मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा व्यापारी कुटेपछि २ प्रहरी जवानमाथि कार्वाही

बिहीबार, २२ जेठ २०७७, २३ : ०८
बिहीबार, २२ जेठ २०७७

जनकपुर । जनकपुरको जानकी मन्दिरबाट जनकचोक जाने गल्लीमा रहेको गिता गिफ्ट हाउसका सञ्चालक  श्याम चौधरीलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल भयो । भिडियो भाइरल भएपछि अहिले जनकपुर क्षेत्रमा प्रहरीको सो ज्यादतीको चौतर्फी विरोध भैरहेको छ । व्यापारी श्याम र उनका बाबुलाई प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

श्यामले आफु पसल सफाई गर्न आएका बेला बुवामाथि एक प्रहरीले हातपात गरेलगत्तै अन्धाधुन्ध लाठी बर्साएर कुटपिट गरेको बताएका छन् । उनले बुबामाथि कुटपिट हुन थालेपछि प्रतिवाद गरेको दाबी गरेका छन् । उनले बुवालाई कुटपिट गर्दा आफु पनि आक्रोशमा आएको बताए ।

भाइरल भई रहेको भिडियोमा प्रहरीले व्यापारी श्यामका साथै अन्य केही व्यक्तिलाई समेत लाठीले प्रहार गरिरहेको देखिन्छ । प्रहरीले व्यापारी श्याम लगायत बाटोमा हिड्ने पैदल र साइकल यात्री माथि पनि लाठी प्रहार गरेको देख्न सकिन्छ भने प्रहरीको भ्यान नजिक पुर्याएर श्यामलाई एक जवानले अन्धाधुन्ध लाठी वर्षाएका छन् ।

यता प्रहरीमाथि नै दुर्व्यवहार र कुटपिट भएपछि आफूहरुले बल प्रयोग गरेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । उनले व्यापारी श्याम साहको कुटाईबाट जानकी चौकीका ईन्चार्ज राजाराम यादव घाइते भएको बताए ।
व्यापारी साहले प्रहरीमाथि नै हातपात गर्दा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्नुपरेको प्रहरी नायब उपरिक्षक कार्कीले स्पष्ट पारे । उनले भने– ‘हामीले जसरी भएपनि लकडाउन पालन गराउनै पर्यो, सोको अनुगमन गर्न जाँदा गीता गिफट हाउसमा श्यामजीको बुवा हुनुुहुन्थ्यो, हामीले पसल बन्द गराउनै लाग्दा उनी प्रहरीमाथि नै जाइ लागे, अन्त्यमा स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नुपर्यो ।’

घटना सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापारीाई कुटपिट गर्ने २ जना प्रहरी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक मेरुलाल गुप्ता र प्रहरी जवान दिपक यादवलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रदेश प्रहरीमा तानिएको छ । घटनाबारे छानविनका लागि एक समिति समेत गठन गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप