शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुकुम घटना : थप सात जना पक्राउ, एकै गाउँका २५ हिरासतमा

शुक्रबार, २३ जेठ २०७७, ११ : २५
शुक्रबार, २३ जेठ २०७७

काठमाडौँ ।  प्रहरीले ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्नता आशंकामा थप ७ जनालाई पक्राउ गरेको छ । यीसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ । 

पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन छन् । 

यसअघि पक्राउ परेकाहरूको अनुसन्धानको क्रममा बयानमा उनीहरूको पनि नाम जोडिएपछि पक्राउ गरिएको रुकुम जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले बताए । 

केसीका अनुसार अदालतको अनुमतिमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान सुरु गरिएको छ । 

पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको थियो । त्यसमध्ये यस अघि १८ जनालाई पक्राउ गरिएको थियो । अझै दुई जना फरार रहेका छन् । उनीहरु सबै एकै गाउँ सोतीका रहेका छन् ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो ।

यसअघि पक्राउ परेका १८ जनालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको छ । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप