शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपराधशास्त्रीय कोणबाट रुकुम–जाजरकोट घटनाको स्वरूप

बुधबार, २१ जेठ २०७७, ०८ : ३१
बुधबार, २१ जेठ २०७७

अहिले लकडाउनको समयमा चर्चित घटनामध्ये रुकुम–जाजरकोट घटना एउटा चर्चाको विषय बन्यो । जाजरकोट भेरी नगरपालिका वार्ड नं ४ का हाल मृतक नवराज विक र रुकुम जिल्ला चौरजहारी नगरपालिका वार्ड नं ८ की मल्ल थरकी युवती बीचको प्रेम सम्बन्धको कारणले ५ जना होनाहार युवाले ज्यान गुमाउनु परेको दुःखद् घटनाले मुलुक स्तब्ध भएको छ । सतहमा जातीय भेदभाव र छुवाछूतको कारणले यो घटना घटित भएको भन्ने तर्क वितर्क रहे पनि अपराधशास्त्रको कोणबाट त्यतिकैमा चित्त बुझाउन सकिने अवस्था छैन । मुलुकले यो घटनाबाट वर्तमान नेपाली समाजलाई अपराध न्यूनीकरण र नियन्त्रण र तत्काल व्यवस्थापनमा गम्भीर हुनुपर्ने चुनौतीको एउटा ठूलो झड्का आइपरेको छ ।

नेपालको कानुनी पृष्ठभूमि हिन्दु धर्ममा आधारित रहँदै आएको थियो । वर्तमान संविधानले धर्मनिरपेक्ष देश घोषणा गरे पनि व्यवहारमा लागू हुन निकै चुनौतीहरु विद्यमान छन । हिन्दु वर्णाश्रमले जातीय विभाजनको रेखा कोरेको नेपाली समाजमा पहिलो लिखित र सङ्ग्रहित कानुन १९१० को मुलुकी ऐनले धेरै हिन्दुधर्ममा आधारित भेदभाव र उत्पीडनहरु बोकर आएको थियो । महिला पुरुषबीचको उत्पीडन, तल्लो जात माथिल्लो जातबीचको छुवाछूत, धर्मिक असहिष्ण्ुाता, सतीप्रथा, जार काट्ने प्रथा र कैयौँ कुरीति र अन्धविस्वासहरु व्याप्त थिए । वेद, धामिर्क  ग्रन्थ, श्रृति, स्मृति, इस्तिहार, ताडपत्र, तामापत्र, सिलापत्र, भुजापत्र, खड्ग निसाना र लालमोहर लगायत लिखीत अलिखित परम्पराहरु र प्रथाहरुको आधारमा (Non-State laws) चल्दै आएको नेपाली समाज अध्यापी कतियपय कुरीतिहरु पूर्ण परित्यागको अवस्थामा छैनन् । जातीय अहंकार, धार्मिक असहिष्णुता र एकाधिकारवादी सोचले गाँजिएको नेपाली समाजमा राजनीतिक परिवर्तनले मात्र समाजमा विद्यमान सबै समस्या परिवर्तन नहुने रहेछ भन्ने उदाहरण नेपाली समाजको चरित्र नजिकबाट हामी सबैले हेरिरहेको छौ । नेपालका राजा महाराजाहरुले साधु, सन्त, दरबारका पण्डित र पुरोहितले तयार गरेका हिन्दु धार्मिक संस्कारको आधारमा राज्य सञ्चालन गर्दै आएको हिन्दु धर्ममा आधारित नेपालको कानुनी इतिहासको शृङ्खलाबाट पनि प्रष्ट हुन्छ । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहु सांस्कृतिक देश भए पनि यहाँका विगतका राजा महाराजाहरु मध्ये विषेशतः राजा पृथ्वीनारायण पछिका हिन्दु राजाहरुले नेपाललाई एकल हिन्दु वर्णाश्रमकै आधारमा शासन सत्ता चलाउँदै आएका थिए । राजा भगवान विष्णुको अवतार मान्ने हिन्दु धर्मालम्बीहरु अझै त्यो सोचमा नतमस्तक छन् । २००७ सालपछिका राजनीतिक परिवर्तन, विशेषतः पञ्चायती शासकहरुले हिन्दु धर्मको पक्षमा छरेका भ्रमहरुले नेपाली समाजलाई अझै शान्तिपूर्ण बन्न दिएको छैन । नेपाल बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले यो देशमा सबै धर्म, जाति, भाषा र संस्कृतिको स्वामित्व छ । सबैको बराबरी हक छ ।


रुकुम—जाजरकोट घटना सतहमा जातीय अन्तरविरोधको कारणले घटना घटित भएको भन्ने रूपपक्ष देखा परे पनि जातीय विभेदको कारणले मात्र त्यो घटना घटेको हो कि ? भनी निष्कर्षमा पुग्न सक्ने अवस्था छैन । सामाजिक सञ्जालका खबरहरु, पत्रपत्रिका प्रकाशित समाचार, स्थानीय व्यक्तिले व्यक्त गरेको भनाइ, पीडित पक्ष र युवती पक्षका व्यक्तिहरुले व्यक्त गरेको भनाइ आआफ्नो ठाउँमा उतिकै महत्त्वपूर्ण छ, तर घटना घट्नुको मुख्य कारण के हो ? यसको वास्तविकता र जरियाको बारेमा राज्यका सम्बद्ध निकायको ध्यान केन्द्रित हुन जरुरी छ ।


उचनिच गर्नु हुन्न, भेदभाव गर्नु हुन्न, थिचोमिचो गर्नु हुन्न भन्ने चेतनाको विकास समाजको गहिराइसम्म गर्न अझै सकेका छैनौँ । नेपाल सबैको साझा फूलबारी हो भन्ने समानता सम्बन्धी दृष्टिकोण अझै बलियो बनाउन सकेको छैनौ । एकधर्म, एकजात र एक संस्कृतिको दभदवा र  संरचनालाइ दस वर्षे जनयुद्धले केही हदसम्म छिन्नभिन्न पारे पनि जातीय भेदभाव विरुद्धको चेनतालाई जातीय एकाधिकारवादीहरुले पचाउन सकेको छैनन् । कुरीति र कुसंस्कारबाट नेपाली समाजमा हुकँर्दै आएको जातीय भेदभाव, अहङ्कारता र थिचोमिचोको पेचिलो व्यवहार अझै हट्न सकेको छैन । त्यही छिपछिपे दलदलबाट नेपाली समाजलाई  मुक्त गराउन नसकेसम्म नेपाली समाजमा भेदभाव र अत्याचारको खाडल पुरिनेवाल छैन । संविधानले घोषणा गरेको धर्म निरपेक्षता र छुवाछूत विरुद्धको कानुन कार्यान्वयन गर्न राज्येले कठोरतापूर्वक विशेष जनचेतनामूलक कार्यक्रमहरु तर्जुमा गर्न जरुरी छ । राजनीति र जनप्रनिधि हेरफेर गर्ने निर्वाचनलाई तीव्रता दिने समाजिक परिवर्तनका पक्षहरुलाई जहीँको तहीँ छाड्ने, समाजिक अन्धविश्वास, कुरीतिलाई चुनावको बेला घोषणापत्रमा मात्र सिमीत गर्ने अघि पछि राज्यले कुनै योजना र कार्यक्रम तय नगर्ने परिपाटीले नेपाली समाज अहिले अति संवेदनशील र विक्षिप्त अवस्थामा पुगेको देखिन्छ । कुनबेला कुन स्थानमा कस्तो अपराध घटित हुन्छ । त्यो सामान्य आकलनको घेरा बाहिर पुगी सकेको अवस्था छ । राज्यले जनताको जिउ, ज्यानप्रति संवेदनशील हुन अनिवार्य छ । रुकुम घटनाको समग्रह परिदृश्यले राज्यलाई थप चुनौती सिर्जना गरेको छ ।

रुकुम—जाजरकोट घटना सतहमा जातीय अन्तरविरोधको कारणले घटना घटित भएको भन्ने रूपपक्ष देखा परे पनि जातीय विभेदको कारणले मात्र त्यो घटना घटेको हो कि ? भनी निष्कर्षमा पुग्न सक्ने अवस्था छैन । सामाजिक सञ्जालका खबरहरु, पत्रपत्रिका प्रकाशित समाचार, स्थानीय व्यक्तिले व्यक्त गरेको भनाइ, पीडित पक्ष र युवती पक्षका व्यक्तिहरुले व्यक्त गरेको भनाइ आआफ्नो ठाउँमा उतिकै महत्त्वपूर्ण छ, तर घटना घट्नुको मुख्य कारण के हो ? यसको वास्तविकता र जरियाको बारेमा राज्यका सम्बद्ध निकायको ध्यान केन्द्रित हुन जरुरी छ । यो घटनाको सन्दर्भलाई लिएर राज्य गम्भीर हुन जरुरी छ । समाजको उत्पत्तिसँगै अपराधको उत्पत्ति भएको हो । समाज रहुन्जेल अपराध कुनै न कुनै भेषबाट समाजमा प्रकट भई  पिरोलि नै रहन्छ । यस्को न्यूनीकरण र नियन्त्रण राज्यले गर्नुपर्छ । अपराधरहित समाजको परिकल्पना गर्न असम्भव छ । राज्यले सकेसम्म आपराधिक गतिविधि सिर्जना गर्न नदिन समाजको विकासक्रमसँगै सम्भावित अपराध नियन्त्रणबारे गहन अध्ययन अनुसन्धान जारी राख्नु पर्छ । अपराध निरोधात्मक उपायबारे अध्ययन अनुसन्धान गर्ने आधाकारिक निकाय अरु स्थापना गर्नु पर्छ । अपराध भएपछि मात्र त्यो अपराधबारे अध्ययन अनुसन्धान, अपराधको कारण, अपराधिको खोजविन, अनुसन्धान, अभियोजन, मुद्दा दायर तथा अपराधीलाई कानुनी कारवाही माग, अदालतको फैसला, सजाय र फैसला कार्यान्वयन, जस्ता प्रक्रिया अगाडि बढ्छ । यो राज्यको उत्पतिसँगै विकास भएको प्रक्रिया हो । तर नेपालको सन्दर्भमा छलफल गर्नुपर्दा समाजमा आपराधिक क्रियाकलाप न्यूनीकरण र नियन्त्रणसम्बन्धी अध्ययन, अनुसन्धान  गर्ने कुनै औपचारिक निकाय सरकारले गठन गर्न सकेको छैन । समाजको गतिसँगै अपराधको विकास हुन्छ । तर आपराधिक घटना घटित भइसकेपछि अनुसन्धान गर्ने प्रहरी, अभियोजन दर्ता गर्ने, जिल्ला सरकारी वकिल कार्यालय, सो मुद्दामा सीमित भई न्याय सम्पादन गर्ने अदालतबाट समाजमा घटित हुने अपराधजन्य कार्यको बारेमा अध्ययन, अनुसन्धान र विषेशतः अपराधशास्त्रीय कोणबाट हुने अपराधको निरोधात्मक पक्षको अध्ययनले पूर्णता प्राप्त गर्न सक्तैन ।


राजनीति निर्मम र महँगो सावित हुँदै गएको छ । यी विषयमा सरकारसँग कुनै अध्ययन, आँकडा, तथ्याङ्क छ ? छैन ? अत्तोपत्तो छैन । यस्तो विकराल र नैराश्यपूर्ण अवस्थामा पनि नेपाली समाजले धेरै हदसम्म संयम र धैर्यता राखेको देखिन्छ । तर रुकुम घटना अप्रत्यासित त्यही पेरिफेरिमा घटित दुःखद् र नेपाली समाजमा आइपरेको अपवादको घटनाको रूपमा देखा सर्यो ।


नेपालको फौज्दारी न्याय प्रणालीमा अपराधशास्त्रीय कोणबाट अध्ययन अनुसन्धान गर्ने निकायको ठूलो अभाव खड्की रहेको छ । समाज विकासको विभिन्न चरण, सामाजिक, बनोट, भूगोल, वातावरण, मौसम, आर्थिक सम्बन्ध र उत्पादन, संस्कृति, अपराधीहरुको शारीरिक बनोट, आहार व्यवहार र आचरण समेतका आदि कारणहरु परम्परागत अपराधको मुख्य कारण बन्न सक्छ भन्ने अपराधशास्त्रीहरुको भनाइ नेपालको सन्दर्भमा अध्ययनको विषय नै बनेको छैन । अन्य मुलुकहरु जस्तै अमेरिकाको सिकागो सहरमा अपराध र अपराधशास्त्रको सन्दर्भमा नवीन अध्ययन गर्न सन् १९०९ मा National conference of Criminal law and Criminology को बैठक बसी उक्त बैठकले The Institution of Criminal law and Criminology  गठन भएको थियो । त्यसैगरी बेलायतको क्याम्ब्रिजमा सन् १९५९ मा Institution Of Criminology र भारतमा सन् १९७१ मा Institution of Criminology and Forensic नामको संस्था गठन भएको थियो । नेपालको सन्दर्भमा सरकारी मुद्दासम्बन्धी एैन २०१७ लागू भएको र परिमार्जित मुलुकी ऐन २०२० प्रारभ्भ भएको ५०औँ वर्ष व्यथित हुँदा पनि नेपालको फौज्दारी न्याय प्रणालीलाई आधुनिक उचाइमा विकास गर्न अपराधको आधुनिक एवं नवीन रूप अध्ययन गर्ने कुनै संस्थाको गठन गर्न नसक्नुले आफैमा एउटा विडम्बना भएको छ । अपराधशास्त्रीय कोणबाट हेर्दा रुकुम—जाजरकोटमा घटित यो घटना सामान्य छैन । घटनाको स्वरूप र मृतक युवाहरुको मृत्युको कारण के हो ? राज्यले स्वतन्त्र रूपमा अध्ययन अनुसन्धान गरी निष्कर्षमा पुग्न जरुरी छ । सामान्य औपचारिकता पूरा गरेर अमुक निर्दोष व्यक्तिहरुलाई अपराधी घोषित गर्ने वा मृतकहरुकै दोष देखाएर वास्तविक अपराधीहरुलाई उन्मुक्ति दिने यी दुवै कार्य हुन नदिन सरकार समयमै सचेत हुनु जरुरी छ ।

रुकुम—जाजरकोट जिल्लाहरु भौतिक विकासले विस्तारै पखेटा फैलाएका जिल्ला भए पनि यी दुवै जिल्ला विगतका सामन्ती शासकहरुको केन्द्रीय सम्पर्क कायम रहेको जिल्लाहरु हुन् । उनीहरुको पारिवारिक सम्बन्ध वाक्लै भएको जिल्ला भएकाले बहुदलको पुनस्र्थापना र दस वर्षे जनयुद्धले जनतामा आएको चेतनाको कारणले विगतका शासकहरु केही खुम्चिएर बस्न बाध्य भए पनि बेलाबखतमा उनीहरुले त्यहाँको सामाजिक संरचनामा खलल पैदा गर्न उद्यत भइरहने हुन्छ । सामाजिक र वर्गीय अन्तरविरोधको कारणबाट पैदा हुने प्रत्येक अवस्थालाई अवसरमा बदल्ने यथास्थितिवादीहरुको मूल प्रवृत्ति हुने हुँदा यस घटनालाई बढी उछाल्न सक्नेतर्फ पनि राज्यस्तरबाट ध्यान केन्द्रित गर्न जरुरी छ । यस घटनामा अपराधीहरु को हुन् ? कसले यस्तो घटना घटाए राज्य तहबाट हुने अनुसन्धानबाट निक्र्यौल होला नै । तर यस्ता प्रकृतिका घटनाहरु देशको जुनसुकै भागमा जुनसुकै बेला घटित हुन सक्ने अवस्थातर्फ भने सजग हुन जरुरी छ । किनकि वर्तमान समाज अत्यन्तै संक्रमनमा अगाडि बढिरहेको छ । मुलुकमा गणतन्त्र आयो, ठूलो राजनितिक परिवर्तन भयो तर गाउँ, घर, रित्तिएको छ, युवाहरु बेरोजगार छन् । अत्यधिक युवाहरु, घर, गाउँ, बस्ती खाली गरेर विदेशिएका छन् । देशभित्र उत्पादन शक्ति अत्यन्तै कमजोर छ । पढेलेखेका मानिस समेत बेरोजगार भई भौँतारिएका छन् । परम्परागत खेती, बस्तुभाउ पाल्ने प्रणाली अन्त्य भएको छ । घरखेत बाँझो छ । गाउँका मानिस, सदरमुकाम र बजार क्षेत्रमा केन्द्रित छन् । श्रममा व्यवस्थित ज्याला छैन, विदेश गएकाहरुको परिवार वृद्ध सासूससुरा गाउँमा छोडेर बालबच्चालाई शिक्षा दिलाउने बहानामा सदर मुकाम र सहर केन्द्रित छन् । आम जनताको जीवन, सन्तोषपूर्ण छैन, महत्त्वाकाङ्क्षा बढिरहेको छ । कोहीभन्दा कोही घटी हुने अवस्था छैन, औकात र क्षमताभन्दा प्रतिस्पर्धा बढी छ । बजार, अर्थतन्त्र, क्रयशक्ति अस्तव्यस्त छ । नेपाली समाजले विकास गरेको जिम्मेवारी, मर्यादा, सम्मान, योगदान र सहयोगी भावनामा ह्रास हँुदै गएको छ । समाज सेवाहरु नाफा परिवर्तन भएको छन् । राजनीति निर्मम र महँगो सावित हुँदै गएको छ । यी विषयमा सरकारसँग कुनै अध्ययन, आँकडा, तथ्याङ्क छ ? छैन ? अत्तोपत्तो छैन । यस्तो विकराल र नैराश्यपूर्ण अवस्थामा पनि नेपाली समाजले धेरै हदसम्म संयम र धैर्यता राखेको देखिन्छ । तर रुकुम घटना अप्रत्यासित त्यही पेरिफेरिमा घटित दुःखद् र नेपाली समाजमा आइपरेको अपवादको घटनाको रूपमा देखा सर्यो ।


घटनाको प्रकृति हेर्दा यति धेरै युवाको दुःखदायी मृत्यु कसरी भयो त ? यस्तो अवस्था सिर्जना कसरी भयो ? भन्ने विषय अपराधको प्रकृतिको आधारमा निकै गम्भीर, राज्यको सुरक्षा प्रवन्धलाई चुनौती दिने, समाजलाई आतङ्कित बनाउने प्रकृतिको देखिएको छ । मृतक युवाहरुबाट लकडाउनको अवस्थामा अर्को गाउँमा गएको, गाउँलेहरु र मृतक युवराजको समूहबीच झडप भई भागाभाग भई भेरीमा हाम फालेको हो वा कुटपिटपछि भेरीमा फालेको ? प्रेममा परेको युवतीको आधिकारिक भनाइ सार्वजनिक हुन नसकेको जस्ता थुप्रै प्रश्नहरु अन्तरनिहित छन् ।


रुकुम घटना जातीय विभेदको आधारमा घटित भएको कारण छलफलमा देखा परे पनि निरपेक्ष त्यो मात्र होइन । जातीय विभेद सामाजिक कुरीति र धार्मिक एकाधिकारवादको एउटा अध्याय हो  । मुख्यतः रुकुम घटना समग्र सामाजिक अस्तव्यस्ताको कारणले घटित घटनाका रूपमा बहस गर्न जरुरी छ । मृतकहरुको मृत्यको कारण कुटपीटबाट हो ? वा भेरीमा आफै आफै हामफालेर भएको हो ? यो विशुद्ध मेडिकल जुरिस्पिडेन्सको आधारमा मेडिकल जाँचबाट विशेषज्ञले पत्ता लगाई चिकित्सको रायलाई अदालतको अन्तिम परीक्षणबाट निक्र्यौल हुने विषय हो । तर घटना घट्नु पछाडिको कारक वारे अध्ययन छलफल हुन जरुरी छ । यसबाट भविष्यमा अरू घटना घटन नदिनेतर्फ समाजलाई सचेत बनाउँछ । रुकुम घटना सैद्धान्तिक रूपमा सामाजिक अस्तव्यस्ताको कारणले घटित भएको हुन सक्ने बलियो आधार देखिन्छ । अमेरिकी अपराधशास्त्रीहरु क्रमशः थोमस र जेनकीले सामाजिक परिवर्तनको कारणले पनि आपराधिक घटना घट्ने तर्क गरेका छन् । समाज सन्तुलित हुन सकेन भने त्यहाँ अपराध हुर्कने ठूलो सम्भावना रहन्छ । समाजको कुनै न कुनै रूपमा विकास भइरहेको हुन्छ । तर त्यो विकासलाई सन्तुलनमा राख्न नसक्दा अस्तव्यस्त सिर्जना हुन सक्छ । जसरी एउटा व्यक्ति असन्तुलित हुन्छ समाज पनि त्यसरी नै असन्तुलित हुन सक्छ । त्यस्को विविध कारण हुन सक्छ । जसमध्ये सामाजिक परिस्थितिअनुसार चल्न नसक्नु, सामाजिक अस्तव्यस्ताको कारणले मानिसमा आउन सक्ने वैयक्तिक अस्तव्यस्तता र वैयक्तिक अस्तव्यस्तताबाट सिर्जित हुने जनसङ्ख्याको अप्रत्यासित वृद्धि भएमा, जनसङ्ख्या घटेमा, रोग, दुर्भिक्ष र महामारी फैलिई समाजको सङ्गठित शक्ति खुकुलो हुनु, पुरानो र नयाँ धारबीच प्रतिस्पर्धा भएमा, विज्ञान र प्रविधिको दु्रत गतिले विकास भएमा पनि सामाजिक सङ्गठन खुकुलो हुन्छ । यस परिस्थितिमा यस्ता अकल्पनीय अपराधहरु घटन सक्छ (आचार्य प्रा. माधवप्रसाद, अपराधशास्त्र पेज ७७) ।

नेपाली समाजमा अपराधको परम्परागत सोचहरुमा परिवर्तन हुन सकेको छैन । त्यस्तो अपराधको अध्ययनको बारे परिवर्तित सोच निर्माण गर्ने संस्था निर्माण हुन सकेको छैन । जनशक्ति उत्पादन हुन सकेको छैन । होहल्ला र पहुँचको आधारमा निष्कर्षमा पुग्ने बानी नेपालीहरुका व्यापक छ । विशेषज्ञतालाई व्यवस्थापन गर्न नसक्नु अर्को समस्या छ । वास्तवमा रुकुम घटनालाई जातीय अन्तरविरोधको कारणले घटित भएको भनी पन्छाउने भन्दा पनि यसको गहन अध्ययन हुनु जरुरी छ । अपराशास्त्रको सामाजिक अस्तव्यस्तताको सिद्धान्तको आधारमा रुकुम घटनालाई हेर्दा जातीय कारणको रूपमा उक्त घटना घटित भएको निष्कर्षभन्दा पनि हाल विद्यमान सामाजिक अस्तव्यस्तताको कारण नै नजिक देखिन्छ । उक्त घटनाको बारे विभिन्न सञ्चार माध्यामबाट प्रवाह भएको समाचारको आधारमा विवाद नभएको विषयतर्फ हेर्दा मृतक नवराज विक र मल्ल थरकी युवतीबीच प्रेम भएको, नवराजको घरमा आवत जावत भएको, गत वैशाखमा पनि पक्राउ गरी नवराज लगायतका युवाहरुलाई चौकी पु-याएको, उनीहरुको सम्बन्ध सार्वजनिक भएको, दुवै गाउँ वारिपारि, नवराजका परिवार र युवतीका परिवारबीच जान पहिचान भएका जस्ता विषयहरु सञ्चार माध्यमबाट देखिन्छ । तर घटनाको प्रकृति हेर्दा यति धेरै युवाको दुःखदायी मृत्यु कसरी भयो त ? यस्तो अवस्था सिर्जना कसरी भयो ? भन्ने विषय अपराधको प्रकृतिको आधारमा निकै गम्भीर, राज्यको सुरक्षा प्रवन्धलाई चुनौती दिने, समाजलाई आतङ्कित बनाउने प्रकृतिको देखिएको छ । मृतक युवाहरुबाट लकडाउनको अवस्थामा अर्को गाउँमा गएको, गाउँलेहरु र मृतक युवराजको समूहबीच झडप भई भागाभाग भई भेरीमा हाम फालेको हो वा कुटपिटपछि भेरीमा फालेको ? प्रेममा परेको युवतीको आधिकारिक भनाइ सार्वजनिक हुन नसकेको जस्ता थुप्रै प्रश्नहरु अन्तरनिहित छन् । साथै घटना घटित भएको १ हप्तासम्म जिल्लाका अधिकारीहरु घटनास्थल नपुगेको यी यावत प्रश्नले नेपाली समाजको असङ्गठीत स्वरूपको कारण यस्तो गम्भीर घटना रुकुम—जाजरकोटमा प्रकट भएको हो कि ? भन्ने सम्भावनाको नजिक देखिन्छ । यस घटनाको छानबिनको लागि सङ्घ वा प्रदेशस्तरबाट यथासक्य प्रतिवेदन दिने गरी विशेषज्ञ टोली खटाई पहल लिन जरुरी थियो । यस घटनाबाट सरकारले समयमै सचेत भई यस्तो घटनाको पुनरावृत्ति देशको अन्य स्थानमा हुन नदिन तत्परता अपनाउनु पर्छ । केवल जातीय उत्पीडन र विभेदका कारणले मात्र यो घटना घटेको भन्ने निष्कर्षमा पुग्न मिल्दैन । जातीय विभेद र उत्पीडन पूर्ण अन्त्य भएको त छैन, संविधानमा उल्लेख गर्दैमा कानुन तर्जुमा गर्दैमा अन्त्य हुँदैन । त्यसको कडाइ कार्यान्वयन जरुरी हुन्छ । तर समाजमा विकसित यावत कारणलाई पन्छाएर कुनै अमुक कारणलाई मात्र इङ्गित गर्न मिल्दैन । यस्ले झन् द्वन्द्व चर्काउन सक्छ । रुकुम घटनाले अमुक एक समुदाय र जाति विशेषको मात्र पीडाको विषय हैन । सम्पूर्ण नेपालिको यो घटनाबाट आक्रान्त छन् । यसबाट सबै नेपालीले शिक्षा ग्रहण गर्न जरुरी छ । विश्वमै कोरोना मात्र हैन, त्यसको प्रभावले सामाजिक अराजकता फैलिने सम्भावना बढिरहेको छ । अमेरिकामा गत केही दिनयता फैलिएको अराजकता, आगजनी र लुटपाट पनि समाजको असङ्गठीत खुकुलोपनकै कारणको रूपमा देखिँदै छ । सामान्य विषयबाट पनि समाज उत्तेजित हुने, असङ्गठित शक्तिले आतङ्क फैलाउने, लुटपाट, आगजनी हुने जस्ता सामाजिक तनाव र अस्तव्यस्तताले अपराधको जन्म गराउने हुन्छ । यसतर्फ राज्यले समयमै सचेतना अपनाउन जरुरी छ । वर्तमान सवेदनहीन अवस्थाको यथासक्य अन्त्य हुन अनिवार्य छ । अपराधशास्त्रीय दृष्टिकोणबाट अपराध भयो भनी चिन्ता गर्नुभन्दा अपराध हुन नदिने उपाय रोज्नु फौज्दारी न्याय प्रणालीको मुख्य ध्येय र उद्देश्यलाई पक्रनु सुशासन पक्षधर सरकारको मुख्य कर्तव्य हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्ति प्रधान
मुक्ति प्रधान

(लेखक वरिष्ठ अधिवक्ता, पूर्वमहान्याधिवक्ता तथा नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

लेखकबाट थप