बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी प्रमुखको ट्रम्पलाई सुझाव, ‘ढङ्गको केही बोल्न सक्नुहुन्नँ भने मुख बन्द राख्नुहोस्’

बुधबार, २१ जेठ २०७७, ०६ : ३४
बुधबार, २१ जेठ २०७७

एक अफ्रिकी अमेरिकी नागरिकको प्रहरी हिरासतमा मृत्यु हुँदा पूरा अमेरिका अहिले रिसाएको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।

कति स्थानमा त यी प्रदर्शनले हिंस्रक रुपमा लिएको छ र प्रशासनले राजधानी वासिङ्टनसमेत थुप्रै ठूला शहरमा रात्री कर्फ्यूसमेत लगाउनु परेको छ ।

वास्तवमा, करिब हप्तादिन अघि अमेरिकामा एक श्वेत प्रहरी अधिकारीका कारण अश्वेत व्यक्ति जर्ज फ्लोयडको मृत्युको विषयमा हिंस्रक विरोध प्रदर्शन भइरहेको छ ।

विरोध प्रदर्शनका कारण कम्तिमा ४० शहरमा कर्फ्यू लगाइएको छ तर यति हुँदाहुँदै पनि मानिसहरु सडकमा उत्रिरहेका छन् ।

यसमा कुनै शंका छैन यी प्रदर्शनले राष्ट्रपति डोनल्ड ट्रम्पको चिन्ता पनि बढेको छ ।

यसै वर्षको अन्त्यमा राष्ट्रपति चुनाव हँदैछ । एकातिर ट्रम्प कोरोना महामारीको संकटसँग जुधिरहेका छन् भने अर्कोतफए अब यो हिंसाले उनका लागि नयाँ समस्या खडा गरिदिएको छ ।

 ट्रम्पले बढ्दो हिंसामाथि चेतावनी दिँदै यदि राज्यका गभर्नरले स्थिती नियन्त्रण गर्न विफल भए शान्ति स्थापनाको काम सेनालाई सुम्पिने बताएका थिए ।

 यतिमात्रै होइन उनले अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युको विषयमा भइरहेको विरोध प्रदर्शनको आडमा एन्टिफाले दंगा भड्काएको पनि आरोप लगाए । उनले फासीवाद विरोधी समूह एन्टिफालाई आतंककारी संगठन घोषणा गरिने पनि जानकारी दिए ।

यसैबीच अमेरिकाका एक प्रमुख शहर ह्यूस्टनका प्रहरी प्रमुख आर्ट अक्वेडोको एउटा बयान चर्चामा आएको छ । एक समाचार च्यानलसँग कुरा गर्दै उनले डोनल्ड ट्रम्पलाई चुप बस्न सल्लाह दिए ।

अक्वेडोको भनाई थियो, ‘म यो देशको प्रहरी प्रमुख भएको नातालाई अमेरिकी राष्ट्रपतिलाई यो भन्न चाहन्छु कि यदि तपाईं ढङ्गको कुरा गर्न सक्नुहुन्नँ भने आफ्नो मुख बन्द राख्नुहोस् ।’

अक्वेडोले भने, ‘तपाईं सन् २०२० मा मानिसहरुलाई खतरामा पारिरहनुभएको छ । यो समय भनेको मानिसहरु मन जित्ने हो उनीहरुलाई धम्काउने होइन । पूरा देशभरी प्रहरी अधिकारी घाइते भएका छन्, मानिसहरु घाइते भएका छन् । यस्तोमा हामीलाई नेतृत्वको आवश्यकता छ । तर नेतृत्वले हामीलाई दुःखी बनाइरहेको छ । तपाईं एक राष्ट्रपति हुनुहुन्छ र त्यसैलाई ध्यानमा राखेर आफ्नो निर्णय गर्नुहोस् । यो हलिउड होइन । यो वास्तविक जीवन हो र यो खतरामा छ ।’

यो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ र मानिसहरु प्रहरी प्रमुख अक्वेडोको तारिफ गर्दै ट्रम्पको आलोचना गरिरहेका छन् ।

वाल डेमिङ्गले ट्वीट गरे, ‘जब हामीले ट्रम्पमाथि महाभियोग चलाएका थियौं तब हामीले उनी तानाशाहतर्फ लम्किरहेको भन्दै चेतावनी दिएका थियौं । मैले त्यतिबेला जे आशंका गरेको थिएँ त्यो अहिले विश्वासमा परिणत भएको छ । यी राष्ट्रपति लोकतन्त्र, हाम्रो परिवार र हाम्रा लागि खतरा हुन् ।’

गभर्नर क्रिस्टिन टोड विटम्यानले ट्वीट गरिन्, ‘कृपया तपाईं यो संकटबाट टाढै बस्नुहोस् । गभर्नरले के गर्नुपर्छ भनेर उनीहरुलाई नभन्नुहोस् । मानिसहरुलाई शान्त र एकजुट रहन अपिल गर्नुको साटो तपाईं ह्वाइट हाउसको बेसमेन्टमा हुनुहुन्छ र शान्त हुनुहुन्छ । जबकि गभर्नर र मेयर सक्रिय छन् ।’

यद्यपि, यस्ता केही मानिसहरु पनि छन् जो प्रहरीको भूमिकासँग सन्तुष्ट छैनन् र सोसल मिडियामा यसबारे प्रश्न पनि उठाइरहेका छन् ।

एच रोजर्सले लेखेका छन्, ‘म अमेरिकाका प्रहरी प्रमुखलाई भन्न चाहन्छु कि यदि तपाईं आफ्नो काम गर्न सक्नुहुन्नँ, मानिसहरुको जीउधनको रक्षा गर्न सक्नुहुन्नँ भने किनारा लाग्नुहोस् र अरु कसैलाई यो काम गर्न दिनुहोस् ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप