शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चैतमा तिर्नुपर्ने सबै कर जेठ मसान्तसम्म चुक्ता गर्नुपर्ने

मङ्गलबार, २० जेठ २०७७, १४ : ३७
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । आन्तरिक राजश्व विभागले जेठ महिनाभित्र यसअघिका सबै कर दायित्वहरु भुक्तानी गर्न ताकेता गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) का कारण देश लकडाउनमा भएको अवस्थामा दुई महिनादेखि पर सार्दै आएका करहरु तिर्न विभागले भनेको हो ।

विभागले प्रत्येक महिनाको २५ गतेसम्म भुक्तानी गर्नुपर्ने करहरु जेठ २५ गतेसम्म र प्रत्येक महिनाको मसान्तसम्म भुक्तानी गर्नुपर्ने करहरु जेठ मसान्तसम्म भुक्तानी गर्नुपर्ने जनाएको छ । जसअनुसार गत फागुन र चैत महिनाको मासिक विवरण, माघ र फागुन महिनाको द्वैमासिक विवरण र मंसिरदेखि फागुनसम्मको भ्याटको चौमासिक विवरण यही जेठ २५ गतेसम्म दाखिला गरिसक्नुपर्नेछ ।

त्यस्तै, फागुन र चैत महिनाको अन्तशुल्कबापतको कर समेत सोही अवधिमा बुझाइसक्नुपर्नेछ । अग्रिम आयकर कट्टीको रुपमा फागुन र चैत महिनाको अग्रिम करको विवरण बुझाउने र त्यसअनुसारको रकम दाखिला गर्ने अवधि पनि जेठ २५ गतेसम्म नै तोकिएको छ । त्यस्तै, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार शुल्क लगायत शुल्कहरु पनि सोही अवधिभित्र बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ । सामान्य अवस्थामा यी सबै दायित्व चैत २५ मा तिर्नुपर्ने दायित्व हो ।

आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापत तिर्नुपर्ने रकम भने जेठ मसान्तभित्र तिर्नुपर्ने व्यवस्था गरिएको छ । यो चैत मसान्तको दायित्व हो । सरकारले जेठ ३२ सम्मको लागि लकडाउन जारी राखेको छ । लकडाउन घोषणा भएका कारण बन्द रहेका उद्योग व्यवसायलाई राहत दिनका कर तिर्ने समय पर सारिएको भए पनि लकडाउन कायमै रहँदा यसलाई तिर्न ताकेत गरिएको हो । त्यसो त सरकारले, लकडाउन कायमै रहे पनि निश्चित शर्तमा रही निजी सवारीसाधन चल्न पाउनेगरी बिहीबारदेखि लकडाउन खुकुलो गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप