शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष र विपक्षी दलका सांसदबीच जुहारी

मङ्गलबार, २० जेठ २०७७, १८ : ४३
मङ्गलबार, २० जेठ २०७७

पोखरा । गण्डकी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम ल्यायो । प्रदेश सभामा सो नीति तथा कार्यक्रम माथि छलफल चलिरहेको छ । 

छलफलका क्रममा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच जुहारी नै चलेको छ । नीति तथा कार्यक्रमको चर्को आलोचना गर्ने विपक्षी दलका सांसदमाथि सत्तापक्षका सांसदहरु खनिएका छन् । 

मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसद मेखलाल श्रेष्ठले नीति तथा कार्यक्रममाथि गरेको टिप्पणीलाई लिएर अधिकांश सांसद श्रेष्ठमाथि खनिए । श्रेष्ठले ‘नीति तथा कार्यक्रम पढ्दा १२ वर्ष रामायण पढायो सीता कस्की...,’ भन्ने जस्तो भएको टिप्पणी गरेका थिए । सोही टिप्पणीलाई लिएर सांसदहरु श्रेष्ठमाथि खनिएका छन् । 

सांसद श्रेष्ठको टिप्पणीमाथि कटाक्ष गर्दै सत्तापक्षका सांसदहरुले १२ वर्ष लगाएर रामायण पढ्नुको सट्टा १२ मिनेट मात्रै राजनीतिक आग्रह, पूर्वाग्रहबाट माथि उठेर नीति तथा कार्यक्रममा घोत्लिन सुझाएका छन् । कतिले १८/२० वर्ष नै लगाएर पढे पनि सीता रामकै जोई हुन्सम्म भन्न भ्याएका छन् । 

सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा बोल्दै सांसद धनञ्जय दवाडीले असामान्य परिस्थितिमा आएको नीति तथा कार्यक्रमलाई सामान्य परिस्थिति जस्तो ठानेर मानव सभ्यातामाथि परेको असामान्य अवस्था सामना गर्ने गरि आएको नीति तथा कार्यक्रम भनेर बुझ्नु पर्ने सुझाएका छन् । 

नीति तथा कार्यक्रमले निरोगी प्रदेशको बहुपक्षिय पहल गरेको उनको तक छ । ‘यो प्रदेशका जनताको स्वास्थ्यको पक्षमा पहल गर्दै सबैभन्दा पहिले उपचार, उपचारको पूर्वाधार निर्माणको अवधारणा अघि सारेको छ,’ उनले भने, ‘लागानी गर्ने प्रतिबद्धता गरेको छ । सरुवा रोग अस्पताल निर्माण गर्ने कुरा गरेको छ । जनताको स्वास्थ्य पहिलो कुरा हो भनेर जनस्वास्थ्यमा बेसि चासो राखेर यो नीति तथा कार्यक्रम आएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’
जनताको मत लिएको सरकार जनताप्रति प्रतिबद्ध सरकारले यिनै काम गर्नुपर्ने उनको मत छ । सांसद दवाडीले गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा अब्बल र अदुरदर्शि प्रदेश साबित भएको समेत भन्न भ्याएका छन् । 
नीति तथा कार्यक्रमले कोरोनाका कारण आक्रान्त अर्थतन्त्रलाई चलायमान बनाउने राम्रा योजना अघि सारेको उनको मत छ । एउटा योजनालाई बिचैमा छोडेर उत्तरदायि बन्न नसकिने उनले सुनाए । 

धेरै समय सरकारको बचाउमा खर्चेका सांसद दवाडीले अन्तिममा सांसद मेखलाल र प्रकाशचन्द्र दवाडीलाई कटाक्ष गर्दै देख्दा र बुझ्दा कहिलेकाहीं भ्रमहरु हुने बताए । ‘कथा पढेथेँ कतै, कालिदासको क लेख्दा क दुब्लाएर धरधरि रोएका थिए रे ! माननीयले पनि नीति तथा कार्यक्रम दुब्लाएको देख्दा धरधरि रोएको भन्नु भयो,’ उनले भने, ‘रुनुको कुनै अर्थ छैन, १२ वर्षसम्म रामायण पनि पढ्नु भएछ, दुनियाँले १८ वर्ष पढे पनि २० वर्ष पढे पनि सीता रामकै जोई हो । त्यसभन्दा बाहेक रामायणमा कुनै कथा छैन ।’ मुलुकको समृद्धिको निम्ति नेतृत्व गर्न कम्युनिष्टहरु नै  चाहिने समेत उनले दाबी गरे । 

विपक्षी दलका सांसदहरुले पनि कम्ति कटाक्ष गरेनन् । सरकारले ल्याएको नीति तथा कार्यक्रम केही पनि काम नलाग्ने माकुराको जालोजस्तो भएको समेत भन्न भ्याए । ‘यो नीति तथा कार्यक्रम माकुराको जालो जस्तै आएको छ, झ्याप्प हेर्दा पुरानै, पूरै ढाकेको जस्तो,’ सांसद आमेमकला गौतमले नीति तथा कार्यक्रमलाई व्यंग्य गर्दै भनिन्, ‘न त यसले घाम नै छेक्न सक्छ, न त पानी नै । न त यसले रोगलाई नै नियन्त्रण गर्न सक्छ । न त यसले भोको पेट नै भर्न सक्छ ।’ 

अर्का सांसद दीपक कोइरालाले सरकारले मेहेनत गरेर ल्याएको प्रतिक्रिया दिए । व्यवस्था परिवर्तन गरे पनि कार्यशैलीमा भने अझैं परिवर्तन नआएको उनले बताए । ‘व्यवस्था परिवर्तन ग¥यौं, कार्यशैली किन परिवर्तन गर्न सकेनौं भन्ने मेन कुरा हो,’ उनल भने, ‘कार्यशैली परिवर्तन गरेर अघि बढ्दा प्रदेश सरकारले लिएका लक्ष पूरा हुन सक्छ ।’ शहिद र बेपत्ता पारेका परिवारको खोजी हुनु पर्ने उनले सरकारसामु माग राखेका थिए । 

सांसद राजीव पहारीले पनि अधिकांश समय सरकारको बचाउ गर्नमा खर्चिए । आगामी आर्थिक वर्षको लागि गण्डकी प्रदेश सरकारले स्पष्ट भिजन र भिजनलाई कार्यान्वयन गर्न एक्सनका साथ सुत्रगत रुपमा नीति तथा कार्यक्रम ल्याएको उनले बताए । सरकारको बचाउ सँगसँगै सांसद पहारीले विपक्षी दलका सांसदहरुलाई कटाक्ष पनि गर्न भ्याए । ‘यो पौराणीक ग्रन्थ रामायणमा रावणले सीतलाई हरण गरेको जस्तो पनि छैन । हनुमानले लंकामा आगो लगाए जस्तो पनि छैन,’ उनले भने, ‘यो नीति तथा कार्यक्रम त जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ ? जनतालाई कसरी खुसी र सुखी बनाउन सकिन्छ जनताले दैनिक जीवनमा अनुभूत गर्न सक्ने गरि आएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप