केन्द्रीय संस्करण
समाचार

विदेशबाट ल्याइने नेपाली नागरिकको यसरी हुँदैछ व्यवस्थापन

यात्रुको हवाई भाडा व्यक्ति स्वयंले बेहोर्ने, दैनिक खाना खर्च १७५ रुपैयाँ

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0

कोरोनाभाइरस (कोडिभ–१९)रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको जेठ १६ गते बसेको बैठकले भारतलगायत तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन कार्य योजना बनाएको छ । जसअन्र्तगत जेठ २६ गतेबाट कामदार ल्याउने तयारी सरकारले गरेको छ । 

लकडाउनका कारण लामो समयदेखि विदेशमा अलपत्र परेका, रोजगारी गुमाएका, पहिले नै टिकट काटेर पनि फर्कन नपाएका नागरिकहरुलाई ल्याउनका लागि तयारी सुरु भएको हो । पहिलो चरणमा समस्यामा परेका करिब २५ हजार नेपाली नागरिकहरुलाई ल्याउने तयारी भएको छ । 

तथ्यांक संकलन जारी, पहिलो चरणमा २५ हजारलाई स्वदेश ल्याइने
अहिले सरकारले विभिन्न देशमा समस्यामा परेका नागरिकहरुको तथ्यांक संकलनको काम गरिरहेको छ । प्राथमिकताका आधारमा ती नागरिकहरुलाई नेपाल ल्याउने तयारी भइरहेको छ । 

जेठ १६ गते बसेको समितिको बैठकले परराष्ट्र मन्त्रालयलाई १० दिनको समय दिएर लगत संकलन गर्न भनेको छ । यद्यपि त्यो भन्दा पहिले नै कतिपय दूतावासहरुले समस्यामा परेका र नेपाल फर्कन चाहेका कामदारहरुको तथ्यांक संकलन गरिसकेको छ । जसअन्तर्गत पहिलो चरणमा खाडी मुलुक तथा मलेसियामा रहेका करिब २५ हजार नागरिकलाई स्वदेश फिर्ता ल्याउन लागिएको छ । 

त्यसपछि पनि क्रमशः विदेशी भूमिमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

१४ दिन स्थानीय तह तथा ७ दिन होम क्वारेन्टिन अनिवार्य
सरकारले विदेशबाट ल्याउने कामदारहरुलाई कम्तीमा १४ दिन स्थानीय तहको क्वारेन्टिन तथा थप ७ दिन होम क्वारेन्टिनमा अनिवार्यरुपमा बस्नुपर्ने कार्यविधि बनाएको छ । 

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार विदेशबाट ल्याइने कामदारलाई सुरुको १४ दिन स्थानीय तह अर्थात् सरकारले बनाएको क्वारेन्टिन वा होटल क्वारेन्टिनमा राखिनेछ । त्यहाँ कोरोना संक्रमण नदेखिएको खण्डमा मात्रै उनीहरुलाई आफ्नो घरमा जान दिइनेछ । तर घरमा गएपछि उनी ती व्यक्ति र उनको परिवार अर्को एक साता घरबाट बाहिर निस्कन पाउने छैनन् । उनीहरु सबैलाई निगरानी र नियमन गरिने छ । 

कामदार विदेशबाट नेपाल फर्केपछि सुरुमा नेपाली सेनाले बनाएको होल्डिङ सेन्टरमा केही समय रहनेछन् । त्यसपछि प्रदेश वा स्थानीय तह अनुसार कुन स्थानीय तह वा जिल्ला हो, सोही स्थानमा पुराउने काम प्रदेश सरकार, नेपाली सेना, गृह मन्त्रालय र स्थानीय तहको समन्वयमा हुनेछ । त्यसपछि उनीहरु स्थानीय तह अर्थात् सरकारले बनाएको क्वारेन्टिनमा बस्ने कि होटल क्वारेन्टिनमा बस्ने कहाँ हो, त्यहीँ जानेछन् । 

कम्तीमा २ पटक कोरोना परीक्षण हुने
कोरोना  रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको कार्ययोजनाको बुँदा नम्बर २४ मा क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गर्ने कुरा उल्लेख गरिएको छ । यद्यपि स्वास्थ्य परीक्षण कुन विधिबाट गर्ने र कतिपटक गर्ने भन्ने कुरा उल्लेख गरिएको छैन । 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भने विदेशबाट फर्किएकाहरुको कम्तीमा २ पटक पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिनेछ । पहिलो चरणमा आएको एक साताभित्र र दोस्रो त्यसको एक सातापछि गरिनेछ । दुबै परीक्षणमा नतिजा नेगेटिभ आएको खण्डमा मात्रै उनीहरुलाई क्वारेन्टिनबाट बाहिर निस्कने अनुमति दिइनेछ ।

यदि परीक्षणका क्रममा कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिएको खण्डमा अन्य व्यक्तिहरुको क्वारेन्टिनको समय पनि बढ्न सक्नेछ । 

हवाइभाडा, यातायात खर्च र होटल क्वारेन्टिनको खर्च व्यक्ति स्वयंकै
अहिले सरकारले भारतलगायत तेस्रो मुलुकमा समस्यामा परेका नागरिकहरुलाई स्वदेश फर्काउने सम्बन्धमा तयार पारेको कार्यविधि र कार्ययोजना अनुसार विदेशबाट स्वदेश फर्कने यात्रुले हवाई भाडा, यातायात खर्च र होटल क्वारेन्टिनको खर्च आफै बेहोर्नु पर्नेछ । 

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २७ औं बैठकबाट पास भएको कार्ययोजना र कार्याविधि अनुसार विदशेबाट नेपाल आउँदाको हवाइभाडा, काठमाडौंबाट स्थानीय तह वा जिल्लासम्म लाग्ने यातायात खर्च र जिल्लास्थित होटल क्वारेन्टिनमा बस्ने भए त्यहाँ बस्दा लाग्ने खर्च पनि व्यक्ति स्वयंले तिर्नुपर्नेछ । तर यदि स्थानीय तह अर्थात् सरकारले बनाएको क्वारेन्टिनमा बस्ने हो भने बास र खाना खर्च सरकारले नै बेहोर्नेछ । यद्यपि जुन क्वारेन्टिनमा बसेपनि काठमाडौंदेखि जिल्ला वा स्थानीय तहसम्म जाने यातायात खर्च र नेपालसम्म आउँदा लाग्ने हवाई शुल्क भने व्यक्ति स्वयंले तिर्नुपर्नेछ । 

हवाई भाडा दुईतर्फी नै लाग्न सक्ने
अहिले धेरैको चासोको विषय हवाई भाडा कति लाग्छ भन्ने रहेको छ । यद्यपि सरकारले यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । सम्भवतः मंगलबार साँझसम्ममा विदशेमा रहेका नेपाली नागरिकहरुलाई फिर्ता ल्याउनेसम्बन्धी कार्यविधि आउनेछ । त्यहाँ यसबारेमा केही सम्बोधन हुन सक्ने भएपनि प्रारम्भिक सूचनालाई हेर्ने हो भने यात्रुले दुईतर्फी नै भाडा तिर्नुपर्नेछ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार विदशेबाट कामदार ल्याउने उडान नियमित उडान नभएकाले चार्टर उडानवापत लाग्ने शुल्कलाई भाग लगाएर नै यात्रुहरुले रकम बुझाउनु पर्नेछ ।
अहिले नेपाल एअरलाइन्सको भाडादर प्रतिघण्टा १८ हजार १ सय डलर रहेको छ । यही भाडादरलाई आधार मानेर कुन देश जाने, त्यहाँ पुग्न कति समय लाग्ने र कति यात्रु बोकेर फर्कने भन्ने विषयले नै यात्रुको भाडा कति पुग्छ भन्ने निर्धारण हुनेछ । 

उदाहरणका लागि मलेसियाको उडान ४ घण्टा ३० मिनेटको छ भने नेपालबाट खाली उड्नुपरेको अवस्थामा ९ घण्टाको भाडा तिर्नुपर्नेछ । ९ घण्टाको १८ हजार १ सय डलरका दरले हिसाब गर्दा १ लाख ६२ हजार ९ सय अमेरिकी डलर पर्न पाउँछ । 

अहिले १ अमेरिकी डलर बराबर १ सय २२ रुपैयाँ जति पर्न पाउँछ । यसरी हेर्दा एउटा चार्टर फ्लाइटवापत १ करोड ९८ लाख ७३ हजार ८ सय रुपैयाँ पर्न आउँछ । अब निगमको वाइडबढी विमानमा २ सय ७४ सिट क्षमताको छ । 
तर मलेसियामा पुगेर पनि केही समय रोकिनुपर्ने हुनसक्ने भएकाले त्यहाँ थप पाइलट तथा कोपाइलटको आवश्यकता पर्न सक्छ । यस्तो अवस्थामा करिब ४ सिट क्रु मेम्बरका लागि राखिन्छ । यसरी हेर्दा २ सय ७० सिट बेचियो भने प्रतिव्यक्ति ७३ हजार ६ सय ६ रुपैयाँ पर्न आउँछ । यसको अर्थ फुल अकुपेन्सी (सिट भरिने गरी) यात्रु भएको अवस्थामा पनि प्रति यात्रु ७३ हजार रुपैयाँ पर्न सक्ने देखिन्छ । 

तर नेपाल एअरलाइन्स सरकारी स्वामित्वको एअरलाइन्स भएको र उसले लागत खर्च मात्रै लिएको अवस्थामा भने शुल्कमा केही कमी आउन सक्नेछ । तर अहिले नै कति शुल्क लाग्ने भन्ने निश्चित भइसकेको छैन । 

रोजगारदाताले नबेहोरेको खण्डमा व्यक्ति स्वयम्को जिम्मा
विदेशबाट स्वदेश फर्काउने नेपाली नागरिकहरुको हवाई टिकट सम्भव भएसम्म रोजगारदाता कम्पनीबाटै भराउन लागिएको छ । त्यसको लागि विदेशस्थित नियोग (दूतावास)ले रोजगारदाता कम्पनीसँग पनि समन्वय गरिरहेको छ । तर रोजगारी सकिइसकेको कामदारको हकमा वा विदेशमा अवैधरुपमा बसेका, आममाफी वा माफी पाएर जेलबाट रिहाई भएकाहरुको हकमा के गर्ने भन्ने अझै टुंगिएको छैन । आफैले टिकट काटेर आउन नसक्ने नागरिकका लागि वैदेशकि रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्ने वा नगर्ने भन्ने निश्चित भइसकेको छैन । यद्यपि त्यसबारे पनि छलफल भने भइरहेकै छ ।

एक व्यक्तिको बन्दोबस्ती र खाना खर्च दैनिक १ सय ७५ रुपैयाँ मात्रै
समितिले एक व्यक्तिको बन्दोबस्ती तथा खाना खर्च गरी प्रतिदिन १ सय ७५ रुपैयाँले हुन आउने मात्रै भुक्तानी गर्ने बताएको छ । कार्ययोजनामा उल्लेख भएको अनुसार एक दिनको खाना, खाने पकाउने तथा खाने भाँडा र तन्ना, वेड, म्याट्रेस रुमाल, साबुन आदि सबै सामान समेटिएको छ । 
यसरी हेर्दा एक व्यक्तिका लागि दैनिक १ सय ७५ रुपैयाँ भने पनि खानाका लागि खर्च भने करिब ५० देखि ६० रुपैयाँ मात्रै हुने आउने प्रहरीको रासन चलाइरहेका एक ठेकेदार बताउँछन् । पहिलो चरणमा आउनेलाई धान्न नै गाह्रो हुने तर दोस्रो चरणबाट भने खर्च धान्न सकिने उनको भनाइ छ । 

दाल, भात र सस्तो तरकारी खुवाउन सकिने
ती ठेकेदारका अनुसार अहिले तरकारीको मूल्य सस्तो भएको कारण सरकारले छुट्याएको रकमले दाल, भात र सामान्इ तरकारी खुवाउन सकिने छ । यद्यपि सङ्ख्या थोरै भएको अवस्थामा भने त्यो खर्चले धान्न सक्ने छैन । यो खर्चले धान्नका निमित्त कम्तमिा पनि ५० जनाभन्दा बढी मानिस हुनुपर्ने उनी बताउँछन् । तर स्थानीय तहकै क्वारेन्टाइनमा पठाउने भएको कारण प्रहरी वा सेनाको रासनजस्तै गरी सस्तो मूल्यमा खाना खुवाउन सकिने छैन । किनभने एक स्थानीय तहमा ८–१० जना मात्रै मानिस भएको अवस्थामा सो रकम अपुग हुनेछ । 

खरिपाटी, इचंगु आवास, मनमोहन अस्पताल र केएमसी अस्पतालमा क्वारेन्टिन
सरकारले तत्कालका लागि ४ वटा स्थानमा ठूलो सङ्ख्यामा नागरिक राख्न मिल्ने गरी क्वारेन्टिनको निर्माण गर्न लागेको छ । 

जसअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्र, सुकुम्बासीका लागि भनी बनाइएको इचङ्गु आवास क्षेत्र, मनमोहन अस्पतालको दहचोकस्थित भवन र केएमसी अस्पतालको दुवाकोटस्थित भवनलाई क्वारेन्टाइन बनाउन लागिएको छ । यी स्थानहरुमा केन्द्रीय तबरबाटै क्वारेन्टाइन बनाइने छ । 

क्वारेन्टिनको रेखदेखमा पनि सेना खटिने
सरकारले बनाएको कार्याविधि र कार्ययोजनामा क्वारेन्टिनको रेखदेख तथा सुरक्षाको जिम्मा पनि सेना र प्रहरीले लिने उल्लेख गरिएको छ । योजनाको बुँदा नम्बर १४ मा क्वारेन्टिनको रेखदेख, सुरक्षा, निगरानी र अभिलेख नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहले गर्ने उल्लेख गरिएको छ । त्यसका लागि सहरी विकास मन्त्रालय र प्रदेश सरकारले समन्वय गर्ने उल्लेख छ । 

होल्डिङ सेन्टरको जिम्मा सेनालाई


विदेशबाट जहाजमार्फत् आउने नागरिक वा छिमेकी देशबाट स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई लागि तत्कालका लागि होल्डिङ सेन्टरमा राखिने र त्यसको व्यवस्थापन पनि नेपाली सेनाले गर्ने भएको छ । सेनाले हवाई मार्गबाट आउनेका लागि गौचर वा अन्य स्थानमा होल्डिङ सेन्टर बनाउने छ र पहिलो एक वा दुई दिन त्यही होल्डिङ सेन्टरमै राखिने छ । त्यसपछि मात्रै स्थानीय तह वा होटल क्वारेन्टिनमा पठाइने छ । 

स्वास्थ्य परीक्षणको रिपोर्ट अनिवार्य
तेस्रो मुलुकबाट स्वदेश फर्कन चाहने नागरिकका लागि स्वास्थ्य परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । कार्याविधिमा विदशेबाट स्वदेश फर्कने व्यक्तिले जहाज चढ्नुपूर्व ढिलोमा ७ दिन अगाडिको स्वास्थ्य परीक्षणको रिपोर्ट बुझाउनुपर्नेछ । 

यद्यपि विदेशमा रहेका नागरिकले कहाँ र कसरी स्वास्थ्य परीक्षण गराउने भन्ने कुरा भने कहिँ पनि उल्लेख गरिएको छैन । कोरोना परीक्षण गराउँदा आरडिटी टेष्ट गराउने कि पीसीआर टेष्ट भन्ने कुरा पनि कतै उल्लेख गरिएको छैन ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.