गनुको कुनै काम छैन,’ ती प्रहरी जवानले भने । 

सरकारले लागू गरेको लकडाउन उल्लघंन गर्ने व्यक्ति र सवारीलाई प्रहरीले कारबाही गर्नुपर्ने हो तर त्यस्तो हुन सकेको छैन । अर्थात, लकडाउन जारी रहेपनि कडाइ गरिएको छैन  । 

यस विषयमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख र ट्राफिक महाशाखाका प्रमुखलाई सम्पर्क गर्दा आफूहरु एउटा मिटिङमा रहेको र अहिले बोल्न नमिल्ने बताए । 

सडकमा सवारी साधन र मानिसको भीड हुन थालेपछि सजग हुनुपर्ने जनस्वास्थ्यविद्हरुको भनाइ छ । लामो समयको लकडाउनले कष्टकर रुपमा जनजीवन बिताएको कारण मानिसहरु बाहिर निस्केपनि कोरोना भाइरस संक्रमणको सन्त्रास अझैं नसकिएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप