शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुकुम घटना : मानवता नै कलङ्कित बनाउने अपराध

शुक्रबार, २३ जेठ २०७७, १४ : ५३
शुक्रबार, २३ जेठ २०७७

रुकुम जिल्लाको चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते जघन्य आपराधिक घटना घट्यो । यसका बारेमा मुलुकभित्र र बाहिरका मानिसले आफ्ना धारणा विभिन्न मिडिया, सामाजिक सञ्जाल तथा सडकमा जुलुस प्रदर्शनमार्फत व्यक्त गरिरहेको छन् । मानव जाति र समाजलाई चुनौती दिने गरी नरसंहार हुनुको पछाडि प्रेम गर्ने युवायुवतीको अन्तरजातीय प्रेम नै रहेको छ । प्रायः समाजमा सानो जातकाले प्रेम गर्दा उमेर नपुगेको, जबरजस्ती गरेको, बेचबिखन गर्न लिइएको लगायतका आरोप लगाइन्छ । त्यही कुरा जात मिल्नेसँग भयो भने अभिभावकले विवाहको मान्यता दिने गरेका थुप्रै घटना छन् ।

रुकुमको घटनामा नवराज विक र सुष्मा मल्लबीचको प्रेममा न कुनै जातीयता थियो न त कुनै सामाजिक अपराध नै थियो । तिनीहरुको प्रेम मानवीयता, भावनात्मक र उच्च सामाजिक चेतनामा आधारित थियो । जब तिनीहरुको प्रेम गाढा हुँदै गयो प्रेम झाँगिँदै फैलिँदै जीवन साथीको स्तरसम्म पुर्याउने अठोट भयो त्यसपछि समाजका रुढिवादी र सामन्ती संस्कृतिक चेतनाका मानिसले उनीहरुको बीचमा जात देखाउन थाले । सानो जातको केटा ठूलो जातको केटी भनेर जातीयताको विभेध मात्रै देखाएन प्रेम छुटाउने जाल झेल षड्यन्त्र, दबाब, कुटपिट जस्ता कार्य अपनाइयो । तर निस्वार्थ प्रेममा बाँधिएका युवायुवती अलग भएनन् बरु प्रेमलाई विवाहमा बदलेर कथित जातीय अहंकारवादीहरुलाई परास्त गर्ने हिम्मत गरेका थिए ।

विवाह गरेर आफ्नो प्रेम छुटाउन चाहने शत्रुसँग विजय हासिल गर्ने दिन जब आइपुग्यो त्यही दिन अपराधले जित्यो । मानवरूपी दानवहरुले प्रेमको अन्त्य गर्न चारैतिरबाट आक्रमण गरी भेरी नदीमा हाम फाल्न बाध्य तुल्याए र नदीमा बगिरहेकालाई पनि आक्रमण गरी निन्दनीय ढङ्गबाट नरसंहार गरियो । जसले नवराज र सुष्मा बीचको प्रेम सदाका लागि अन्त्य भयो ।

यो जातीय विभेदको पराकाष्टा हो । जातीय विभेदले निम्त्याएको यस घटनाले एक्काइसौं शताब्दीको मानव जाति र समाजलाई नै चुनौती दिएको छ ।

घटना भएको केही दिनमा बेपत्ता भएका चार जनाको लास भेटियो । मारिनेमा गणेश बुढामगर र गोविन्द शाही पनि भएको कुरा पुष्टि भयो । ती शाही र बूढा मगर थरका युवाहरुले जातीय विभेदका विरुद्धको लडाइँमा भेरी नदीमा रगत बगाएर प्राणको आहुति नै दिए । यो लडाइँ अब कुनै दलित जातिसँग मात्र सीमित रहेन सिङ्गो मानव जातिको नै भएको छ । यस लडाइँमा मृत्युवरण गर्ने नवराज विक लगायत सम्पूर्णप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दछु । नवराज लगायत सबै मृतकहरुले जातीय विभेदविरुद्ध मरेर पनि जितेका छन् । उनीहरु मरेर पनि मुलुकका करोडौँ मानिसको मनमा बाँचिरहेका छन् ।

बहिनी सुष्मा तिमी पनि धेरै लड्यौ । अब तिमीसँग केही पनि बाँकी रहेन । तिम्रो चोखो प्रेम खोसिएको छ । तिम्रो इज्जतलाई हत्याराहरुले भेरी नदीमा बगाइदिएका छन् । तिमी बाँचेर पनि मरे सरह भएकी छौँ तर फेरि हिम्मत र साहस गर । नवराज लगायतका युवाहरुको बगेको रगत सुक्न नदेऊ । उनीहरुका आफन्त र मुलुकभरका मानिसको आँसु झरेको छ । आँसु झरेको मानिसको मुखमा हाँसो ल्याउ । हत्यारालाई कारबाही गर्न सहयोग गरी यस न्यायको लडाइँलाई जितेर देखाऊ । दुनियाँ तिम्रो साथमा छ । फेरि पनि महान नारी बन्ने साहस गर ।

सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्छ । यसमा संलग्नलाई जातीय विभेद र हत्या अभियोगमा जन्मकैदको कारबाही गरी सामाजिक न्याय स्थापना होस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना शर्मा
कल्पना शर्मा
लेखकबाट थप