शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अव्यवस्थित क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना

सोमबार, १९ जेठ २०७७, ०९ : १९
सोमबार, १९ जेठ २०७७

दैलेख –  कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ ।  भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेन्टिनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ । 

आइतबार बिहानसम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । एक जनाको क्वारेन्टिनमै मृत्यु भइसकेको छ ।  

चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखका अधिकांश विद्यालय अहिले भरिसकेका छन् । भारतबाट जिल्ला भित्रनेको संख्या सात हजार बढी पुगेपछि निर्माण गरिएका क्वारेन्टिन मापदण्डानुसारका नभएका र कोहलपुरबाट दैलेखसम्म आउने क्रममा अव्यवस्थित रूपमा यात्रा गरेका कारण एकले अर्कोमा सजिलै कोरोना संक्रमण फैलिएको अनुमान गर्दै उच्च सुरक्षा अपनाउन थालिएको छ ।

अहिलेसम्म संक्रमित  ४७ जना सबै व्यक्ति भारतबाटै आएको र जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा बसेका मात्र रहेकाले संक्रमण क्वारेन्टिनभित्रै फैलिन सक्ने भन्दै व्यवस्थित बनाउन बारम्बार सबैलाई आग्रह गरिएको नेपाल मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले बताए । 

कोहलपुरदेखि अनियन्त्रित रूपमा मानिस कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेन्टिनभित्र बस्नेमा आचरण नहुनु, हुल बाँधेर बस्नु सङ्क्रमण फैलनुको   कारण बताइएको छ ।  

त्यस्तै प्रदेश सरकारले सुर्खेततिरै जाँच गरेर पठाउन नसक्नु, जिल्ला आएपछि पनि स्थानीय सरकारले आफ्ना नागरिक कति जना विदेश गएका छन् भन्ने तथ्याङ्क राख्न नसक्नु र सोहीअनुसार व्यवस्थापन नगर्नुले अहिले क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्न सक्ने सम्भावना बढेको अधिकारीले गुनासो गरे ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले  प्रदेश सरकारले धमाधम मानिस गाउँमा पठाउने काम गर्नुभन्दा व्यवस्थित गर्नुपर्नेमा त्यसो नगरी गल्ती गरेका कारण कोरोना गाउँगाउँमा पुगेको र अहिले समस्या उत्पन्न भएको बताए । 

तत्कालै क्वारेन्टिनमा बसेकाहरुलाई आरडिटी र स्वाब संकलनको रिपोर्टका आधारमा सुरक्षित रूपमा होम क्वारेन्टिनमा पठाउनुपर्ने र घरमै सुरक्षित वातावरण तयार गर्नुपर्ने जिल्लावासीको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप