केन्द्रीय संस्करण

क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध

person explore access_timeजेठ २३, २०७७ chat_bubble_outline0

कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड र बालबालिकालाई दूध उपलब्ध गराउने गरेको छ । नगरपालिकाले क्वारेन्टिनमा बसेका नागरिकले रकमको कारोवार गर्दा सङ्क्रमण बढ्ने भएकाले त्यस नहोस् भन्नका लागि उनीहरुलाई आवश्यक सबै व्यवस्था क्वारेन्टिनभित्रै मिलाएको जानकारी दिएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि भारत तथा अन्य जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टिनमा १४ दिन राखेर जाँच गरी होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइन्छ । महिला हरेक महिना महिनावारी हुने भएकाले क्वारेन्टिन अवधिमा पनि हुनसक्छन् भन्दै टीकापुरका क्वारेन्टिनमा महिलाका लागि स्यानिटरी प्याडको व्यवस्था गरेको हो ।

टीकापुर नगरपालिकामा रहेका १७ क्वारेन्टिनमा अहिले एक हजार २०७ बसिरहेका छन् । तीमध्ये २२१ महिला छन् । क्वारेन्टिनमा बस्नेलाई आवश्यक सबै व्यवस्था नगरपालिकाले गरिहेको छ । महिला, पुरुषका लागि छुटाछुट्टै क्वारेन्टिन व्यवस्था नभए पनि क्वारेन्टिनमा बस्नेलाई आवश्यक कोलगेट, साबुनदेखि आवश्यक सामग्री नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ ।

“महिलालाई क्वारेन्टिनमा बस्ने, खाने समस्याभन्दा मासिक चक्र अर्थात् महिनावारीका कारणले थप समस्या हुनसक्छ”, टीकापुर नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवालीले भनिन्, “महिलालाई महिनावारीको समयमा बढी सरसफाइ चाहिन्छ, त्यसैले विद्यालयमा महिलाका लागि सुविधा भएको शौचालय प्रयोग गर्ने व्यवस्था मिलाएका छौँ, उनीहरुलाई आवश्यक स्यानिटरी प्याड उपलब्ध गराइरहेका छौँ ।”

ज्ञवालीले क्वारेन्टिनमा केही सुत्केरी, गर्भवती तथा बालबालिका समेत रहेकाले उनीहरुलाई आवश्यक आइरन चक्की, नियमित दूध र फलफूलको व्यवस्थासमेत गरिएको जानकारी दिइन् । “हामी खाना शाकाहारी दिने गरिरहेका छौँ, महिला तथा बालबालिकालाई पोषिलो खानेकुरा आवश्यक हुने भएकाले खानासँगै अण्डा दिने गरेका छौँ”, अनमी ज्ञवालीले भनिन्, “महिलाका समस्यामा हामी गम्भीर छौँ, तर क्वारेन्टिन भरिभराउ भएकाले समस्या हुन थालेको छ ।”

क्वारेन्टिनमा अहिले भारतबाट आउनेको सङ्ख्या धेरै छ । एकै परिवारका धेरै सदस्यसहित सयौँ नागरिक एकै ठाउँमा बस्नुपर्ने बाध्यता छ । महिलालाई प्राथमिकता दिँदै महिनावारीको समयमा आवश्यक स्यानिटरी प्याड सबै क्वारेन्टिनमा उपलब्ध गराइएको स्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक बलबहादुर रावल बताउँछन्, “हामीले त महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने सोचेका थियौँ, तर भारतबाट आउने धेरै सपरिवार हुनुहुन्छ । उहाँहरुसँगै बस्न चाहने, नगरपालिकालाई पनि व्यवस्थापन गर्न कठिन भएकाले सँगै राख्नुपरेको छ ।”

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.