सांसदको आक्रोशः बजेटअघि विद्युतीय सवारीमा कर बढ्ने सूचना कसरी लिक भयो ?
काठमाडौं । आगामी आर्थिक बर्षको बजेट आउनु अगावै विद्युतीय सवारी साधनको कर बढ्दैछ भन्ने सूचना लिक गरेर विद्युतीय कार भित्रेकोमा संसदले आक्रोश पोखेका छन् ।
बजेटमाथिको छलफलकै क्रममा सांसदहरुले कर बढ्ने सूचना बजेट अगावै कसरी लिक भयो ? भन्दै प्रश्न गरेका छन् । सांसद मिनेन्द्र रिजालले कर बढ्दै गर्दा सो गाडी भित्रिएकोमा प्रश्न गर्ने ठाउँ रहेको बताए । उनले भने, ‘बजेटमा बढ्दै गरेको करबारे व्यवसायीले कसरी जानकारी पाएर त्यति ठूलो संख्यामा सवारी भित्रिए भन्ने प्रश्न गर्ने ठाउँ छ ।’
अर्का संसद प्रेम सुवालले पनि बढ्दै गरेको करका विषयमा जानकारी दिएर व्यवसायीलाई फाइदा दिने काम कसरी भयो यसबारे अर्थमन्त्रीले जानकारी गराउनुपर्ने बताए ।
तर अर्थमन्त्री डा. युवराज खतिवडाले भने अर्थ मन्त्रालयबाट सूचना बाहिरिएर जान सम्भव नभएको बताए । उनले भने, ‘बजारलाई प्रभावित पार्न सकिँदैन । बजारले अनुमान गरेर वर्षेनी ठुलो संख्यामा गाडी भित्र्याउने गरेका छन् ।’