शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

इजराइलबाट फर्केर 'कृषि क्रान्ति'

बुधबार, २१ भदौ २०७४, ११ : १४
बुधबार, २१ भदौ २०७४

काठमाडौं–वैदेशिक रोजगारीबाट फर्केका वालिङ १४ स्याङ्जाका अर्जुन लुइटेललाई कृषिमा नयाँपन ल्याउने हुटहुटीले सताइरहन्थ्यो । सात वर्ष इजरायलको कृषि कर्ममा बिताएका लुइटेलले २०६८ सालबाट सुरु गरेको कृषि फर्मलाई कृषि तालिम केन्द्रमा  परिणत गर्न त्यही हुटहुटीले बल दियो । पाँच जनाबाट सुरु गरिएको कृषि फर्म विस्तारित हुँदै कृषि तालिम केन्द्र भएपश्चात हजारौँ कृषक लाभान्वित भएका छन् ।

कृषि फर्मदेखि प्राङ्गारिक पाठशालामा फड्को 
इजरायलमा काम गरी लुइटेलसँगै फर्केका केही जुझारु युवाको टिमले स्वदेशमै कृषि क्षेत्रमा विकसित रुपको कृषि फर्म स्थापना गर्ने सोच बनाए । आधुनिक प्रविधि भित्र्याएर उब्जाउमा वृद्धि गर्ने उनीहरुको सोच थियो । उक्त सोचलाई मूर्त रुप दिनका लागि पाँच जनाको समूह बनाई सुन्दरीजलमा ३० रोपनीको जग्गालाई लिजमा लिए । आधुनिक प्रविधि मार्फत तरकारी खेती सुरु गरे । 
मलखाद र थोपा सिंचाइमा  इजरायलको प्रविधि मार्फत उत्पादन वृद्धि गर्न सफल भए । ग्रिन हाउस, पोली हाउस र थोपा सिंचाइमा नेपाली किसानलाई तालिमको अभाव रहेको लुइटेलले महशुस गरे । गरिरहेको टनेल खेती दुई जनालाई सुम्पिएर तीन जना साथीको साथ लिएर खुमलटारमा जी सेभेन एग्रिकल्चर प्रालि सञ्चालनमा ल्याए ।

तालिम केन्द्रबाट देशभरका किसान लाभान्वित 
जी सेभेन एग्रिकल्चरले देशभरका व्यावसायिक किसानलाई तालिम मार्फत कृषि क्षेत्रमा  उब्जाउ बढाउन कृषि कक्षा सञ्चालन गरिरहेको छ । तीन दिनका लागि सञ्चालन गरिने कक्षामा नेपालका अधिकांश क्षेत्रका किसानले कक्षा लिएको लुइटेलले बताए । दश बजेदेखि पाँच बजेसम्म सञ्चालन गरिने तालिमपश्चात व्यावसायिक किसान बनाउनका लागि आवश्यक ज्ञान प्रदान गरिने उनले बताए ।
 २० देखि ४० जनाको समूहलाई एक पटकमा तालिम प्रदान गर्ने जी सेभेनले प्रतिव्यक्ति २५ सय रुपयाँमा कक्षा दिइने जनाएको छ । सैद्धान्तिक तथा व्यावहारिक तालिम सञ्चालन गर्ने संस्थाको तालिमबाट फर्केका किसानमा अधिकांशले व्यावसायिक रुपमा खेती गरिरहेको जनाएको छ । जी सेभेन एग्रिकल्चरले कक्षा लिन आएका कृषकहरुलाई उब्जाउ भइरहेको क्षेत्रमा लगेर फिल्ड भिजिट पनि गराउने गरेको छ । कृषि तालिमका लागि केन्द्रमा आउने कृषकहरुले दश जना प्रावधिक मार्फत तालिम लिने गरेका छन् ।

थोपा सिंचाइ र टनेल हाउस ५२ जिल्लामा विस्तार 
जी सेभेन एग्रिकल्चर प्रालिले किसानका लागि ५२ जिल्लाका किसानलाई थोपा सिंचाइ र टनेल हाउस निर्माण गरी आफ्नो सञ्जाल विस्तार गरेको छ । तालिम केन्द्रका निर्देशक तथा  तालिम प्रमुख रहेका अर्जुन लुइँटेलले केरा खेतीमा उल्लेख्य प्रगति गरेको बताए । मुख्य गरी तराई क्षेत्रमा उत्पादन गरिने केराका लागि बाँके, बर्दिया र कैलालीमा मात्रै ८० विघामा थोपा सिंचाइ प्रणाली जडान गरेको बताए । तालिम केन्द्रले थोपा सिंचाइ, पोलिटनेल र ग्रिन हाउसको निर्माण गरिदिनुका साथै किसानलाई भविष्यमा आइपर्ने समस्याका बारेमा परामर्श दिइरहने लुइटेलले बताए ।
 हिमाली जिल्लाको मनाङदेखि तराईका बाके, बर्दिया कैलाली हुँदै पश्चिममा दार्चुलासम्म तालिम लिएका किसान निरन्तर सम्पर्कमा रहेकोमा उनी प्रसन्न देखिए । उत्पादनमा वृद्धि, कीटनासक औषधीको प्रयोग र मलखादको व्यवस्थापनका विषयमा तालिम छोडिसकेपछि पनि आवश्यक ज्ञान दिइरहने गरेको छ । पछिल्लो समय कौसी खेतीको प्रविधि पनि कक्षा सुरु गरिएको लुइटेल बताए । 

विदेशबाट आयात गरी कृषि सामग्री वितरण 
कृषि क्षेत्रमा निर्माण गरिएका सामग्री नेपाली कृषकका लागि पर्याप्त नरहेको अवस्थामा जी सेभेन एग्रिकल्चर प्रालिले अत्याधुनिक औजारहरु आयात गरी वितरण गरेको जनाएको छ । चीन र भारतमा उत्पादित कृषि औजारहरु आयात गरी भएको उत्पादनमा वृद्धि भएको लुइटेलको ठम्याइ रहेको छ । कृषि उपकरण आयातमा भन्सार मार्फत हुने कृषि छुटमा भनिए अनुसारको छुट प्राप्त गर्न नससिएकोमा सरकारप्रति लुइटेलको गुनासो रहेको छ । कृषिका लागि आयातित वस्तुको भन्सार छुट कागजी रुपमा उल्लेख गरे पनि स्पष्ट मापदण्डको निर्धारण नभएकाले समस्या पर्ने गरेको उनले बताए । ७० लाखबाट सुरु गरिएको कृषि फर्म प्राङ्गारिक पाठशालामा आइपुग्दा सात करोड रुपयाँको पुँजी भएको छ । 

प्राङ्गारिक तालिमपछि सन्तुष्ट कृषक
कानुन र राजनीति विषयमा अध्ययन गरेका लमजुङ बेँसीहरका ४८ वर्षे कृष्ण अधिकारीको आजभोलिको दैनिकी फेरिएको छ । प्राङ्गारिक पाठशालाबाट तालिम लिएपछि अधिकारीलाई बेँसीसहरको सहरी जीवन छोडेर लमजुङको राइनसको तार्कुघाटमा कृषि फर्म सुरु गर्ने आँट पलायो । अधिकारीले श्रीमतीलाई शहरमै छोडेर भाइको साथ लिएर तार्कुघाटमा कृषि फर्म सुरु गरे । विगत पाँच महिनाको अवधिमा उनको फर्मबाट दैनिक २०० केजी उत्पादन दिएको छ भने कामदार सङ्ख्या पाँच जना पुगेको छ । लगानी बढाउँदै लगेका अधिकारीले हालको पुँजी पचास लाख रुपयाँभन्दा बढी रहेको बताए । 
बेमौसमी तरकारी उत्पादन गर्दैै आएका अधिकारीले बेँसीसहरमा आफ्नो सबै उत्पादन खपत हुने गरेको बताए । तालिमपछि कृषि कर्ममा प्रवेश गर्दा व्यावसायिक कृषक बन्न सहज हुने अधिकारीले सुझाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप