शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा भरियो कोरोना अस्पताल, क्वारेन्टिनमै संक्रमित

बुधबार, २१ जेठ २०७७, १० : ५७
बुधबार, २१ जेठ २०७७

दाङ । एक सय बेड भनिएको कोरोना विशेष अस्पताल ५० जना बिरामीले नै भरिएपछि पछिल्लो पटक संक्रमित भएका बिरामीहरुलाई सम्बन्धित क्वारेन्टिनमै राखिएको छ । जिल्लाका प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने संक्रमित बिरामीलाई राखिएको छैन ।

संघीय सरकारले आइतबार मात्रै क्वारेन्टिनलाई अपग्रेड गरी आइसोलेसन निर्माण गर्ने रणनीति बनाएसँगै अब संक्रमित बिरामीहरुलाई पनि क्वारेन्टिन अपग्रेड गरी बनाइएको आइसोलेसन वा नयाँ संरचनामा आइसोलेसन अस्पताल निर्माण गरी राख्ने तयारी स्थानीय प्रशासन र स्थानीय सरकारले गरेका छन् ।

दाङमा कोरोना संक्रमित बिरामी बढ्न थालेपछि उपचार गर्न समस्या देखिएको छ । बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा बिरामी बढेसँगै नयाँ संक्रमित बिरामीलाई उपचार गर्न समस्या भएको हो ।

एक सय बेडको क्षमता रहेको कोरोना विशेष अस्पतालले नयाँ संक्रमितलाई तत्काल नल्याउन जिल्ला प्रशासनय कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेपछि सोमबार दाङमा कोरोना संक्रमण देखिएका ९ जना व्यक्तिलाई उपचार गर्न समस्या भएको छ ।

बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा क्षमताभन्दा बढी बिरामी रहेको भनेपछि बिरामीहरुलाई उपचारमा समस्या भएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

बेलझुण्डीको कोरोना विशेष अस्पतालमा १ सय बेड भनिए पनि ती बेडहरु ५० जना बिरामीले भरिने अस्पताल व्यवस्थापनले जनाएको छ ।

अस्पतालमा कोरोना परीक्षणकै क्रममा नेगेटिभ रिपोर्ट आएको अवस्थामा त्यस्ता बिरामीलाई अर्कोे बेडमा सार्नुपर्ने हुन्छ । अर्को रिपोर्टमा फेरि पोजेटिभ आए फेरि पहिलेकै बेडमा राख्नुपर्ने भएकाले ५० जना बिरामीले १ सय बेड भरिने पनि अस्पतालले जनाएको छ ।

‘रिपोर्ट फेरबदल हुनासाथ बेड पनि फेरबदल गर्नुपर्ने भएकाले ५० जना बिरामीका लागि १ सय बेड आवश्यक हुन्छ, यो जहाँतहीका कोरोना अस्पतालको अभ्यास हो,’ अस्पतालका व्यवस्थापक द्रोण वलीले भने ।

सो भवनमा रहेको माथिल्लो तलासमेत उपयोग गरी आवश्यक परेको अवस्थामा २ सय बेडसम्म बनाउन सकिने अस्पताल व्यवस्थापनले मुख्यमन्त्री शंकर पोख्रेललाई केही दिन पहिले अवगत गराएको थियो ।

संक्रमितलाई फनपार्कमा

यसैबीच स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बन्धित व्यवसायीको सहमति र समन्वयमा घोराही उपमहानगरपालिका अमराइमा सञ्चालनको तयारीमा रहेको फनपार्कलाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने भएको छ ।

सम्भवतः आइतवार साँझसम्म सो स्थानमा आवश्यक बेड र अन्य भौतिक पूर्वाधार तयार भैसक्ने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

त्यहाँ कम्तीमा ५० जनासम्म संक्रमितलाई राखिनेछ । ‘कुइरेपानी क्वारेन्टिनमा राखिएका संक्रमितलाई भोलि बुधवारदेखि नै फनपार्कमा व्यवस्थापन भएको आइसोलेसन अस्पतालमा राखिनेछ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ।

त्यसैगरी सम्भावित थप संक्रमितहरुलाई राख्नका लागि सम्बन्धित पालिकाहरुले आ–आफ्नो क्षेत्रमा कोरोना आइसोलेसन बेड बनाउने तयारीमा रहेको पनि उनले बताए ।

कोरोना विशेष अस्पतालले नयाँ संक्रमितलाई लिन नमानेपछि घोराही उपमहानगरपालिकाले–३ को कुइरेपानीमा रहेको क्वारेन्टिनमा राखेर उपचार गर्ने व्यवस्था मिलाएको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

नगर प्रमुख चौधरीले १÷२ दिनमै व्यवस्थित रुपमा उपचार गर्ने गरी आइसोलेसन अस्पताल बनाउने समेत बताए । ‘संक्रमितलाई तत्काल उपचार गर्नुपर्ने भएकाले कुइरेपानी क्वारेन्टिनमा डाक्टरसहितको स्वास्थ्यकर्मीको व्यवस्था मिलाएका छौं,’ नगर प्रमुख चौधरीले भने, ‘नारायणपुरमा आइसोलेसन अस्पताल निर्माण गरेपछि बिरामीलाई त्यहाँ राखेर उपचार गर्नेछौं ।’

तुलसीपुरमा पनि अस्पताल बन्दै

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले पनि कोरोनाका संक्रमितहरुलाई स्वास्थ्य उपचार गर्न थप आइसोलेसन अस्पतालको व्यवस्थापन गर्दैछ ।

तुलसीपुर उद्योग वाणिज्य संघको दोघरेमा रहेको सभाहललाई आइसोलेसन अस्पतालका रुपमा प्रयोग गर्ने अन्तिम तयारी भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

त्यसको व्यवस्थापन तुलसीपुर सिटी अस्पतालले गर्ने भएको छ । उपमहानगरपालिका र उद्योग वाणिज्य संघबीच सो हलमा आइसोलेसन वार्ड बनाउने सहमति यसअघि नै भैसकेको संघका अध्यक्ष बीरबहादुर रावतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप