शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

बुधबार, २१ जेठ २०७७, १७ : ३५
बुधबार, २१ जेठ २०७७

–नारायण अधिकारी 
चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्पतालको प्रमुख उनलाई तोकिएको छ । 

कपिलवस्तुको वाणगङ्गा स्थायी घर भएकी डा.शान्तिको माइती भरतपुरमै छ । माइतीमा तीन वर्षीया छोरी आरभी र नौ वर्षीय छोरा आरभलाई राखेर उनी भने कोरोना अस्पतालमा खटिरहेकी छिन् । सासु–ससुराको निधनपछि श्रीमान् डा. धिरेन्द्र नेपालको गत वर्ष निधन भएसँगै परिवार आफैँले सम्हाल्दै आएकी डा शान्ति परिवारको व्यवस्थापनसँगै आफ्नो जिम्मेवारीमा खटिरहेकी छिन् ।
 
कोरोना अस्पतालमा केही दिनयता स्वाब सङ्कलन गर्न छाडे पनि त्यहाँ रहेका चार सङ्क्रमितको चौबीसै घण्टाको व्यवस्थापन उनको थाप्लोमा छ । उनीहरुको खानपानदेखि स्वास्थ्योपचार मात्र होइन, त्यहाँ कार्यरत २७ कर्मचारीको खानपान र बसोबासको व्यवस्थापन उनी आफैँले गर्दै आएकी छिन् । 

उच्च जोखिममा काम गर्नुपर्ने भए पनि सङ्क्रमित निको पार्न र सङ्क्रमण सार्नबाट रोक्न उनको व्यवस्थापन प्रभावकारी देखिन्छ । दैनिक सङ्क्रमितसँग टेलिफोन र भिडियोकलबाट उनीहरुको अवस्था उनले बुझ्ने गर्छिन् । कुनै समस्या भएमा तत्काल समाधान गर्ने उनको दैनिकीमा पर्दछ । उनले भनिन्, ‘दिउँसो त म अस्पतालमै हुन्छु, साँझ–बिहान जतिबेला समस्या पर्छ त्यतिबेला यहाँ आउँछु ।’

खानादेखि औषधिसम्मको चाँजोपाँजो आफ्रंले मिलाउनुपर्ने भएकाले चौबीसै घण्टा ध्यान अस्पतालमा नै हुने उनले बताइन् । डा शान्ति बिरामी थपिँदै गर्दा अस्पतालमा गर्ने व्यवस्थापनको पूर्वतयारीमा यतिबेला जुटिरहेकी छिन् । ‘गुनासो कसैको नआउने गरी व्यवस्थापनमा जुटेको छु’ उनले भनिन्, ‘सङ्क्रमितलाई सकेसम्म छिटो सङ्क्रमणमुक्त भएर फर्काउन सकियोस् भन्ने चाहना छ ।’

सङ्क्रमितसँग प्रत्यक्ष काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुसार काम गराउन उनी तल्लीन छिन् । जसका कारण सङ्क्रमण उनीहरुलाई नफैलियोस् भन्ने उद्देश्यका साथ अस्पतालमा काम गरिरहेको उनले बताइन् । उनले नेतृत्व गरेपछि अस्पतालले झण्डै ६०० जनालाई सेवा दिइसकेको छ । अस्पतालको नेतृत्व गरिरहँदा स्वास्थ्यकर्मी, कर्मचारी होटलको क्वारेन्टिनमा बसिरहेका छन् भने उनी अस्पतालकै आवासको क्वारेन्टिनमा बस्दै आएकी छिन् । दुई दिनअघि स्वाब परीक्षण गरी अहिले रातको समयमा छोराछोरीसँगै माइतमा बस्दै आएकी छिन् ।

माइतीका हजुरआमा, बुबा, आमा, बहिनी ज्वाइँ सबैको साथ र सहयोगकै कारण आफू अस्पतालमा खट्न पाएको उनले बताइन् । उनले सङ्क्रमण सर्न नपाओस् भनेर सावधानी अपनाएरै काम गरेको बताइन् । ‘सङ्क्रमित थपिँदै गर्दा उहाँ फेरि क्वारेन्टिनमै बस्नुपर्ने छ’, उनले भनिन्, ‘यो सङ्कटको समयमा पारिवारिक पीडा र समस्या पन्छाएर स्वास्थ्यकर्मी, चिकित्सक कार्यक्षेत्रमा खटिएनौ भने कसले उपचार गर्छ ।’ एनेस्थेसियाका नवौ तहकी भुर्तेल छोटो समयमा विभिन्न अस्पतालको अनुभव हासिल गरिसकेकी छिन् । उनले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारी, डा.प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, शान्ति सापकोटालगायत सम्पूर्ण कर्मचारीको साथ र सहयोगका कारण काम गर्न आफूलाई सहज भएको बताइन् ।
 
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तिवारी डा.भुर्तेलले कोरोना अस्पतालको व्यवस्थापन प्रभावकारी ढङ्गले गरिरहेको बताए । अहिलेको परिस्थितिमा चिकित्सक, स्वास्थ्यकर्मीमा जिम्मेवारी उच्च भएको भन्दै सबैले आ-आफ्नो कर्तव्य पूरा गरेमा सङ्क्रमणबाट जोगिन सकिने उनको भनाइ छ । परिवारिक पीडा भुलेर राष्ट्र र जनताका लागि सबैले डा.भुर्तेल झैँ जोखिम मोलेर राष्ट्र सेवामा समर्पित हुने बेला आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप