शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो संसद बैठक सञ्चालन खर्च, दैनिक १ लाख ५० हजार थपियो

बुधबार, २१ जेठ २०७७, १७ : ०५
बुधबार, २१ जेठ २०७७

काठमाडौं । कोभिड–१९ भाइरस संक्रमण रोकथामका लागि सतर्कता अपनाउँदा संघीय संसद बैठकको सञ्चालन लागत बढेको छ । कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि सामाजिक दुरी कायम गर्नुपर्ने तथा २५ जना भन्दा धेरै भेला हुन नपाइने सरकारको निर्णयका वाबजुद संघीय संसदको छैटौ अधिवेशन चलिरहेको छ । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनकै समयमा सुरु भएको संघीय संसदको छैटौं अधिवेशन सञ्चालनका लागि सामाजिक दुरी कायम गरि गरिने सिट व्यवस्थापन, फर्निचर मर्मत लगायत केही प्राविधिक शिर्षकमा थप लागत बढेको हो । 

त्यसैगरी बैशाख २६ गते देखि सुरु भएको संघीय संसदको छैटौ अधिवेशनका बैठक संञ्चालका लागि अपनाउनुपर्ने स्वास्थ्य सतर्कता भएको खर्च लगायतले प्रतिदिन बैठक सञ्चालन लागत बढाएको हो । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले समान्य अवस्थामा प्रति दिन प्रति बैठक ७ लाख रुपैयाँ खर्च हुने गरेकोमा अहिले १ लाख ५० हजार रुपैयाँले प्रतिबैठक लागत बढेको जानकारी दिए ।

अहिले संघीय संसद बैठक खर्च प्रतिदिन ८ लाख ५० हजारसम्म पुगेको छ । यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको बार्षिक भाडा, बिजुली, पानी सांसदहरुको बैठकभत्ता, यातायात खर्च लगायत कोरोनाको सुरक्षामा अपनाइएका स्वास्थ्य सर्तकमा भएको खर्चहरुको एकमुष्ट रकम हो ।

तर यसमा सांसदहरु, बैठक सञ्चालनका लागि आवश्यक सचिवालयलका कर्मचारी, मर्यादापालक तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका गरि झण्डै ८ सय जनाको कोरोना पिसिआर परीक्षण वापतको खर्च समावेश नभएको प्रवक्ता पाण्डेको भनाई छ । ‘नियमित खर्चहरु जस्तै पानी,बिजुली जस्तै हामीले एसी मेन्टेन गर्नुपर्छ । होल सिस्टमको एसी मेन्टेन गर्नुपर्छ ।

त्यसैगरी मिटिङ भत्ता लाग्ने र अन्य खालका खर्चहरु त्यहाँ हुन्छन, यातायात लगायतका खर्चहरु हुन्छन् । यो सबैलाई हिसाब गर्दाखेरी करिब करिब यो भन्दा अगाडिको मिटिङहरुमा भएका अधिवेशनहरुमा भएका खर्चहरुलाई हिसाब गर्दाखेरी सात लाख रुपैयाँ खर्च हुन्थ्यो प्रति दिन प्रति मिटिङमा भने अहिले कोभिडको कारणले हलमा थप खर्चहरु गर्नुप¥यो’, प्रवक्ता पाण्डेले भने, ‘करिब १ देखि डेढ लाख सम्मको थप व्यवभार हामीले व्यहोर्नुपरेको अवस्था देख्छौं । अहिलेको टेम्प्रोरी सोलुसन मात्र हो यो । अब आउने दिनहरुमा हामीले समितिहरुमा पनि त्याही कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

सचिवालयले सामाजिक दुरी कायम गरि बैठकको सिट व्यवस्थापनको संरचना, फर्निचर मर्मत तथा ५० थान माईक थप गर्दा ३० लाख रुपैयाँ खर्च भएको जनाएको छ । त्यसैगरी थर्मल गन २० थान, पिपिई ५ थान, एन ९५ मास्क २५ थान, केही सर्जिकल मास्क, सेनिटाईजन, साबुन तथा डिसइन्फेक्सनका सामाग्री  खरिदमा ५ लाख थप खर्च भएको जनाएको छ । प्रवक्ता डाक्टर पाण्डेले कोभिड १९ संक्रमणको अबस्था लम्बिदै गएमा विषयगत समिति सञ्चालनका लागि पनि सामाजिक दुरी कायम गर्ने गरि हल र सिट व्यवस्थापन गर्नुपर्ने भएमा बैठक सञ्चालन खर्च थप बृद्धि हुने पाण्डेले बताए । 

महामारीको संक्रामक अवस्थामा सञ्चालित संघीय संसदका दुवै सदनको बैठकमा सांसदहरुको उपस्थिति भने सन्तोषजनक देखिएको छैन । बजेट पूर्व नीति तथा कार्यक्रमको साथै बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुको उपस्थिति न्यून देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप