बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भिटिएम नहुँदा भारतबाट आएकाहरुको स्वाव संकलन हुन सकेन

बुधबार, २१ जेठ २०७७, ०९ : २४
बुधबार, २१ जेठ २०७७

कोरोना भए नभएका बारेमा पत्ता लगाउन गरिने पिसिआर टेष्टका लागि व्यक्तिको स्वाव संकलन गर्ने भाँडा भाइरस ट्रान्सपोर्ट मिडिया नहुँदा रुकुम (पश्चिम) मा स्वाब संकलनमा समस्या भएको छ । भारत तथा देशका विभिन्न ठाउँबाट आएका व्यक्तिलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा राखिए पनि भिटिएम नहुँदा अधिकांशको स्वाब संकलन हुन सकेको छैन ।

हाल जिल्लाका ६ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ३०२ जना रहेकामा तीमध्ये निकै कमको मात्र स्वाब संकलन गरिएको छ । अहिलेसम्म क्वारेन्टिनमा रहेका २७७ जनाको मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । 

चौरजहारी नगरपालिकाका १८१ जनाको स्वाब कर्णाली जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र आठबीसकोट नगरपालिकाका ६२, मुसीकोट नगरपालिकाका ३२ तथा सानीभेरी गाउँपालिकाका दुई गरी ९६ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

जिल्लामा भिटिएम नहुँदा क्वारेन्टिनमा रहेका एक हजार २५ जनाको भने अझै कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । शुरुमा प्रदेशले पठाएका केही भिटिएमबाट स्वाब संकलन गरिएकामा त्यसपछि स्वास्थ्य सेवा कार्यालयले खरीद गरेका भिटिएमबाट स्वाब संकलन गरिएको थियो । 

कार्यालयले खरीद गरेको चार सय भिटिएमबाट भारत तथा तेस्रो मुलकबाट आएका, तिनीहरुको सम्पर्कमा रहेका र देशका विभिन्न ठाउँबाट आएका व्यक्तिको स्वाब संकलन गरिएकामा अहिले भिटिएम नरहेको फोकल पर्सन रावलको भनाइ छ । स्वास्थ्य सेवा कार्यालय र जिल्लाका स्थानीय तहले भिटिएम खरीद गर्न खोजे पनि नपाएका कारण कोरोना परीक्षणमा ढिलाइ भइरहेको उनको भनाइ छ । 

जिल्लाका लागि ठूलो मात्रामा भिटटिएम खरीद प्रक्रिया चलिरहेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । स्वास्थ्य सेवा कार्यालयले पाँच हजार भिटिएम खरीद गर्न लागेको र जिल्लाका स्थानीय तहले पनि भिटिएम खरीद गर्ने प्रयास गरिरहेको उनको भनाइ छ  ।

मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले दुई सय भिटिएम खरिद गर्न लागिएको बताए । नगरमा करीब तीन सय व्यक्ति क्वारेन्टिनमा छन् । तीमध्ये धेरैमा कोरोना जाँच हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप