शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति ट्रम्पलाई ह्युस्टन प्रहरी प्रमुखको सुझावः तपाईंको मुख बन्द राख्नुहोस् !

मङ्गलबार, २० जेठ २०७७, २१ : ४२
मङ्गलबार, २० जेठ २०७७

टेक्सास राज्यको ह्युस्टन शहरका प्रहरी प्रमुख आर्ट एसभेडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुप लागेर बस्न सुझाव दिएका छन् । सीएनएनसँगको कुराकानीका दौरान प्रहरी प्रमुख एसभेडोले भन्नलाई केही रचनात्मक कुरा नभए ट्रम्पलाई चुप लागेर बस्न  सुझाव दिएका हुन् ।

उनले भने, ‘म यो देशका प्रहरी प्रमुखहरुको तर्फबाट अमेरिकाको राष्ट्रपतिलाई यो भन्न चाहन्छुः कृपया, तपाईंसँग भन्नलाई केही रचनात्मक कुरा छैन भने आफ्नो मुख बन्द राख्नुहोला ।’

मिनिसोटा राज्याको मिनियापोलिसमा प्रहरीबाट अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकाभर जारी प्रदर्शनबारे राज्यका गर्भनरहरुप्रति ट्रम्पले गरेको टिप्पणीपछि उनले सो कुरा बताएका हुन् ।

यसअघि ट्रम्पले ‘जब लुटपाट सुरु हुन्छ, तब गोली चल्न सुरु हुन्छ’ भन्ने ट्वीट गर्दै राज्यका मेयरहरुलाई प्रदर्शनकारीमाथि कडाइका साथ पेश हुन सुझाव दिएका थिए ।

घटनामा एक श्वेत प्रहरी अधिकारीमाथि हत्याको मुद्दा चलाइएको छ भने तीन जना अन्यलाई बर्खास्त गरिएको छ । तैपनि अमेरिका भर यसको विरोधमा प्रदर्शन भइरहेको छ । कतिपय स्थानमा झडप हिंस्रक समेत बनेको छ ।

सोमबार ट्रम्पले मेयरहरुसँगको छलफलमा उनीहरुलाई कमजोरको संज्ञा दिँदै प्रदर्शनकारीमाथि हाबी हुन सुझाव दिएका थिए । प्रदर्शनकारीमाथि नेसनल गार्डको प्रयोग गर्ने तर्फ उनको संकेत थियो ।

यता, प्रहरी प्रमुख एसभेडोले भने ट्रम्पले युवाहरुलाई जोखिममा पारेको आरोप लगाए । उनले भने, ‘यहाँ कसैमाथि हाबी हुने प्रश्न होइन । अहिले उनीहरुको मन जित्नु छ । हामी हाम्रो विनम्रतालाई कमजोरी नठान्न आग्रह गर्दछु ।’

चलचित्र फरेस्ट गम्पको डायलग सापट लिँदै उनले थपे, ‘यदी तपाईंसँग केही भन्नु छैन भने केही नबोल्नुहोस् ।’

उनले यतिबेला देशमा नेतृत्वको आवश्यकता रहेको बताउँदै राष्ट्रपतिलाई ‘एप्रेन्टिस’ नामक  रियालिटी टिभी शोमा जस्तै भन्दा पनि वास्तविक राष्ट्रपतिजस्तै बन्न आग्रह गरे । ‘यो हलिउड होइन, यो असली जीवन हो, यहाँ धेरैको ज्यान जोखिममा छ,’ उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप