बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सीमारक्षक सुस्तावासीसँग न नागरिकता छ न त लालपुर्जा !

लालपुर्जा नभएकै कारण वर्षेनी अतिक्रमणमा पर्छ सुस्ताको भूमि
बिहीबार, २२ जेठ २०७७, १२ : ३८
बिहीबार, २२ जेठ २०७७

परासी । अधिकांश सुस्तावासीसँग नागरिकता र जोतभोग गरिरहेको जग्गाको लालपुर्जा नहुँदा सुस्ताको भूमि अतिक्रमण पर्ने गरेको छ । भारतीय जनताहरु सीमामा खटिएका एसएसबी प्रहरीको सहयोगमा वर्षेनी सुस्ताको भूमी कब्जा जमाउँदै आएको सुस्ताबासी बताउँछन् ।

एकातिर सीमामा जंगे पिलर छैन, अर्काे तर्फ जोतभोग भैरहेको जग्गाको लालपुर्जा पनि छैन । त्यसैको मौका छोपी भारतीय पक्षले वर्षेनी जग्गा अतिक्रण गर्दै आएको छ । आफनो भुमि जोगाउदै र भारतीयलाई आफनो भुमीबाट लखेटदै आएका सुस्तावासीहरु सरकारसँग नागरिकता र लालपुर्जाको माग गरेका छन् ।

सुस्ताबासीसँग नागरिकता र पुर्जा नहुँदा यसरी कतै बाटो त कतै भवनको नाममा अतिक्रमण बढदै गएको छ । नेपालको नक्सा अनुसार सीमामा जंगे पिलर छैन त्यसैले सीमा कहाँसम्म हो भन्ने यकिन पनि छैन । एक दशक अगाडी सुस्तामा सीमा र जग्गा अतिक्रमणकै विवादले नेपाल–भारतको जिल्ला प्रशासन स्तरिय बैठकबाट सुस्ता भूमी भएरै विहारतिर बग्ने दुलहिनिया घोला पारीबाट भारतीय एसएसबीको गस्ती र वारीबाट नेपाली सुरक्षाकर्मीहरुको गस्ती हुने र जग्गा पनि सोही अनुसार जोतभोग गर्ने भनि सहमति भएको थियो ।

विवाद सुल्झाउन दुबै देशको प्रशासनिक निकायले सोही खोलालाई आधार बनाइ काल्पनिक दशगजा मानी दुवै देशका सुरक्षाकर्मीहरुले आ–आफनो क्षेत्रमा सिमा गस्ती गर्न वाकिङ्क बाउण्डरी (सडक) बनाएका छन् । तर पछिल्लो समय फेरि पनि भारतीय एसएसबी जग्गा अतिक्रमण गराउने उद्देश्यले खोलापारी नेपाली सुरक्षाकर्मी गस्ती गर्ने वाकिङ्क बाउण्डरीमा हतियारसहित गस्ती गर्ने र सुस्ताबासीलाई धम्काउने तर्साउने कार्य गर्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए ।

उनका अनुसार यसै लकडाउनको मौका छोपी भारतीय एसएसबीले, घोलावारी सुस्ता भूमीमा बनाइएको बाकिङ्क बाउण्डरी (सडक) बाट पनि ४ देखि ५ फिटसम्म छोडेर ५ सय मिटरदुरीसम्म आफनो खेतको आली बनाउन सुस्ताबासीलाई दबाब दिँदै आएका थिए तर सशस्त्र प्रहरी, नेपाल प्रहरी र सुस्ताबासीको एकता र सहयोगले उनीहरु यसबर्ष जग्गा अतिक्रमणबाट विफल भएको उनले बताए । ‘नेपाली सुरक्षाकर्मी र सुस्ताबासी समयमै नलडेको भए फेरि पनि यसबर्ष वाकिङ्क बाउण्डरी (सडक) सहित सुस्ताबासीको ५ विगाहका क्षेत्रफल अतिक्रमण भैसक्थ्यो,’ अभियानका प्रवक्ता जयसवालले बताए ।

भारतीय एसएसबी र जनताहरुले १२ वर्ष अगाडी यसरी सुस्तावासीहरुलाई धम्की र त्रास देखाएर काल्पनिक सीमावारी सुस्ता भूमीमै आएर २५ विगाहा क्षेत्रफल अतिक्रमण गरेका थिए ।

नेपालको मौनताले यसरी वर्षेनी जग्गा अतिक्रमण हुँदै आएको अभियानका उपाध्यक्ष आदम खानले बताए । उनले भने, ‘दुई हप्ता अगाडी मात्रै दशगजामै भारतीयले एक सामुदायिक विद्यालयकोे संरचना बनाउन थालेपछि हामी सुस्ताबासी र सुरक्षाकर्मीले विरोध गरेपछि दशगजाबाट २० फिट पर सारेर उक्त विद्यालय बनाउन थालेका छन् ।’

‘भारतीय एसएसबीको दादागिरी यतिसम्म बढेको छ कि उनीहरु हातहतियार सहित सुस्ताभुमीमा टेक्ने र नेपाली वाकिङ्क बाउण्डरी तथा विवादित जग्गामा गस्ती समेत गर्दै आएका छन्,’ उनले बताए ।

आफनो जग्गा जोतभोग गर्न जाँदा उनीहरुले त्रसाउने धम्काउने गर्दै आएका छन् । सुस्तामा हाल २७२ घरधुरी भई ३ हजार १ सय ३३ जनसंख्या रहेको छ ।

४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता हाल १४ हजार ५०० हेक्टर जग्गा भारतीय पक्षद्वारा अतिक्रमण भैसकेको छ । बचेको २६ हजार ९८० हेक्टर जग्गा मध्ये भारतीय एसएसबीले कब्जाउन खोजेको १९ हजार ४८० हेक्टर जग्गलाई विवादित जग्गा भन्दै सुस्ताबासीलाई जोतभोगबाट रोक लगाएको छ । हाल ७ हजार ५ सय हेक्टर जग्गा मात्र सुस्ताबासीको कब्जामा छ जसमध्ये सुस्ताबासीसँग ५५६ विहागाको मात्र लालपुर्जा छ । भारतीयसँग लडदै भूमि जोगाउँदै आएका सुस्ताबासीहरु सरकारसँग नागरिकता र लालपुर्जाको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप