शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शे–फोक्सुण्डो निकुञ्जद्वारा १७ थान भरुवा बन्दुक बरामद

बुधबार, २१ जेठ २०७७, २० : ३४
बुधबार, २१ जेठ २०७७

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा बन्दुक र एक थान नाल बरामद गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने संरक्षित एवं दुर्लभ वन्यजन्तुको चोरी शिकारी रोक्न अप्रेशन नै चलाएर हातहतियार खोजी गर्न शुरु गरेपछि १७ थान भरुवा बन्दुक, एक थान नाल बरामद गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करेलीकाँडा छल र ठूलीभेरी नगरपालिकामा साँङ्टालगायतका ठाउँबाट बन्दुक र नाल बरामद गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । सेना र कर्मचारीसहितको गस्ती टोलीले यसअघि पनि २० थान भरुवा बन्दुक, एक नाल, तीन थान घोरलका छाला बरामद गरिसकेको छ । सबै गरेर ३७ थान भरुवा बन्दुक, तीन थान घोरलका छाला र दुई नाल बरामद भइसकेको र खोजीकार्य जारी रहेको संरक्षण अधिकृत पौडेलले बताए ।

बरामद गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलिगार्डमा राखिएको छ । निकुञ्जले हातहतियार बुझाउन सूचना जारी गर्दै आएपछि स्थानीयले पक्राउ पर्ने त्रासले घरदेखि टाढा लगेर बेवारिसरूपमा फालेको अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । बेवारिसे फेला परेका भरुवा बन्दुकका कसका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ । 

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफूसँग भएका हातहतियार बुझाउन ३५ दिने सूचनासमेत जारी गरिएको छ । निकुञ्जमा पाइने बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तु र सम्पूर्ण वन पैदावारको चोरी तस्करी रोक्न निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मको सेना रातदिन खटिरहेको गुल्मपति लेखनाथ कटवालले जानकारी दिए । यस निकुञ्जमा दुर्लभ वन्यजन्तु हिउँ चितुवासमेत पाइने गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप