शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै

आइतबार, १८ जेठ २०७७, १५ : ३५
आइतबार, १८ जेठ २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।  अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ८२ हजार १४३ पुगेको अधिकारीहरुले जनाएका छन् । 

अघिल्ला दिनहरुमा दैनिक रुपमा सङ्क्रमित हुनेहरुको संख्या यो भन्दा थोरै रहेको थियो ।  त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या पाँच हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भारतमा देशभरी ८९ हजार ९९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने झण्डै उत्तिकै संख्या अर्थात् ८६ हजार ९८३ जना सङ्क्रमण मुक्त भएका छन् । ‘तथ्यांकलाई विश्लेषण गर्दा कुल सङ्क्रमित मध्ये ४७.७५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन्’ एक जना सरकारी उच्च अधिकारीले भने ।  

कुल सङ्क्रमितहरुको संख्यामा विदेशीहरुको संख्या पनि जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ । भारतमा दर्जनौं नेपालीहरु पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा भारतमा थप १९३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ९९ जनाको महाराष्ट्र राज्यमा मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै गुजरातमा २७ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा १८ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  उनीहरुका अनुसार मध्यप्रदेश र राजस्थानमा नौ, नौ जना, पश्चिम बंगालमा सात जना, तमिलनाडु र तेलङ्गानामा छ, छ जना, बिहारमा पाँच जना, उत्तर प्रदेशमा तीन जना, पञ्जाबमा दुई जना, हरियाणा र केरलामा एक एक जनाको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । –पिटिआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप