केन्द्रीय संस्करण

स्कन्द पुराण मानस खण्डमा नेपाल र महाकाली नदी

person explore access_timeजेठ २२, २०७७ chat_bubble_outline0


पौराणिकहरु भन्छन्, “लिम्पियाधुरालाई पुराणहरुमा आदि कैलास भनिएको छ । यो देवाधिदेव महादेव र महादेवी पार्वतीको दिव्य क्रीडास्थल हो । शिवशक्तिको परम प्रिय पशुपति क्षेत्र, श्लेष्मान्तक बन र पावनताको धुरी मानसरोवर क्षेत्रबीच यातायात क्रममा शिवपार्वती यसै आदिकैलाशमा विश्राम गर्नु हुन्थ्यो । विश्रामका दिनहरुमा पार्वतीले स्नान गर्नु भएको पार्वतीकुण्ड यसै परिसरमा छ भनिन्छ । महादेवलाई महाकाल र पार्वतीलाई महाकाली मानिएको आधारमा यहाँ त्यति वेलाका भक्तजनहरुबाट स्थापित महाकालीको मन्दिर पनि छ ।”

“नेपाल लगायत विश्वकै शिवज्ञ श्रद्धावान् सनातनीहरुको  पवित्र तीर्थहरु, धामहरु पशुपतिनाथको परिवेशमा अवस्थित पाइन्छन् । वाह्र ज्योतिर्लिङ्ग, ६४शिवलिङ्ग, चार धाम, लगायत जम्बू द्वीपमा रहे भएका सवै देवदेवताहरुको अवस्थिति नेपालमा पाइन्छ । यसको विशद वर्णन स्कन्दपुराणका विभिन्न खण्ड, वाराह पुराण, शिवपुराण, लिङ्गपुराण, मत्स्यपुराण र श्रीमद्भागवत आदि विख्यात पुराण ग्रन्थहरुमा पढ्न पाइन्छ ।”

“महर्षि भृगु, शक्ति, पराशर, व्यास विश्वामित्र, पुलह, पुलस्त्य,श्रृङ्गी, र विश्वका प्रथम दार्शनिक कपिल, योगाचार्य तथा शब्दविद्याचार्य महर्षि पतन्जली, यजुर्वेदका प्रणेता याज्ञवल्क्य संस्कृत भाषाका आदिकवि वाल्मीकि, संस्कृत भाषाका सर्वसम्मत शब्दकोश अमरकोशका निर्माता अमरसिँह शाक्य, लगायत वेदयुगीन र पुराणयुगीन विख्यात ऋषिमुनि र विशिष्ट विद्वान्हरुको प्राचीनतम आश्रमावशेष र निवासावशेषहरु नेपालमा पाइएका छन् । संस्कृत भाषाका आदिकवि वाल्मीकि र राजर्षि जनकको जगजाहेर निवास स्थलहरु यथानाम रुपमा नेपालमा अद्यावधि अवस्थित छँदैछन् ।”

“नेपाल दक्षिण एयिाका भारतलगायत देशहरुमध्ये सवैभन्दा पुरानो हो । नेपाल नामको सर्व–प्राचीनता नै पनि यसको प्रमाण हो । अर्थववेदको परिशिष्ठमा भेटिने नाम ‘नेपाल’ आफैँमा प्राचीनताको एक धरोहर हो । पौराणिक कालमा कश्मीरदेखि व्रह्मपुत्रसम्मको शिखरभूमि र यसको काखमा अवस्थित भूमि नेपाल थियो । कश्मीर खसहरुको आदिम भूमि पुरानो खसमीर हो ।”

“प्रयागस्थित समुद्रगुप्तको शिलालेखमा पढ्न पाइने प्राचीन नेपाल, कौटिल्यको अर्थशास्त्रमा पढिने सम्पन्न नेपाल, र पृथ्वीनारायणका प्रयत्न र स्वप्नशीलतामा एकीकृत विशाल नेपाल स्वाभिमानी एवम् वहादूर नेपालीहरुको मानसपटलमा आज पनि ताजा छ ।”

नेपालको विगत विशाल छ । इतिहास समृद्ध छ । अहिले प्रस्तुत लेखको सन्दर्भ ती पुराण र इतिहासहरु होइनन् । वर्तमानका इण्डियन शासक वर्गबाट अतिक्रमित लिपुलेक र लिम्पियाधुरा हो । नेपाली मात्रको पवित्र मातृभूमि नेपालको अभिन्न यो भूखण्ड तमाम नेपालीको रगरगमा भिजेको छ ।

अहिले यहाँ म विभिन्न पुराणहरुमध्ये स्कन्दपुराण मानस खण्डको एक अध्याय उद्धृत गर्दैछ । जहाँ महाकालीको उद्गमस्थल लिम्पियाधुराको कथा छ । कथाको मूल संस्कृत पाठ मैले आदरणीय जगद्गुरु मोहनशरण देवाचार्य ज्यूको सौजन्यबाट प्राप्त गरेको हूँ । वहाँप्रति कृतज्ञता व्यक्त गर्दै यस पाठको मैले बुझेको भावार्थ निम्नानुसार प्रस्तुत गरेको छु ।

कथा सुनिआएका ऋषिहरु पुराणकार मेधावी ऋषि वेदव्याससँग भन्नुहुन्छ, हे तपोधन महर्षि व्यास, तपाइँले पवित्रतम र उत्कृष्ट नदी श्यामा (महाकाली) नदीलाई तपाइँले कहाँबाट कसरी त्यहाँ –लिम्पियाधुरामा) बोलाउनु भयो ? ती नदी यस दुनियाँमा कसरी पवित्रतम र उत्कृष्ट नदी कहलाइन् ? तपाइँ ज्ञानका अथाह सागर हुनुहुन्छ । हे महर्षि, कृपा गरेर हामीलाई त्यो सवै बताइदिनुहोस्—

महर्षि व्यास भन्नुहुन्छ, प्राचीन समयमा त्यहाँ यक्षराज कुवेरले वाजपेय यज्ञ आयोजन गरेका थिए । त्यस यज्ञमा कथावाचक सूत, महर्षि जैमिनी, शुकदेव र अन्य धेरै ऋषिहरुलाई निम्ता गरेका थिए । मलाई पनि निम्ता थियो । आमन्त्रित  ऋषिहरु पुग्दा यक्षराज कुवेर त्यस रत्नमय हिमाली भूमिमा पत्नीसहित बसेर पार्वतीपति भगवान् शंकरको ध्यान गरिरहेका थिए । आमन्त्रित ऋषिहरुले कुवेरलाई भेटे । म पनि पुगेँ । कुवेरले आमन्त्रित हामी सवै ऋषिहरुलाई सम्मानपूर्वक पूजा गरे ।

लिपि पर्वतबाट पश्चिम र हिमखिरहरुबाट दक्षिणमा रहेको त्यस पहाडमा यज्ञमण्प नजिकै अनेकौं अनेक मूल्यवान् र सुन्दर रत्नजडित आश्रम बनाइएको थियो  । त्यस आश्रमभित्र  कुवेरले मलाई आसनमा राखे । सवै ऋषिहरुलाई पनि यथोचित आसन दिए । सवै ऋषिहरुसहित म पनि आसनमा बसेपछि कुवेर आफू पनि बसे । त्यसपछि मतिर फर्केर विशेष आग्रहका साथ उनले भने, म यहाँ सवैको हितभलाइको कामना लिएर वाजपेय यज्ञ गर्दैछु । अन्य सवै सामग्री जुटेको छ । पानी भने पर्याप्त छैन । यज्ञमा सहभागी व्राह्मणहरुको स्नासन्ध्याका लागि, यज्ञमण्डपमा आवश्यक उपयोगका लागि र तमाम लोकहितका लागि समेत्  यहाँ पवित्र गङ्गाजीको उपस्थिति आवश्यक छ । तपाइँले बोलाइदिनुभए गङ्गाजी यहाँ आउनुहुन्छ । ममाथि यति कृपा होस् ऋषिवर !

कुवेरको अनुरोध उचित ठानेर मैले तत्काल त्यहाँ आइदिन  पवित्र गङ्गा मन्दाकिनीलाई आह्वान गरेँ । वहाँ महाकाल शिव शङ्करको जटामा हुनुहुन्थ्यो । त्यहाँबाट यहाँ आउन ओर्लने क्रममा महाकालको सम्भावित रोषको डरबाट पानीको रङ्ग कालो भयो ।

त्यसपछि यक्ष गन्दर्भ देवता र मानव सवैले यिनलाई श्यामा नाम दिए । श्यामा अर्थात् काली । श्यामा पवित्र गङ्का हुन् र सवैले नुहाउन रुचाउने नदी हुन् । महाकालको शिरबाट झरेकी नदी हुनुको कारण यिनलाई कलि युगमा महाकाली पनि भनिने छ ।

वेदव्यास भन्नुहुन्छ, यी पवित्र गङ्गालाई मैले कुवेरको आग्रह मानेर वाजपेय यज्ञद्वारा उनको मनोरथ पूर्ण होस् भन्ने मनसायले त्यस पहाडमा बोलाएको थिएँ ।

त्यसपछि त्यहाँ कुवेरले यिनै पवित्र नदीको जल प्रयोग गरेर वायपेय यज्ञ सम्पन्न गरे । यज्ञ समापनपछि सहभागी ऋषि एवम् व्राह्मणहरुलाई पर्याप्त दक्षिणा दिए । धेरैजसो ती व्राह्मणहरु काषायारण्यका निवासी थिए ।

आमन्त्रित सवै विदा भएपछि सिद्ध गन्धर्वहरुका साथ सपत्नीक कुवेर पनि आफ्नो  स्वर्गतिर प्रस्थान गरे ।

यसरी मैले आह्वान गरेकै कारण यस पर्बतमा प्रकट भएकी महाकाली नदी पहाडका दाह्रा नङ्ग्रा भाँच्दै बाटो बनाउँदै र अनेकौं सहायक नदीहरुसँग भेट्दै दोभान बनाउँदै सरयूसँग भेट्न दगुरिन् ।

यस नदीमा स्नान गरेर कुनै पनि मानिसले विधिवत् पितृश्राद्धहरु गर्‍यो भने त्यसले  भागीरथी गङ्गामा स्नान गरेर श्राद्ध गरेको भन्दा दश गुना बढी पुण्यफल प्राप्त गर्ने छ र आफ्ना कुलका तमाम पितृहरुको उद्धार गर्ने छ ।

(पुराण अद्यतन परिभाषाको इतिहास होइन र पनि इतिहासको वीज हो । पुराण शब्दको तात्पर्य नै पुरानो हो । यस पुराण प्रसङ्गले महाकाली नदीको उद्गम स्थल लिम्पियाधुरा नै हो भन्ने तथ्य सगौरव प्रस्तुत गरेको छ ।) यसको उपलब्ध संस्कृत पाठ निम्नअनुसार छ ।)—

ऋषय उचुः

अधुना श्रोतुमिच्छामि श्यामायाः मुनिसत्तम,
समुत्पत्तिं विशेषेण त्वत्तो वै ज्ञानसागरात् ।। १ ।।

व्यास उवाच

सूतश्च जैमिनिश्चैव शुकश्च मुनिसत्तमाः
तथान्ये ऋषयश्चापि मया सह तपश्विनः ।। २ ।।

कुवेरस्य महायज्ञे समाहूता हिमालये
ययुस्तं हिमसम्पूर्णं नानाधातुविराजितम् ।।३ ।।

ददृशुस्तत्र धनदं गुह्येशं नरवाहनम्
सहपत्न्या समासीनं ध्यायन्तं पार्वतीप्रियम् ।।४ ।।

ददृशुस्ते महात्मानो मया सह तपेधनाः
तत्र सम्पूजिता : सर्वे धनदेन महात्मना ।। ५ ।।

आसनेषूपविष्टेषु द्विजेषु धनदः स्वयम्
सपे्रममाश्रमं पुण्यं नानाधातुविराजितम् ।। ६ ।।

दक्षिणे शिखराणां वै आसीनं लिपिपर्बते
लिपेः पश्चिम भागे वै शिखराणां च दक्षिणे ।।६ ।।

स तस्मिन्नाश्रमे पुण्ये आसने मां न्यवेशयत्
स मां विज्ञापयामास यज्ञार्थं सरितांबराम् ।।७ ।।

पावनाय द्विजातीनां तथान्येषां हिताय च
मयाहूता द्विजश्रेष्ठाः पुण्या मन्दाकिनी तदा ।।८ ।।

महाकालस्य शिरसः पपात मुनिसेविता
महाकालस्य रोषेण श्यामा मन्दाकिनी ह्यभूत् ।।९ ।।

देवगन्धर्वमनुजैः सेविता मुनिसत्तमाः
ततः श्यामेति मनुजाः तमाहुः सत्यवाहिनीम् ।। १० ।।

(महाकाल शिरोद्भूता  गङ्गा त्रिपथगामिनी)
महाकालीति विख्याता भविष्यति कलौयुगे ।। ११ ।।

समाहूता मया गङ्गा कुवेर हितकारिणा
ततस्तु धनदो विप्रा यज्ञं चक्रे सुदक्षिणम् ।। १२ ।।

वाजपेयं महायज्ञं समुद्दिश्य सरिज्जलम्
ततस्तु मुनिशार्दूलाः ऋत्विजो दत्तदक्षिणाः ।।१३ ।।

ययुः सर्वे महात्मानः काषायारण्यवासिनः
गतेषु तेषु धनदो ययुः स्वर्गे महावलाः ।। १४ ।।

सिद्धगन्धर्वगुह्याश्च पत्न्या सह तपोधनाः
मयाहूता स्ततः श्यामा पुण्यतोयवहा सरित्।। १५ ।।

गिरेदं्र्रष्टान् विदार्यासु सङ्गमैर्वहुभिर्युता
सरयू सङ्गमे पुण्या संङ्गता मुनिसत्तमाः।। १६ ।।

तस्यां स्नात्वा च विधिवत् पितृकृत्यं विधाय च
गङ्गास्नानाद् दशगुणं फलं प्राप्नोति मानवः ।। १७ ।।

कुलायुतं समुत्तार्य विष्णुलोके महीयते ।। १८ ।।

इतिश्री स्कन्दपुराणे मानसखण्डे श्यामा माहात्म्ये षोडशोत्तरशतः अध्यायः ।।

—प्रस्तुतिः मुक्तिबन्धु

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.